शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

विश्वकपपछि राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइ हुने दिदीको दाबी

शुक्रबार, १९ असार २०८३, ०४ : ५०
शुक्रबार, १९ असार २०८३

सारांश

  • पोर्चुगलका कप्तान क्रिस्चियानो रोनाल्डोले २०२६ फिफा विश्वकपपछि राष्ट्रिय टोलीबाट संन्यास लिने तयारीमा रहेको उनकी दिदीले दाबी गरेकी छन् ।
  • रोनाल्डोकी दिदी कातिया अभेरियोले यो विश्वकप नै रोनाल्डोको पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तिम प्रतियोगिता हुने बताएकी हुन् ।
  • यद्यपि, रोनाल्डोले भने हालसम्म विश्वकपपछि राष्ट्रिय टोलीबाट संन्यास लिनेबारे कुनै आधिकारिक घोषणा गरेका छैनन् ।

मड्रिड । पोर्चुगलका कप्तान क्रिस्चियानो रोनाल्डोले २०२६ फिफा विश्वकपपछि राष्ट्रिय टोलीबाट संन्यास लिने तयारीमा रहेको उनकी दिदीले दाबी गरेकी छन् । 

रोनाल्डोकी दिदी कातिया अभेरियोले स्पेनिस सञ्चारमाध्यम एससँग कुरा गर्दै आफूले पाएको जानकारीअनुसार यो विश्वकप नै रोनाल्डोको पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तिम प्रतियोगिता हुने बताएकी हुन् ।

'हामीले यी २० भन्दा बढी वर्षमा सँगै बिताएका क्षणहरूको आनन्द लिनु अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा हो । म अत्यन्त गर्व महसुस गर्छु । म कतार विश्वकपमा पनि थिएँ, अहिले पनि यहाँ छु । यो हाम्रो लागि ठुलो गर्वको विषय हो। मलाई विश्वास छ, अन्त्यमा हामी मुस्कुराउनेछौँ । रोनाल्डो आफैंमा विश्वस्त छन्, बरु उनीभन्दा हामी बढी तनावमा छौं,' कातियाले भनिन् ।

सन् २०२८ को युरोपियन च्याम्पियनसिपमा पनि रोनाल्डोले खेल्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भनिन्, 'मैले पाएको जानकारीअनुसार अब बिदाइको समय नजिकिएको छ । आजै होइन, तर यो नै उनको अन्तिम बिदाइ हुनेछ भन्ने मलाई लाग्छ । मेरो भनाइ राष्ट्रिय टोलीको सन्दर्भमा हो । मैले यो भरपर्दो स्रोतबाट थाहा पाएकी हुँ । यो विश्वकप नै उनको लास्ट डान्स हो ।' 

विश्वकपमा रोनाल्डोले खेपिरहेका आलोचनाप्रति प्रतिक्रिया दिँदै कातियाले फुटबल बुझ्ने मानिसहरूले रोनाल्डोको योगदानको सम्मान गर्नुपर्ने बताइन् ।

'फुटबल बुझ्ने र बुद्धिमान मानिसहरूलाई क्रिस्टियानो मन नपर्ने कुनै कारण छैन । वास्तवमा उनीहरू नै उनको खेलबाट वञ्चित हुनेछन् । उनले दुई दशकभन्दा बढी समयसम्म विश्व फुटबलमा प्रभुत्व जमाएका छन् । आज हामी कहाँ आइपुगेका छौं र हाम्रो आवेइरो परिवार कहाँबाट आएको हो, त्यो हेर्नुस् । मेरी आमाले कति दुःख भोग्नुभयो, त्यो पनि सम्झिनुस् । के तपाईंलाई लाग्छ, यस्ता आलोचनाले हाम्रो खुसीमा असर पार्छ ? कहिल्यै पनि पर्दैन,' उनले भनिन् ।

यद्यपि, रोनाल्डोले भने हालसम्म विश्वकपपछि राष्ट्रिय टोलीबाट संन्यास लिनेबारे कुनै आधिकारिक घोषणा भने गरेका छैनन् । धेरैले कातियाको भनाइलाई अहिलेसम्म व्यक्तिगत दाबीका रूपमा मात्र हेरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?