शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने

शनिबार, ०६ असार २०८३, २० : १७
शनिबार, ०६ असार २०८३

सारांश

  • मदन भण्डारी कप यु-१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ।
  • प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ र यो ४ दिने प्रतियोगिता मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा खेलाइने छ।
  • प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। 

प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा हुन लागेको यो ४ दिने प्रतियोगिताका खेलहरू मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा खेलाइने छ।

प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने छ। समूह ‘ए’ मा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, सरस्वती मावि हेलम्बु, अमर ज्योति प्राविधिक विद्यालय नुवाकोट र एन्जल्स स्पोर्ट्स एकेडेमी रहेका छन्। यसैगरी समूह ‘बी’ मा न्यु डायमन्ड एकेडेमी, एलिक्सर एकेडेमी, गणेश हिमाल स्कुल र सूर्य विनायक भक्तपुर रहेका छन्।

प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी बागमती प्रदेशका अध्यक्ष राम केसीले जानकारी दिए। उनका अनुसार विधागततर्फ उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिने छ। प्रतियोगिताको अफिसियल बल पार्टनरमा मोल्टन रहेको छ।

पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले सबै वर्गलाई खेलकुदमा सहभागी गराउने उद्देश्यका साथ एकेडेमीले देशका विभिन्न स्थानमा विविध खेलकुद गतिविधि सञ्चालन गर्दै आइरहेको बताए। यस्तै, संयोजक केसीले भविष्यका प्रतिभावान खेलाडी पहिचान गर्न उमेरसमूहको प्रतियोगिता महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरे। आयोजकका अनुसार यो प्रतियोगिता सञ्चालन गर्न करिब २७ लाख रुपैयाँ खर्च हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप