शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

नेकपा सांसद विकको प्रश्न : धर्मनिरपेक्षता विरुद्ध संसदमा धार्मिक भजन र गीता किन राखियो ?

शुक्रबार, ०५ असार २०८३, १६ : ५५
शुक्रबार, ०५ असार २०८३

सारांश

  • नेकपा सांसद पार्वती विकले संसदभित्र श्रीमद्भागवत गीता राखिएको र बैठक सुरु हुनुअघि धार्मिक भजन बजाउने गरिएको विषयमा प्रश्न उठाएकी छन् ।
  • सांसद विकले यस्ता कार्य धर्मनिरपेक्षताको मर्म विपरीत भएको र यसले धेरै सांसदलाई चित्त नबुझ्न सक्ने बताइन् ।
  • उनले भजनको सट्टा राष्ट्रप्रेम र राष्ट्रभक्तिले भरिएका गीतहरू बजाउनुपर्ने सुझाव दिँदै संसद् जस्तो गरिमामय थलोमा कुनै एक धर्म विशेषका ग्रन्थ वा भजनको प्रयोग न्यायोचित नहुने तर्क गरिन् ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले संसदभित्र भइरहेका केही गतिविधिहरू धर्मनिरपेक्षताको मर्म विपरीत रहेको भन्दै सरकार र संसद् सचिवालयको ध्यानाकर्षण गराएकी छन् । 

शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले ‘पिजन हल’ मा श्रीमदभागवत गिता राखिएको र संसद् बैठक सुरु हुनुअघि धार्मिक भजन बजाउने गरिएको विषयमा प्रश्न उठाएकी हुन् । 

 ‘पिजन हलमा भागवत गिता राखिनु र बैठक सुरु हुनुअघि भजनको ध्वनि गुन्जिनु कतै धर्मनिरपेक्षता विरुद्धको ‘ट्रायल’ त होइन ?,’ सांसद विकले भनिन् । 

यस्तो विषय धेरै सांसदलाई चित्त नबुझ्ने पनि उनले भनिन् ।  ‘यो के ट्रायल गर्न खोजिएको हो ? म यो संसद्लाई जानकारी गराउन चाहन्छु कि यस्ता कार्यले धेरै माननीय सदस्यहरूलाई चित्त नबुझ्न सक्छ ।’

सांसद विकले संसद्को बैठक सुरु हुनुभन्दा अगाडि भजनभन्दा धार्मिक भजनको सट्टा राष्ट्र प्रेम र राष्ट्रभक्तिले भरिएका गीतहरू बजाउन उपयुक्त हुने सुझाव दिइन् । उनले भनिन्–  ‘यदि यहाँ राष्ट्रभक्तिका गीत रचना गर्ने कलाकारहरूको स्वर गुन्जिएको भए हामी सांसदहरूमा राष्ट्रप्रेमी भावना अझ प्रगाढ हुने थियो ।’

संसद्को नियमावली र संवैधानिक मर्यादाको ख्याल राख्न आग्रह गर्दै उनले संसद् जस्तो साझा र गरिमामय थलोमा कुनै एक धर्म विशेषका ग्रन्थ वा भजनको प्रयोग गर्नु न्यायोचित नहुने तर्क गरिन् । 

सांसद विकले संसद्को अभिमुखीकरण कार्यक्रम संसद् हलभित्रै गराउने सन्दर्भमा पनि नियमावलीले अनुमति दिन्छ कि दिँदैन भनी जिज्ञासा राखेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप