शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

श्रमप्रतिको नकारात्मक दृष्टिकोणले देश सधैँ गरिब रह्यो : अध्यक्ष राई

शुक्रबार, ०५ असार २०८३, १३ : ३३
शुक्रबार, ०५ असार २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैँ गरिबी झेल्नुपरेको बताएका छन् ।
  • उनले श्रम शक्तिबाट मात्रै मुलुकको सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकिने भएकाले श्रमलाई अभियानकै रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।
  • उनले राज्यको कर नीतिको आलोचना गर्दै सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि श्रमको अभियान र श्रमप्रतिको सकारात्मक धारणा आवश्यक रहेकोमा जोड दिए ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले श्रमप्रतिको सकारात्मक धारणा नभएका कारण मुलुकले सधैँ गरिबी झेल्नुपरेको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रम शक्तिबाट मात्रै मुलुकको सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकिने भएकाले श्रमलाई अभियानकै रूपमा अघि बढाउन आवश्यक रहेको बताएका हुन् ।

सांसद राईले श्रमलाई माया गरेर अघि बढ्न सबैलाई आह्वान गरेका छन् । श्रमले मात्रै मुलुकमा आयआर्जन बढाउने हुनाले काम र श्रमिकलाई हेयको दृष्टिले हेर्न नहुने उनको भनाइ थियो । आफूले श्रम गर्नेहरूमाथि विभेद गर्नु हुन्न भनेर अभियान नै सञ्चालन गरेको दाबी पनि उनले गरे ।

बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष राईले भने, ‘मेरो जहिले पनि एक खालको वैचारिक आन्दोलन, विद्रोह भनौँ वा असन्तुष्टि के रहन्छ भने हामीले श्रम र श्रमिक, श्रम भन्ने विषयसँग हामी यति टाढा गयौँ कि शिक्षाले नै हामीलाई त्यस्तो बनायो । काम गर्ने मानिस भनेपछि हामी घिनाउँछौँ । पसिना बगाउने भनेपछि हामी अल्छी मान्छौँ । काम र काम गर्ने मान्छेलाई वर्षौँ वर्षदेखि विभेद गरेको छ हाम्रो समाजले । काम गर्ने मानिसलाई कामी भनेर घर भित्र हुल्न नदिने समाज अझै चेन्ज भएको छैन ।’

उनले संसद्मार्फत सन्देश दिँदै सबैलाई कामलाई माया गर्न आग्रह गरे । राज्यको कर नीतिको आलोचना गर्दै उनले थपे, ‘हामी कसलाई कति ट्याक्स लगाउने, एक रुपैयाँ कहाँबाट उठाउने, २ रुपैयाँ कहाँबाट उठाउने भन्ने रन्कोमा छौँ । तर हामीले हाम्रो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि श्रमको अभियान, श्रम गर्नुपर्दछ भन्ने शिक्षा, श्रमप्रतिको एउटा सकारात्मक धारणा हामीले कहिल्यै पनि धारण गरेनौँ । फलतः हामी सधैँभरि गरिब छौँ ।’ (न्युज एजेन्सी नेपाल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप