बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या बुझ्न छैन : निश्कल राई

बुधबार, ०३ असार २०८३, १२ : १०
बुधबार, ०३ असार २०८३

सारांश

  • कांग्रेस सचेतक निश्कल राईले चिया उद्योग र किसानको समस्या समाधान गर्न सरकारलाई वास्ता नभएको बताएका छन् ।
  • भारतले नयाँ मापदण्ड लागू गर्दा इलामका ८३ चिया उद्योग तीन दिनदेखि ठप्प भएको र किसानको हरियो चियापत्ती खेर गएको छ ।
  • राईले चिया निर्यात खुलाउन जीटुजी पहल, नेपालमै चिया परीक्षण ल्याब निर्माण र तेस्रो देशमा बजार सुनिश्चित गर्न माग गरेका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया क्षेत्रले वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात गरेर अर्थतन्त्रमा ठुलो योगदान दिँदा पनि सरकारले वास्ता नगरेको बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा सचेतक राईले प्रधानमन्त्री बालेन्द्र शाहप्रति कटाक्ष गर्दै भने- ‘प्रधानमन्त्रीज्यू दुई मन्त्रीलाई लिएर देश बनाउन व्यस्त हुनुहुन्छ। सामाजिक सञ्जालमा उहाँ चिया पसलमा गएर चिया पिएको देखिनुहुन्छ, तर चिया उद्योग र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएन।’

छिमेकी देश भारतले चिया निर्यातमा नयाँ झन्झटिलो मापदण्ड तेर्स्याउँदा इलामका चिया उद्योगी र किसान मारमा परेको उनको भनाइ छ । गुणस्तर परीक्षणको नाममा भारतले लगाएको नयाँ प्रावधानका कारण इलामका ८३ वटा चिया कारखाना तीन दिनदेखि ठप्प भएको राईले बताए । 

सांसद राईका अनुसार भारतीय चिया बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ नामक नयाँ मापदण्ड लागू गरेको छ। यसले गर्दा चियाको टेस्टिङ रिपोर्ट आउन दुई साताभन्दा बढी लाग्ने र रिपोर्ट नआएसम्म चिया बेच्न नपाइने अवस्था रहेको उनले बताए । रिपोर्टमा सामान्य समस्या देखिए पनि उत्पादित चिया नष्ट गर्नुपर्ने बाध्यकारी नियमले सूर्योदय नगरपालिकाका ५३ र जिल्लाभरका ८३ उद्योगमा ताला झुन्डिएको उनले बताए । 

उद्योग बन्द हुँदा किसानले टिपेको हरियो चियापत्ती खेर गइरहेको, मजदुरको रोजगारी गुमेको र उद्यमीहरूले बैंकको ब्याज समेत तिर्न नसक्ने अवस्था सृजना भएको राईले बताए । 

सांसद राईले तत्काल समस्या समाधानका लागि चिया निर्यात खुलाउन तत्काल जीटुजीको पहल गर्न  कूटनीतिक अभ्यासमार्फत चिया निर्यातको दीर्घकालीन समाधान खोज्न नेपालमै चिया परीक्षण ल्याब निर्माणको प्रक्रिया अघि बढाउन र तेस्रो देशमा चियाको बजार सुनिश्चित गरेर निर्यातको नयाँ बाटो खोल्न पनि माग गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप