आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै

शनिबार, ०६ असार २०८३, २० : ०८
शनिबार, ०६ असार २०८३

सारांश

  • उदयपुरगढी गाउँपालिका वडा नं. ७ जोगिटोलमा भएको बस दुर्घटनामा ३० जना घाइते भएका थिए, जसमध्ये २३ जना उपचारपछि डिस्चार्ज भएका छन्।
  • महोत्तरीबाट सुनसरी जाँदै गरेको स्कुलको बस दुर्घटनामा परी महोत्तरीका बिमलेश दत्तको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते भएका ७ जनाको मोरङ, धनुषा र महोत्तरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उदयपुर। उदयपुरगढी गाउँपालिका वडा नं. ७ जोगिटोलस्थित सडकमा शनिबार बिहान भएको सवारी दुर्घटनाका घाइतेमध्ये २३ जना उपचारपछि डिस्चार्ज भएका छन्। 

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस दुर्घटना हुँदा कुल ३० जना घाइते भएका थिए। तीमध्ये उपचार गराइरहेका २३ जना निको भएर फर्किएका छन् भने बाँकी ७ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा परी महोत्तरीको बर्दिबास नगरपालिकाका बिमलेश दत्तको मृत्यु भएको छ। दुर्घटनालगत्तै उद्धार गरिएका दत्तको उपचारका क्रममा बिहान ९:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान करिब ८:५० बजे भएको उक्त दुर्घटनाका घाइतेमध्ये अहिले ७ जनाको मोरङ, धनुषा र महोत्तरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइतेमध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नं. २ बस्ने ३८ वर्षीया रसिला कुमारी चौधरी र उनका १२ वर्षीय छोरा सन्देश कुमार चौधरीको विराटनगरस्थित प्राइम अस्पतालमा उपचार भइरहेको छ। सोही ठाउँकी २४ वर्षीया नितु यादवको प्रादेशिक अस्पताल जनकपुरमा तथा १८ वर्षीया रुपा महतो र २४ वर्षीय अनिल कुमार पासवानको शुभ स्वास्थ्य अस्पताल बर्दिबास महोत्तरीमा उपचार भइरहेको छ। 

यस्तै, गौशाला नगरपालिका २ कै ३६ वर्षीय दिनेश साह र उनका ७ वर्षीय छोरा आलोक साहको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप