आईपीएलको आगामी सिजन एक हप्ता अगाडि नै सुरु हुने
सारांश
- आईपीएलको आगामी सिजन अत्यधिक गर्मी र मनसुनको पूर्वअनुमानलाई ध्यानमा राख्दै मार्च १० देखि मे १५ सम्म सञ्चालन गरिने भएको छ ।
- अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिकाका कारण यस सिजनमा खेलहरूको सङ्ख्या भने बढाइने छैन ।
- गत सिजनमा वर्षाका कारण खेलहरू प्रभावित भएकाले यसपटक आईपीएल छिटो सुरु गर्ने तयारी छ ।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी सिजन साविकको भन्दा एक हप्ता अगाडि नै सुरु हुने भएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजीत सैकियाका अनुसार अत्यधिक गर्मी र मनसुनको पूर्वअनुमानलाई ध्यानमा राख्दै आईपीएल छिटो सुरु गर्न लागिएको हो ।
सैकियाले बिहीबार समाचार एजेन्सी पिटिआईसँग कुरा गर्दै सन् २०२७ को आईपीएल आगामी मार्च १० देखि मे १५ सम्म सञ्चालन हुन सक्ने जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटको व्यस्त तालिकाका कारण यस सिजनमा खेलहरूको सङ्ख्या भने नबढ्ने उनले प्रस्ट पारेका छन् ।

यसअघि लिगमा खेलहरूको सङ्ख्या ७४ बाट बढाएर ९४ पुर्याउने तयारी गरिएको थियो । सामान्यतया आईपीएल मार्चको अन्तिम साता सुरु भएर मे महिनाको अन्त्यसम्म चल्ने गर्दछ । तर, मे महिनाको दोस्रो आधा अवधिमा धेरै जसो खेल मैदानहरूमा अत्यधिक गर्मी हुने र वर्षाको समेत सम्भावना रहने हुनाले खेलाडी तथा समर्थकहरूलाई निकै सास्ती हुने गरेको सचिव सैकियाले बताए ।
यस विषयमा बीसीसीआई र आईपीएल गभर्निङ काउन्सिलबिच सघन छलफल भइरहेको छ । बोर्डले खेल विकास महाप्रबन्धक एबी कुरुभिल्लालाई उपयुक्त खेल तालिकाको खोजी गर्न निर्देशन समेत दिइसकेको छ । आईपीएललाई मार्चको सुरुवाती दिनमै लैजानका लागि भारतको डोमेस्टिक क्रिकेट क्यालेन्डरमा केही फेरबदल गर्नुपर्ने अवस्था छ । आन्तरिक क्रिकेटका सबै प्रतियोगिताहरू मार्च १० भन्दा अगाडि नै सक्ने गरी बिसिसिआईले तयारी गरिरहेको छ ताकि त्यसको लगत्तै आईपीएल सुरु गर्न सकियोस् ।
आईपीएलको २०२६ को सिजनमा वर्षा धेरै टोलीहरूका लागि बाधक बनेको थियो । प्रतियोगिताका दौरान एउटा खेल पूर्ण रूपमा रद्द नै गर्नु परेको थियो भने दुईवटा खेलमा ओभर घटाएर खेलाइएको थियो । यसबाहेक अन्य ४-५ वटा खेलहरू पनि वर्षाका कारण प्रभावित भए पनि पछि पूरा ओभर नै खेलाउन सम्भव भएको थियो ।
गत अप्रिल ६ मा कोलकाताको इडेन गार्डेन्समा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबिचको खेल वर्षा र चिसो मैदानका कारण रद्द भएको थियो । उक्त खेलमा कोलकाताले ३.४ ओभरमा २५ रन बनाएर २ विकेट गुमाएको अवस्थामा खेल रोकिएपछि पुनः सुरु हुन सकेन र दुवै टोलीले एक-एक अङ्क बाँडेका थिए ।
त्यस्तै अप्रिल ७ मा गुवाहाटीमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिचको खेल वर्षाका कारण करिब साढे दुई घण्टा ढिलो सुरु हुँदा खेललाई ११–११ ओभरमा छोट्याइएको थियो, जसमा राजस्थान २७ रनले विजयी भएको थियो ।
मे ७ मा लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोरुबिचको खेल पनि वर्षाकै कारण १९–१९ ओभरको बनाइएको थियो, जहाँ लखनऊले ९ रनको जित निकालेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण