सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, बल्ल सुरु भयो मन्त्रिपरिषद् बैठक

सोमबार, ०१ असार २०८३, २१ : ११
सोमबार, ०१ असार २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट सत्ता साझेदार दलहरूबिचको आन्तरिक विवादका कारण अन्योलमा परेको छ।
  • मुख्यमन्त्री र नेकपा एमालेबिच बजेटको सिलिङ र योजनाका विषयमा कुरा नमिल्दा बजेट भाषण सुरु हुन सकेको छैन।
  • विवाद समाधान गरी बजेटलाई अन्तिम रूप दिन मुख्यमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका थिए जुन अहिले सुरु भएको छ।

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्य तालिका सत्ता साझेदार दलहरूबिचको आन्तरिक विवादका कारण अन्योलमा परेको छ।

मुख्यमन्त्री कमल बहादुर शाह र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेबिच बजेटको सिलिङ र योजनाका विषयमा कुरा नमिल्दा आज साँझ ५ बजेका लागि तय गरिएको बजेट भाषण हालसम्म सुरु हुन सकेको छैन।

विवाद समाधान गरी बजेटलाई अन्तिम रूप दिन मुख्यमन्त्री शाहले अहिले राति ९ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका थिए। बैठक भर्खरै सुरु भएको छ। दिउँसो नै बस्नुपर्ने मन्त्रिपरिषद् बैठक दलहरूबिचको खिचातानीका कारण बस्न नसकेपछि समय धकेलिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। प्रदेश सभा सचिवालयले पनि राति ९ बजे बैठक बस्ने गरी सूचना जारी गरिसकेको थियो। अहिले मन्त्रीपरिषद् बैठक चलेका कारण प्रदेश सभा बैठक पछि सरेको छ।

स्रोतका अनुसार नेकपा एमालेले बजेटमा आफ्ना महत्त्वपूर्ण योजनाहरू नसमेटिएको र बजेटको सिलिङमा चित्त नबुझेको भन्दै आपत्ति जनाएपछि विवाद चर्किएको हो। 

बजेट ल्याउने मुखमा यस्तै कलह नहोस् भनेर मुख्यमन्त्री शाहले केही समयअघि मात्रै मन्त्रिमण्डल विस्तार समेत गरेका थिए। बजेट ल्याउने अन्तिम दिन नै एमालेले असन्तुष्टि पोखेपछि सरकार दबाबमा परेको छ।

अहिले सत्ता साझेदार दलहरूबिच सहमतिका लागि अनौपचारिक छलफलहरू तीव्र पारिएका छन्। मन्त्रिपरिषद् बैठकबाट विवादित विषयमा सहमति जुटाउने र त्यसपछि राति अबेरसम्म भए पनि प्रदेश सभामा बजेट प्रस्तुत गर्ने सरकारको योजना छ।

मुख्यमन्त्री शाहले यतिबेला आफ्नै पार्टीका मन्त्रीहरू र सत्ता साझेदार एमालेका मन्त्रीहरूलाई फकाएर बजेट ल्याउनु चुनौती भोगिरहेका छन्। मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि मात्रै आर्थिक मामिला मन्त्रीले प्रदेश सभामा बजेट पेस गर्ने संवैधानिक व्यवस्था छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप