शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
दक्षिण कोरिया । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको तनाव कम गर्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । इरानसँगको युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच सहमति बनेको पृष्ठभूमिमा सियोलले अब वासिङ्टनको ध्यान उत्तर कोरियातर्फ मोडिने अपेक्षा गरेको देखिएको छ ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनका क्रममा ट्रम्प र लीबीच उत्तर कोरियाको विषयमा विस्तृत छलफल भएको थियो । वार्ताका क्रममा ट्रम्पले अन्तर–कोरियाली सम्बन्धको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका थिए ।
त्यस क्रममा राष्ट्रपति लीले मध्यपूर्वमा द्वन्द्व समाधानका लागि ट्रम्पले खेलेको भूमिकालाई उल्लेख गर्दै उत्तर कोरियाली मुद्दाको शान्तिपूर्ण समाधानका लागि पनि नेतृत्व लिन आग्रह गरेका थिए । राष्ट्रपति कार्यालयका अनुसार ट्रम्पले उत्तर कोरियासम्बन्धी समस्याको समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अमेरिका र इरानले शुक्रबार औपचारिक समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेका बेला ट्रम्प प्रशासनले अब आफ्नो कूटनीतिक ध्यान उत्तर कोरियातर्फ केन्द्रित गर्न सक्ने अनुमान बढेको छ ।
यसैबीच ट्रम्पले सन् २०१८ मा सिङ्गापुरमा उत्तर कोरियाली नेता किम जोङ–उनसँग भएको ऐतिहासिक शिखर वार्ताको तस्बिर सामाजिक सञ्जालमा पुनः सार्वजनिक गरेपछि वासिङ्टन–प्योङयाङ संवाद पुनर्जीवित हुन सक्ने अड्कलबाजीलाई थप बल पुगेको छ ।
राष्ट्रपति लीले आफ्ना पूर्ववर्ती युन सुक येओलको तुलनामा उत्तर कोरियाप्रति अपेक्षाकृत नरम र संवादमुखी नीति अपनाएका छन् । तर प्योङयाङले सियोललाई औपचारिक रूपमा आफ्नो ‘सबैभन्दा शत्रुतापूर्ण शत्रु’ को संज्ञा दिँदै आएको छ र आफूलाई ‘अपरिवर्तनीय आणविक राष्ट्र’ घोषणा गर्दै वार्ताप्रति चासो देखाएको छैन ।
विशेषज्ञहरूले पनि निकट भविष्यमा किम जोङ–उन र ट्रम्पबीच प्रत्यक्ष भेटवार्ता हुने सम्भावना कम रहेको बताएका छन् । सियोलस्थित युनिभर्सिटी अफ नर्थ कोरियन स्टडीजका पूर्व अध्यक्ष याङ मु–जिनका अनुसार उत्तर कोरियाको दृष्टिकोणबाट हेर्दा अहिले अमेरिकासँग वार्ता गर्ने स्पष्ट कारण देखिँदैन ।
विश्लेषकहरूका अनुसार पछिल्ला वर्षहरूमा उत्तर कोरियाले आफ्नो कूटनीतिक दायरा फराकिलो बनाउने प्रयास गरेको छ । प्योङयाङले युक्रेन युद्धमा रुसलाई सैनिक तथा हतियार सहयोग उपलब्ध गराएको आरोप खेपिरहेको छ, जसले मस्कोसँगको सम्बन्धलाई थप बलियो बनाएको छ ।
हालै किम जोङ–उनले प्योङयाङमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गरेका थिए । त्यो भेटअघि सी जिनपिङले बेइजिङमा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टाछुट्टै शिखर वार्ता गरेका थिए ।
विशेषज्ञहरूका अनुसार प्योङयाङ र बेइजिङले जारी गरेका आधिकारिक वक्तव्यमा उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम त्याग्नुपर्ने विषयको कुनै उल्लेख नगर्नुले चीनले उत्तर कोरियाको आणविक हैसियतप्रति मौन समर्थन जनाएको सङ्केत गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण