ट्रम्प प्रशासनलाई कम्पनीको ५ प्रतिशत हिस्सा दिँदैछ ओपनएआई
सारांश
- ओपनएआईले अमेरिकी प्रशासनलाई कम्पनीमा ५ प्रतिशत हिस्सेदारी दिनेबारे प्रारम्भिक छलफल गरिरहेको छ ।
- यस्तो व्यवस्था भए एआईबाट हुने आर्थिक लाभ आमनागरिकसम्म पुग्ने सीईओ साम अल्टम्यानको तर्क छ ।
- एआई प्रविधिले रोजगारी, अर्थतन्त्र तथा राष्ट्रिय सुरक्षामा व्यापक प्रभाव पार्ने भएकाले सर्वसाधारणको पनि पहुँच हुनुपर्ने धारणा छ ।
क्यालिफोर्निया । अमेरिकी एआई कम्पनी ओपनएआईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको प्रशासनलाई कम्पनीमा ५ प्रतिशत हिस्सेदारी दिने प्रस्तावबारे प्रारम्भिक छलफल गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फाइनान्सियल टाइम्सका अनुसार प्रारम्भिक चरणमा रहेको उक्त प्रस्तावअनुसार अन्य अमेरिकी कृत्रिम बौद्धिकता (एआई) कम्पनीहरूले पनि सरकारलाई यस्तै हिस्सेदारी दिन सक्ने सम्भावनाबारे छलफल भइरहेको छ ।
समाचारअनुसार ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले यस्तो व्यवस्था भए एआईबाट हुने आर्थिक लाभ आमनागरिकसम्म पुग्ने तर्क गरेका छन् । यद्यपि, ओपनएआईले यसबारे कुनै टिप्पणी गरेको छैन भने ह्वाइट हाउसले पनि प्रतिक्रिया दिएको छैन । मार्चमा भएको पछिल्लो लगानी चरणका आधारमा ओपनएआईको मूल्याङ्कन ८ खर्ब ५२ अर्ब अमेरिकी डलर पुगेको थियो । त्यसअनुसार कम्पनीको ५ प्रतिशत हिस्सेदारीको मूल्य करिब ४२ अर्ब ६० करोड डलर बराबर हुनेछ ।
एआई प्रविधिले रोजगारी, अर्थतन्त्र तथा राष्ट्रिय सुरक्षामा व्यापक प्रभाव पार्न सक्ने भएकाले त्यसबाट सिर्जित सम्पत्तिमा सर्वसाधारणको पनि पहुँच हुनुपर्ने धारणा बढ्दै गएको छ । गत महिना ट्रम्पले एआई कम्पनीका शीर्ष अधिकारीहरूसँग भेटेर सरकारलाई कम्पनीमा हिस्सेदारी दिलाउने विषयमा छलफल गर्ने योजना रहेको बताएका थिए ।सरकारले एआई उद्योगको वृद्धिबाट प्रत्यक्ष लाभ लिन सक्ने साझेदारीका विभिन्न विकल्पबारे विचार भइरहेको जानकारी उनले दिएका थिए ।
बिहीबार सीएनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले निजी कम्पनीमा संघीय सरकारले हिस्सेदारी लिनु धेरै अमेरिकी शैलीको कदम भएको टिप्पणी गरेका थिए । उनले सरकारको लगानीपछि चिप निर्माता कम्पनी इन्टेलको अवस्था सुधारिएको उदाहरण पनि दिएका थिए । यसैबीच, ओपनएआई र एन्थ्रोपिक दुवैले विकास गरिरहेका नयाँ एआई मोडेलहरू सरकारी समीक्षा र नियामकीय निगरानीका कारण ढिलाइ भएको जनाइएको छ । एनथ्रोपिकले आफ्नो अत्याधुनिक एआई मोडेलमाथिको निर्यात नियन्त्रण अमेरिकी सरकारले हटाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
-
महाधिवेशनमा प्रविधि प्रयोगमा एमाले अगाडि, किन चुक्यो रास्वपा ?
-
लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर
-
६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प
-
दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी
-
ठगीको अभियोगमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण