बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

बुधबार, ०३ असार २०८३, १४ : ५९
बुधबार, ०३ असार २०८३

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएकी छन् । 

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । 

मन्त्री चौधरीले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, मगर गोही, अजिङ्गर, बाँदर, बँदेल तथा नीलगाईसहित १६ प्रजातिका वन्यजन्तुबाट मानव जीवन, पशुधन तथा बालीमा पुगेको क्षतिका लागि राहत उपलब्ध गराइँदै आएको जानकारी दिइन् । 

उनले आगामी आर्थिक वर्षका लागि पहिलोपटक ‘मानव–वन्यजन्तु सहअस्तित्व’ शीर्षकमा छुट्टै बजेट उपशीर्षक व्यवस्था गरिएको उल्लेख गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु ४१ करोड ११ लाख विनियोजन गरिएको बताइन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप