बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउन अन्तिममा नेपाल फर्केलान् देउवा दम्पती ?

बुधबार, ०३ असार २०८३, १६ : २७
बुधबार, ०३ असार २०८३

सारांश

  • शेरबहादुर देउवा दम्पतीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीमाथि अनुसन्धानका लागि सहयोग गर्न नेपाल फर्किने वातावरण मिलाइदिन पत्राचार गरेका छन् ।
  • देउवा दम्पतीले इमेल र कुरियरमार्फत सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गरी नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था नबनाइदिन आग्रह गरेका हुन् ।
  • उपचारका कारणले ढिलाइ भए पनि देउवा दम्पती साउनको अन्तिमसम्म नेपाल आइपुग्ने स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा दम्पतीले आफूहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीमाथि अनुसन्धानका लागि सहयोग गर्न नेपाल फर्किने वातावरण मिलाइदिन पत्राचार गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा र पूर्वपरराष्ट्रमन्त्री समेत रहेकी डा. आरजु राणा देउवाले इमेल र कुरियरमार्फत सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गरी नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था नबनाइदिन आग्रह गरेका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन दिइएको स्विकारे । ‘हो, उहाँहरू (देउवा दम्पती)ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन दिनुभएको हो,’ भानुले रातोपाटीसँग भने, ‘नेपाल आउने वातावरण मिलाउन आग्रह गर्नुभएको हो ।’

उनले साउन अन्तिमसम्म देउवा दम्पती नेपाल आइपुग्ने जानकारी दिए । ‘उहाँहरू साउन अन्तिमसम्म नेपाल आइपुग्नुहुन्छ,’ भानुले भने, ‘उपचार भइरहेका कारणले छिटो आउन मिलेन । ४ हप्तासम्म हप्ता–हप्तामा फलोअपमा अस्पतालमा जानुपर्ने छ । त्यसपछि उपचारको प्रक्रिया पूरा गरेर साउन अन्तिमसम्म नेपाल आइपुग्नुहुन्छ ।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका देउवा दम्पती नेपालबाट छुट्टाछुट्टै सिङ्गापुरमा उपचारका लागि गएका थिए ।

फागुन १३ गते देउवा नेपालबाट सिङ्गापुर उडेका थिए भने पत्नी डा. आरजु  त्योभन्दा केही समय अगाडि नै नेपालबाट भारत गएकी थिइन् । डा. आरजु भारतबाटै सिङ्गापुर पुगेर उपचार गरी थप उपचारका लागि दम्पती नै चैत ७ गते हङकङ प्रस्थान गरेका थिए । त्योभन्दा अगाडि देउवा दम्पती कात्तिक १० गते सिङ्गापुर गएर १८ दिनमा नेपाल फर्किएका थिए ।

उपचारका क्रममा मुलुक बाहिर रहेका बेलामा विभागले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धानका लागि भन्दै चैत २४ गते काठमाडौँ जिल्ला अदालतबाट उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको थियो । तर, उनीहरूले सम्पत्ति शुद्धीकरणको मुद्दा हेर्नका लागि ‘डेडिकेटेट’ अदालत विशेष अदालतलाई तोकिएको तर, क्षेत्राधिकार मिचेर विभागले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको भन्दै सर्वोच्चमा रिट लिएका थिए ।

रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले विशेष अदालतको साटो काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै त्यो पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ नगर्नू, नगराउनू भनी जेठ ११ गते अन्तरिम आदेश जारी गरिसकेको छ ।

सर्वोच्चमा त्यो रिट दायर गर्दा पनि देउवा दम्पतीले आफूहरू सम्पत्ति शुद्धीकरण विभागलाई सहयोग गर्न तयार रहेको तर विभागले क्षेत्राधिकार मिचेर रिट दायर गरेको भन्दै खारेज गर्न माग गरेका थिए ।

विभाग प्रशासनले शेरबहादुर देउवा र डा. आरजु राणा देउवा दुवैले हस्ताक्षर गरेको पत्र २ माध्यमबाट विभागमा आइपुगेको जानकारी दिएको छ । इमेल र कुरियरमार्फत देउवा दम्पतीले पठाएका छुट्टाछट्टै पत्र विभागमा आइपुगेको विभागका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।

ती पदाधिकारीका अनुसार उनीहरूले सम्पत्ति शुद्धीकरणमा भइरहेको भनिएको अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् । नेपालबाट भागेको नभई उपचारका क्रममा रहेको र नेपाल सहज रूपमा फर्कने वातावरण मिलाइदिन उनीहरूले आग्रह गरेको ती पदाधिकारीको भनाइ छ ।

‘हामी सदाशयतापूर्वक अनुसन्धानमा सहयोग गर्न तत्पर रहँदारहँदै देश छाडी भागेको र अनुसन्धानमा उपस्थित नभएको भन्नेजस्ता भाष्य सिर्जना गरी हाम्राविरुद्ध पक्राउ पुर्जी जारी गर्ने र नेपाल प्रवेश गर्न नै कठिनाइ हुने अवस्था नबनाइयोस्,’ उनीहरूले लेखेको पत्रमा उल्लेख छ ।

देउवा निकट स्रोतले त्यो निवेदनको बोधार्थ विशेष अदालतमा पनि पठाएको जानकारी दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालय नक्सालले देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको थियो । इन्टरपोलले प्रहरीको पत्र पाएपछि ‘उहाँहरू स्टाटस् के हो ?’ भनेर सोधेको थियो । त्यसको जबाफ प्रहरीले पठाएपछि इन्टरपोलले थप कुनै जानकारी मागेको छैन । इन्टरपोलले उनीहरूविरुद्ध रेडकर्नर नोटिस पनि जारी गरेको छैन ।

पक्राउ पुर्जी खारेज भएको र रेडकर्नर नोटिस पनि जारी नभएकाले फकर्ने बेलामा देउवा दम्पतीलाई पक्राउ गर्ने आधार नरहेको विभागका अधिकारीहरू बताउँछन् ।

यद्यपि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा हेर्ने विशेष अदालतले पक्राउको अनुमति दिएमा भने उनीहरूलाई विभागले पक्राउ गर्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप