शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बागमती नदीमा सशस्त्र प्रहरीको जल उत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न

शुक्रबार, ०५ असार २०८३, १६ : ०४
शुक्रबार, ०५ असार २०८३

सारांश

  • रौतहट र सर्लाहीको सिमानामा पर्ने बागमती नदीमा जल उत्पन्न विपद् उद्धार सिमुलेसन अभ्यास सम्पन्न भएको छ ।
  • मधेस प्रदेश सरकारको गृह मन्त्रालयको समन्वय र सशस्त्र प्रहरी बलको सहकार्यमा वर्षायाममा हुन सक्ने बाढी, डुबान जस्ता विपद्लाई ध्यानमा राखी यो अभ्यास गरिएको हो ।
  • नदीको तीव्र बहावमा फसेका नागरिकलाई उद्धार गर्ने विभिन्न प्रविधि र सामग्रीको प्रयोग गरी सुरक्षित स्थानमा ल्याउने उपायहरू प्रदर्शन गरिएको छ ।

रौतहट । रौतहट र सर्लाही जिल्लाको सिमानामा पर्ने बागमती नदीमा जल उत्पन्न विपद् उद्धार सिमुलेसन अभ्यास सम्पन्न भएको छ । 

रौतहटको चन्द्रपुर नगरपालिका–१ र सर्लाहीको बागमती नगरपालिका–११ नुनथरस्थित बागमती नदीमा असार ५ गते यो विशेष कृत्रिम घटना अभ्यास गरिएको हो ।

मधेस प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालयको समन्वय र सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको सहकार्यमा यो अभ्यास आयोजना गरिएको हो । सिमुलेसन अभ्यासको अवलोकनका लागि मधेस प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो प्रमुख अतिथिका रूपमा उपस्थित थिए । 

कार्यक्रममा रौतहट र सर्लाही जिल्लास्थित विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको ठुलो सहभागिता रहेको थियो ।

वर्षायाम सुरु भएसँगै मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा हुन सक्ने बाढी, डुबान जस्ता मौसमजन्य विपद्का घटनाहरूलाई ध्यानमा राखेर यो अभ्यास गरिएको हो । नदीमा अचानक बाढी आउँदा वा मानिसहरू फस्दा उनीहरूलाई कसरी सुरक्षित रूपमा उद्धार गर्न सकिन्छ र मानवीय क्षति कम गर्न सकिन्छ भन्ने कुरा प्रदर्शन गर्नका लागि बागमती नदीमा यो कृत्रिम घटना सिमुलेसन अभ्यास सञ्चालन गरिएको हो ।

उक्त सिमुलेसन अभ्यास सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहट र सुरक्षा बेस सुन्दरपुर चोहडवा सर्लाहीबाट खटिएका विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको विशेष टोलीले सञ्चालन गरेका थिए । तालिमप्राप्त टोलीले नदीको तीव्र बहावमा फसेका नागरिकलाई विभिन्न प्रविधि र उद्धार सामग्रीको प्रयोग गरी सुरक्षित किनारमा ल्याउने उपायहरू कौशलतापूर्वक प्रदर्शन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप