बिरामी छन् लियोनल मेसीका पिता, मृत्युको हल्लापछि परिवारले जारी गर्यो विज्ञप्ति
सारांश
- लियोनल मेसीका पिता होर्खे मेसी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा रहेको परिवारले जनाएको छ ।
- परिवारले होर्खे मेसीको स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको जानकारी दिँदै गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ ।
- होर्खे मेसीको निधनको झूटो समाचार सम्प्रेषण गर्ने अर्जेन्टिनी प्रस्तोता फ्लोरेन्सीया पेनाले जागिर गुमाएकी छन् ।
ब्युनस आयर्स । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीका पिता होर्खे मेसी स्वास्थ्य समस्याबाट गुज्रिरहेको उनका परिवारले जनाएको छ । बिहीबार जारी गरिएको एक वक्तव्यमा परिवारले होर्खे मेसी हाल चिकित्सकीय निगरानीमा रहेको र स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको जानकारी दिएको छ ।
विज्ञप्तिमा उनको स्वास्थ्य समस्याको प्रकृति वा अवस्था सम्बन्धी थप विवरण सार्वजनिक गरिएको छैन । परिवारले विभिन्न अफवाह, अनुमान र अपुष्ट समाचारहरूबाट टाढा रहन आग्रह गर्दै गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ ।
‘यस्तो समयमा जिम्मेवारी, संयमता र मानवीय संवेदनशीलता आवश्यक हुन्छ । कुनै व्यक्तिको स्वास्थ्य अवस्था र परिवारको मानसिक शान्तिलाई अनुमान वा गैरजिम्मेवार चासोको विषय बनाइनु हुँदैन,’ वक्तव्यमा भनिएको छ । परिवारले प्राप्त भइरहेको शुभेच्छा, सम्मान र चासोप्रति आभार व्यक्त गर्दै होर्खे मेस्सी तथा सम्पूर्ण परिवारको गोपनीयता कायम राख्न आग्रह गरेको छ ।
अर्जेन्टिनी टेलिभिजनकी प्रस्तोता फ्लोरेन्सीया पेनाले होर्खेको निधनको झूटो समाचार सम्प्रेषण गरेकी थिइन् । अल्जेरियाविरुद्धको म्याचमा पहिलो गोलपछि मेसीको आँखामा आँशु देखिएको थियो । त्यसबेला अर्जेन्टिनाको लुजु टिभीबाट प्रत्यक्ष प्रसारणमा रहेकी पेनाले आफूसँग नराम्रो खबर भएको भन्दै मेसीका पिता भर्खरै बितेको भनेकी थिन् । आफ्नो समाचार झूटो साबित भएपछि पेनाले जागिर नै छोड्नु परेको छ ।
यसअघि मंगलबार फिफा विश्वकपमा अल्जेरियाविरुद्धको खेलपछि आयोजित पत्रकार सम्मेलनमा मेसीले आफूले केही कठिन दिनहरू बिताइरहेको बताएका थिए । खेलमा आफ्नो पहिलो गोलपछि भावुक हुनुको कारण फुटबलसँग सम्बन्धित नभएको उनले भनेका थिए । ‘मैले केही कठिन र जटिल दिनहरू बिताएँ । तर टोलीका साथीहरूले सधैँझैँ साथ दिए र मलाई बलियो बनाइरहे,’ उनले भने ।
परिवारको यो वक्तव्य २०२६ विश्वकप सुरु भएको एक सातापछि र अर्जेन्टिनाले अल्जेरियाविरुद्ध आफ्नो पहिलो खेल जितेको दुई दिनपछि आएको हो । अल्जेरियाविरुद्धको खेलमा मेस्सीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाएका थिए। त्यससँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमानसँग बराबरी गरेका छन् । मेसी जुन २४ मा ३९ वर्ष पुग्नेछन् । यो उनको छैटौँ विश्वकप हो । यस अघिको विश्वकप अर्जेन्टिनाले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण