शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रुस–युक्रेन युद्ध

रुसी सेनाको सुस्त गति र बढ्दो क्षति

१४ लाख रुसी सैनिक हताहत भएको दाबी, जुन महिनामा मात्र ‘४० हजार’ मारिए
शनिबार, २० असार २०८३, १६ : ३०
शनिबार, २० असार २०८३

रुसी सेना यस वर्षको अन्त्यसम्ममा युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रको बाँकी २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा ल्याउने लक्ष्यमा छ। तर किभका अनुसार, मस्को यसअघि तोकिएका १४ वटा समयसीमाका लक्ष्य पूरा गर्न असफल भइसकेको छ।

हालको गतिमा अघि बढ्ने हो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सेनालाई दोनेत्स्क पूर्ण रूपमा कब्जा गर्न अझै ५,१५० दिन अर्थात् करिब १४ वर्ष लाग्नेछ। यसअघि पनि रुससमर्थित शक्तिहरूले किभको नियन्त्रणबाट दोनेत्स्क खोस्न १२ वर्षदेखि युद्ध गरिरहेका छन्।

भूभाग कब्जाको गति उल्लेख्य रूपमा घट्यो

अमेरिकास्थित ‘थिङ्क ट्याङ्क’ इन्स्टिच्युट फर द स्टडी अफ वार (आईएसडब्ल्यु) का अनुसार यस वर्ष रुसी सेनाले भूभाग कब्जा गर्ने गति तीव्र रूपमा घटेको छ, जबकि सैनिक हताहत सङ्ख्या लगातार बढिरहेको छ। आईएसडब्ल्युले खुला स्रोत र भौगोलिक प्रमाणका आधारमा तयार गरेको विश्लेषणअनुसार सन् २०२५ को पहिलो ६ महिनामा रुसले २,१९० वर्ग किलोमिटर युक्रेनी भूभाग कब्जा गरेको थियो। तर, सन् २०२६ को पहिलो ६ महिनामा यो सङ्ख्या ६२२ वर्ग किलोमिटरमा झरेको छ।

यसको अर्थ, २०२५ को पहिलो छ महिनामा रुसी सेनाले औसत प्रतिदिन १६.६ वर्ग किलोमिटर भूभाग कब्जा गरेको थियो भने यस वर्ष त्यो दर प्रतिदिन १.०३ वर्ग किलोमिटरमा सीमित भएको छ। आईएसडब्ल्युका अनुसार, यदि केवल घुसपैठ गरेर केही समयका लागि प्रवेश गरेका क्षेत्र हटाइने र युक्रेनले पुनः कब्जा गरेका भूभागलाई समेत गणना गरिने हो भने, सन् २०२६ को पहिलो छ महिनामा रुसको वास्तविक शुद्ध उपलब्धि केवल ९७ वर्ग किलोमिटर मात्र रहेको छ।

INTERACTIVE-WHO-CONTROLS-WHAT-IN-UKRAINE-1782984823

‘१४ लाख रुसी सैनिक हताहत’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्ध सुरु भएदेखि १४ लाख सैनिक गुमाइसकेको दाबी गरेका छन्। उनले भने, ‘यदि पुटिन अझै १० लाख सैनिकलाई यो पर्खालसँग ठोक्किन पठाउन चाहन्छन् भने, अहिलेसम्म सेनामा नबोलाइएका र पेट्रोलका लागि लाइनमा बसेका ती रुसीहरूले आफ्नो भविष्यबारे सोच्नुपर्छ।’

जेलेन्स्कीले उल्लेख गरेको १४ लाख हताहतको अनुमान सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) ले जुलाई १ मा सार्वजनिक गरेको थियो। युक्रेनी सेनाका अनुसार जुन महिनामा मात्रै रुसका थप ३९,४९० सैनिक हताहत भएका छन्। यो सङ्ख्या रुसको अनुमानित मासिक भर्ती क्षमता (२४ हजारदेखि ३० हजार) भन्दा निकै बढी हो। आईएसडब्ल्युका अनुसार अहिले रुसले एक वर्ग किलोमिटर भूभाग कब्जा गर्न औसत १,२९८ सैनिक गुमाइरहेको छ। गत वर्ष जुनमा यही अनुपात ६८ सैनिक प्रतिवर्ग किलोमिटर थियो।

किन बदलिँदै छ युद्धको अवस्था?

जेलेन्स्कीका अनुसार गत वर्ष लिइएका केही रणनीतिक निर्णयका कारण युक्रेनले यस वर्ष उल्लेख्य सफलता हासिल गरेको हो। ती निर्णयमा मुख्य रूपमा ‘ड्रोन उत्पादन तीव्र रूपमा बढाउनु’ र ‘स्वदेशमै लामो दूरीका मिसाइल विकास गर्नु’ हुन्। युक्रेनले यी क्षमताको प्रयोग गर्दै रुसी अग्रपङ्क्तिमा इन्धन र गोलाबारुदको आपूर्ति अवरुद्ध गर्ने अभियान सञ्चालन गरिरहेको छ। युक्रेनका रक्षामन्त्री मिखाइलो फेदोरोभले यसलाई ‘लजिस्टिकल लकडाउन’ नाम दिएका छन्।

INTERACTIVE-WHO-CONTROLS-WHAT-IN-SOUTHERN-UKRAINE-1782984784

लामो दूरीका आक्रमण तीव्र

जुन २५ मा जेलेन्स्कीले ४० दिने मध्य तथा लामो दूरीको आक्रमण अभियान घोषणा गरेका थिए। यस क्रममा युक्रेनले मुख्य रूपमा गोदाम, सामग्री ढुवानी गर्ने लरी तथा पुललाई आक्रमणको निसाना बनाएको थियो। आईएसडब्ल्युका अनुसार, मे महिनामा यस्ता २१० वटा आक्रमण भएका थिए। जुनमा यो सङ्ख्या बढेर ३०३ पुगेको छ।

जुलाई १ र २ मा मात्र युक्रेनले क्रिमियाको दक्षिण भागमा रहेका १२ वटा विद्युत् सबस्टेसन ध्वस्त बनाएको जनाएको छ। युक्रेनको मानवरहित प्रणाली बलका कमान्डर रोबर्ट ‘माज्यार’ ब्रोभ्दीका अनुसार जुन महिनामा उनका बलले हरेक ५२ सेकेन्डमा एउटा रुसी सैन्य लक्ष्यमा प्रहार गरेका थिए।

उनले भने, ‘५०,१४७ सैन्य लक्ष्य नष्ट वा क्षतिग्रस्त पारिएका छन्।’ जेलेन्स्कीले यस महिनादेखि अग्रपङ्क्तिका युनिटहरूले थप स्रोतसाधन प्राप्त गर्ने भएकाले यस्ता क्षमताहरू अझ विस्तार हुने बताएका छन्।

आफ्नै सर्तमा शान्ति चाहन्छ रुस

करिब एक वर्षअघि अलास्कामा पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको भेटमा युक्रेनलाई दोनेत्स्क रुसलाई सुम्पन दबाब दिने विषयमा छलफल भएको समाचार सार्वजनिक भएको थियो। तर, जेलेन्स्कीले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

रुसका विदेशमन्त्री सेर्गेई लाभरोभले जुन २६ मा भने, ‘अलास्कामा अमेरिकाले प्रस्तुत गरेका प्रस्तावहरूबारे छलफल भयो र रुसी पक्षले तिनलाई स्वीकार गरेको थियो।’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पनि अमेरिका मध्यस्थ बन्न तयार भए रुस सकारात्मक रहने बताएका छन्।

यसैबीच पुटिनले युक्रेनबाट आएका दुई युद्धविराम प्रस्ताव अस्वीकार गरेको खुलासा गरेका छन्। ती प्रस्तावहरूमा एक लामो दूरीका आक्रमण रोक्ने तथा अर्को सुमी, खार्किभ, माइकोलाइभ र निप्रोपेत्रोभ्स्क क्षेत्रमा युद्धविराम गर्ने विषय समावेश थिए। पुटिनले भने, ‘किन यस्तो प्रस्ताव आएको हो भन्ने स्पष्ट छ। किनभने युक्रेनको भित्रैसम्म हाम्रो प्रत्याक्रमण धेरै शक्तिशाली, विनाशकारी र गम्भीर परिणाम ल्याउने खालको छ।’

INTERACTIVE-WHO-CONTROLS-WHAT-IN-EASTERN-UKRAINE-copy-1782984803

युक्रेनले प्रहार गरेका प्रमुख लक्ष्य

गत साताभर युक्रेनले निम्न रुसी लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ:

१) उफा, निजेगोरोड्स्की, स्लाभ्यान्स्क र यारोस्लाभल तेल प्रशोधन केन्द्र

२) केर्च जलडमरुमध्यमा निर्माणाधीन भोल्गा र व्याट्का केबल बिछ्याउने जहाज

३) मस्कोनजिकका बेलोओमुत, मिन्यायेभो र दुब्ना उपग्रह सञ्चार केन्द्र

४) भोल्गोग्रादस्थित टाइटन–बारिकादी हतियार कारखाना

५) क्रिमियास्थित साकी सैन्य हवाई अड्डा

६) पेन्जा क्षेत्रमा विमान तथा मिसाइलका पार्टपुर्जा उत्पादन गर्ने अनुसन्धान संस्था।

पुटिनमाथि आर्थिक दबाब पनि बढ्दो

विश्लेषकहरूका अनुसार रुसको बजेट आम्दानीको करिब २५ प्रतिशत हिस्सा तेल निर्यातबाट आउँछ। तर पछिल्लो समय तेल निर्यात घटिरहेको छ। युक्रेनी राष्ट्रपति कार्यालयका अनुसार, जनवरीदेखि मेसम्म रुसको तेल आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले घटेको छ।

युक्रेनले यसको कारण आफ्नो निरन्तर आक्रमणका कारण रुसी तेल टर्मिनल र पम्पिङ स्टेसनहरू सञ्चालन कठिन हुनु भएको दाबी गरेको छ। रुसले अहिले कच्चा तेल बढी निर्यात गर्दै प्रशोधित इन्धन विदेशबाट आयात गर्न थालेको बताइएको छ। जुन महिनाभर रुसका अधिकांश क्षेत्रमा इन्धन अभाव देखिएको थियो। सामाजिक सञ्जालमा पेट्रोल भर्न पालोका विषयमा सर्वसाधारणबीच विवाद भएका भिडियोहरू व्यापक रूपमा फैलिएका थिए।

रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले जुन २६ मा बजारमा पर्याप्त इन्धन रहेको र अत्यधिक चर्चा तथा हल्लाका कारण माग कृत्रिम रूपमा २०–३० प्रतिशत बढेको बताएका थिए। उनका अनुसार इन्धन आपूर्तिको संरचना पुनर्गठन भइरहेको छ र बजार सन्तुलनमा आउन केही समय लाग्नेछ। पुटिनले पनि रुससँग १७ लाख टन पेट्रोल भण्डारण रहेको र यो गत वर्षको तुलनामा केवल ४ प्रतिशतले मात्र कम भएको बताएका छन्।

यसैबीच रुसले डिजेल निर्यातमा लगाएको प्रतिबन्धलाई पुटिनले जुन २६ मा थप लम्ब्याएका छन्। उद्योग स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार रुसले भारतबाट ६० हजार टन प्रशोधित पेट्रोलियम पदार्थ आयात गरिसकेको छ भने आगामी दिनमा विभिन्न देशबाट प्रतिमहिना ४ लाख टन आयात गर्ने योजना बनाएको छ।

(अलजजिराबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जोन टी. सारोपोलस
जोन टी. सारोपोलस
लेखकबाट थप