बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सेफ सन्तोष साहले पक्राउ प्रकरणबारे दिए प्रष्टीकरण

बुधबार, ०३ असार २०८३, १३ : ३८
बुधबार, ०३ असार २०८३

काठमाडौँ । बीबीसी मास्टर सेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले हिरासतबाट मुक्त भएपछि पत्रकार सम्मेलन गर्दै आफ्नो पक्राउ र ‘मिथिला थाली’ रेस्टुरेन्टको विवादबारे स्पष्टीकरण दिएका छन् ।

उनले आज पत्रकार सम्मेलन गरेर आफूले कुनै अपराध नगरेको स्पष्टीकरण दिएका हुन् । साहका अनुसार काठमाडौँको गैरीधारामा रहेको ‘मिथिला थाली’ रेस्टुरेन्ट सञ्चालनका क्रममा आर्जव होल्डिङ्स प्रालिसँग भएको व्यावसायिक कारोबारलाई लिएर विवाद सिर्जना भएको हो ।

तत्कालीन समयमा आर्थिक समस्यामा परेको, बैंक ऋण तिर्न नसकेको र जग्गाधनीले भवन खाली गर्न दबाब दिएको अवस्थामा रहेको ‘सिला’ रेस्टुरेन्टको सम्पूर्ण सम्पत्ति खरिद गरी त्यहाँ मिथिला थाली सञ्चालन गर्न २ करोड २५ लाख रुपैयाँको सम्झौता भएको उनले जानकारी दिए ।

सम्झौता कार्यान्वयनका क्रममा सिला रेस्टुरेन्टको तर्फबाट बाँकी रहेको ४० लाख रुपैयाँ घर भाडा र २ लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुल मिथिला थालीले नै भुक्तानी गरेको साहको दाबी छ ।

 साथै आर्जव होल्डिङ्सले नेपाल बैंकबाट लिएको ऋणको किस्तासमेत पटक–पटक मिथिला थालीका तर्फबाट तिरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । 

बैंकिङ प्रणालीबाट भुक्तानी भएको दाबी

विवादमा आएको २५ लाख रुपैयाँको सन्दर्भमा साहले बैंकिङ प्रणालीमार्फत नै चरणबद्ध रूपमा कुल २८ लाख २५ हजार रुपैयाँ भुक्तानी भइसकेको विवरण प्रस्तुत गरे । जसअन्तर्गत नबिल बैंकबाट १७ लाख, लक्ष्मी सनराइज बैंकबाट ६ लाख र नेपाल बैंक लिमिटेडबाट ५ लाख २५ हजार रुपैयाँ भुक्तानी गरिएको उनको दाबी छ ।

सम्झौता विपरीत आर्जव होल्डिङ्सकी प्रतिनिधि भनिएकी शकुन्तला थापाले व्यक्तिगत खातामा रकम माग गरे पनि आफूहरूले संस्थाकै खातामा रकम पठाएको उनले बताए । भुक्तानी प्रक्रिया पूरा हुँदै गए पनि आर्जव होल्डिङ्सका तर्फबाट आवश्यक बिल र कर चुक्ता प्रमाणपत्र उपलब्ध नगराइएको साहको भनाइ छ ।

पक्राउ प्रक्रियाप्रति असन्तुष्टि

अदालतको फैसलाअनुसार केवल ४ लाख ५० हजार रुपैयाँ भुक्तानीको विषयलाई लिएर आफूलाई पक्राउ गरिएको साहले उल्लेख गरे । जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने कानुनी हदम्याद बाँकी रहँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनकपुर पुगेर हतारमा पक्राउ गरेको उनको भनाइ छ ।

आफू फरार नरहेको र अनुसन्धानमा सहयोग गर्न एक साताअघि नै प्रहरी कार्यालय पुगेको स्पष्ट पार्दै उनले सामान्य प्रक्रियाबाट पनि सम्पर्क गर्न सकिने अवस्थामा गरिएको यस पक्राउले आफ्नो प्रतिष्ठा र सम्मानमा आघात पुर्‍याएको गुनासो गरे ।

हिरासतबाट मुक्त भइसकेका साहले मिथिला समुदायको परिकार प्रवर्द्धन गर्ने उद्देश्यका साथ जनकपुरबाट सुरु भएको ‘मिथिला थाली’ लाई काठमाडौँमा विस्तार गर्ने क्रममा कानुनी र व्यावहारिक जटिलता उत्पन्न भएको र यसलाई कानुनी सङ्घर्षमार्फत नै निरूपण गर्ने स्पष्ट पारे ।

उनले पत्रकार सम्मेलनमा विभिन्न देशका ठुला अवसरहरू छोडेर नेपाल आएर व्यवसाय गर्दा कानुनी झमेला बेहोर्नु परेपनि मनोबल उच्च राखेर काम गर्ने बताए ।  

उनले नेपालमा लगानी गर्ने वातावरण सानोतिनो कुराले बिगार्ने भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिनुपर्ने समेत बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप