विदेश नीतिमा बौद्ध धर्मको प्रभाव, के गर्दैछन् भारत, चीन र नेपाल ?
सारांश
- चार दिने 'बोधी संवाद २०२६' मा विज्ञहरूले कूटनीति, बौद्ध धर्म र विश्वमा नेपालको भूमिकाबारे छलफल गरेका छन् ।
- पूर्वअमेरिकी सहायक विदेशमन्त्री टम मालिनोस्कीले नेपालको जेनजी आन्दोलनले युवाहरूलाई भ्रष्ट सम्भ्रान्तविरुद्ध लड्न साहस दिएको बताए ।
- कार्यक्रममा भारतको बौद्ध कूटनीति तिब्बती बौद्ध धर्ममा सीमित रहेको र युवा पुस्तामा धर्मप्रतिको चासो घट्दै गएकोले बौद्ध धर्मको प्रयोगमा चुनौती थपिएकोमा छलफल भयो ।
काठमाडौँ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सीइएसआइएफ) को आयोजनामा चार दिनेदेखि जारी ‘बोधी संवाद २०२६’ मा विभिन्न अन्तर्राष्ट्रिय तथा स्वदेशी विज्ञले कूटनीति, बौद्ध धर्म र विश्व मञ्चमा नेपालको सम्भावित भूमिकाको बारेमा छलफल गरिरहेका छन् ।
कार्यक्रममा बोल्दै लोकतन्त्र र मानव अधिकारका लागि पूर्वअमेरिकी सहायक विदेशमन्त्री टम मालिनोस्कीले जेनजी आन्दोलनमा युवाले निर्वाह गरेको भूमिकाबाटै नेपालले आफ्नो पहिचान बनाएको बताए ।
उनले भने, ‘सबै देश सैन्य वा आर्थिक महाशक्ति बन्न सक्दैनन्, तर थोरै साहस र युवाहरूको ऐक्यबद्धता भएमा विश्वको जुनसुकै देश पनि नैतिक महाशक्ति वा मूल्य–मान्यताको महाशक्ति बन्न सक्छ, जो नेपालले छोटो समयमा गरेर देखाएको छ ।’
मालिनोस्कीले नेपालको जेनजी आन्दोलनमा युवाहरूको प्रदर्शनले विश्वभरका युवालाई भ्रष्ट सम्भ्रान्तहरूविरुद्ध लड्न साहस दिएको उल्लेख गर्दै नेपालको नयाँ सरकारले युवाहरूका ती सिद्धान्त पालना गरेमा नेपालले आफ्नो क्षमताभन्दा निकै ठुलो प्रभाव छाड्न सक्ने बताए ।
आईआईडीएसका सिनियर फेलो तथा नेपालका विज्ञ अखिलेश उपाध्यायले नेपाल धार्मिक समन्वयको एक विशेष उदाहरण भएको बताए । नेपालमा हिन्दु र बौद्ध धर्म पूर्ण रूपमा छुट्टिएको नभई एक अर्कासँग अन्तरसम्बन्ध राखेको उनले बताए ।
‘नेपाल यस्तो उदाहरण हो, जहाँ हिन्दु र बौद्ध दुवैको चाडपर्वका साथै कर्म र अहिंसाजस्ता विचार समान छ,’ उपाध्यायले भने, ‘नेपालीहरू बुद्धलाई एउटा छुट्टै स्वरूप र विष्णुको अवतार दुवै रूपमा मान्छन् । त्यसैले यहाँ नेपाली भन्नाले हिन्दु र बौद्ध दुवैलाई जनाउँछ ।’
कार्यक्रममा भारत र बौद्ध कूटनीतिका सीमितताका विषयमा पनि छलफल भएको थियो । भारतको सेन्टर फर एक्सिलेन्स फर हिमालयन स्टडिजका निर्देशक डा. जाबिन ज्याकबले भारतको बौद्ध कूटनीति मुख्यतया तिब्बती बौद्ध धर्ममा मात्र सीमित रहेको र यसमा बौद्धहरूलाई बेवास्ता गरिएको टिप्पणी गरे ।
आधारभूत रूपमा भारतले हात पछाडि बाँधेर बौद्ध कूटनीति गरिरहेको आरोप उनले लगाए । उनले बौद्ध धर्म भारतको आन्तरिक गतिशीलताको अधीनमा रहेको भन्दै चीनको तुलनामा भारतसँग बौद्ध धर्मबारे विश्वको उच्च अपेक्षा रहेको दाबी गरे ।
यसैगरी, बौद्ध अध्ययन तथा हिमालयन संस्कृति र भाषाहरूका प्राध्यापक डा.रमेश ढुंगेलले ऐतिहासिक तथ्य जोड्दै विगतमा भारतले चीन र तिब्बत लगायतका क्षेत्रमा धार्मिक संस्कृति लैजान खोज्दा नेपालले साथ दिएको स्मरण गराए । उनले त्यस समयमा नेपाली र भारतीय विद्वानबिच ठुलो गठबन्धन रहेको उल्लेख गरे ।
ताइवानको राष्ट्रिय चेंगची विश्वविद्यालयकी सह–प्राध्यापक डा. मेई–चुआन वेईले भने वर्तमान समाजमा धर्मको प्रभावकारिताबारे फरक दृष्टिकोण राखिन् । एसिया लगायत विश्वभरका युवा पुस्तामा धर्मप्रतिको चासो घट्दै गएकाले विदेश नीतिको प्रभावकारी औजारको रूपमा बौद्ध धर्मको प्रयोगमा चुनौती थपिएको उनले बताइन् ।
सांस्कृतिक कूटनीतिको राजनीतीकरण हुनसक्ने जोखिम औँल्याउँदै डा.वेईले भनिन्, ‘संस्कृतिलाई सबैले सहज रूपमा बुझ्नुको सट्टा यसलाई विशेष तरिकाले निर्माण गरिँदा यसले समाजमा विभाजन पनि ल्याउन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)
-
‘पुष्पा २’ को प्रिमियरमा भएको भागदौड प्रकरण : अल्लू अर्जुनलाई आफै अदालतमा उपस्थित हुन आदेश
-
नेटफ्लिक्सले समय रैनाको ‘इन्डियाज गट लेटन्ट’ ल्याउँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
बङ्गलादेशी भूमिमा अस्ट्रेलियाको पहिलो सिरिज जित, रेनश र डेविड नायक
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण