बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

रास्वपा महाधिवेशनमा चितवन पुग्ने प्रतिनिधि र पर्यवेक्षकलाई आवासमा २५ प्रतिशत र पेयपदार्थमा १० प्रतिशत छुट

बुधबार, ०३ असार २०८३, १३ : ४६
बुधबार, ०३ असार २०८३

चितवन । चितवनका होटल व्यवसायीले पाहुनाको सम्मानमा कुनै पनि प्रकारका कमी हुन नदिने बताएका छन् ।

सत्तारुढ दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा होटल व्यवसायी र क्षेत्रीय होटल सङ्घ चितवनले सम्मानमा कुनै कमी हुन नदिने बताएका हुन् ।

आगामी असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा सो दलको प्रथम महाधिवेशन हुन गइरहेको छ । सो महाधिवेशनमा आउने अतिथिहरूका सम्मानमा कुनै पनि प्रकारको कमी हुन नदिन यहाँस्थित होटल व्यवसायीले सक्रियता देखाएका छन् ।

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष ऋषिकेश अर्यालले यहाँ आयोजना हुन गइरहेको रास्वपाको प्रथम केन्द्रीय महाधिवेशनमा आउने पाहुनाका लागि आवासमा २५ प्रतिशत, खाना र पेयपदार्थमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।

भरतपुर महानगरभित्र र गैँडाकोट क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा महाधिवेशनमा आएका पाहुनालाई छुटको व्यवस्था गरिएको हो । पाहुनाले छुट पाए नपाएको अनुगमन गर्नका लागि समितिसमेत गठन गरिएको छ, क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए ।

क्षेत्रीय होटल सङ्घमा ९० होटल रहेका छन् । ती होटलको क्षमता १० हजार जना अट्ने रहेको छ । होटल सङ्घमा ६७१ सदस्य रहेका छन् । सङ्घभित्र चिया पसलदेखि रेष्टुराँ हुँदै होटलहरू भएकाले यकिन क्षमता भन्न नसकिने सङ्घले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि गठित आवास तथा भोजन उपसमितिका संयोजक राजन गौतमले चितवनका होटलका तीन हजारभन्दा बढी कोठा रास्वपाका प्रतिनिधि र पर्यवेक्षकले भरिने बताए ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले आवासको खर्च आफैँ व्यहोर्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप