शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव

शनिबार, २० असार २०८३, १९ : १५
शनिबार, २० असार २०८३

सारांश

  • मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले कानुनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको बताएका छन्।
  • उनले नागरिकमा कानुनी शिक्षा र चेतना विस्तार गर्नुपर्नेमा जोड दिँदै कतिपय व्यक्ति कागजी प्रमाणकै भरमा कैदमा रहेको दाबी गरे।
  • गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले न्याय प्रणालीलाई समयानुकूल बनाउन र सबै नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने बताए।

धनुषा । कानुनी ज्ञानको अभावका कारण अदालतहरूमा मुद्दाको चाप बढ्दै गएको मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले बताएका छन्।

 मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेस प्रदेशले जनकपुरधाममा आयोजना गरेको ‘समसामयिक तथा संवैधानिक कानुनी सवालमा छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले कानुनसम्बन्धी पर्याप्त जानकारी नहुँदा धेरै नागरिक अनजानमै कानुन उल्लङ्घन गर्ने अवस्थामा पुग्ने गरेको उल्लेख गरेका हुन्।

नेपाल अझै पूर्ण रूपमा कानुनी रूपमा सचेत समाज बन्न नसकेको भन्दै उनले प्रत्येक नागरिकमा कानुनी शिक्षा र चेतना विस्तार गर्न आवश्यक रहेको धारणा राखे। जघन्य अपराधमा संलग्न व्यक्तिलाई कानुनअनुसार कारबाही हुनुपर्ने भए पनि सामान्य प्रकृतिका गल्तीका घटनामा व्यवहारिक पक्षलाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो। मुख्यमन्त्री यादवले नेपालका कारागारमा रहेका सबै कैदी वास्तविक अर्थमा दोषी नै छन् भन्ने निष्कर्षमा पुग्न नसकिने दाबी गर्दै भने, ‘कतिपय व्यक्ति कागजी प्रमाणका आधारमा मात्रै कैद जीवन बिताइरहेको अवस्था छ।’

कार्यक्रममा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले न्याय प्रणालीलाई समयानुकूल बनाउनु आवश्यक रहेको बताए। संविधान समय, समाज र आवश्यकताअनुसार परिमार्जन हुँदै जाने भएकाले कानुन र न्याय प्रणालीमा पनि सोहीअनुसार सुधार र परिवर्तन आवश्यक रहेको उनले औँल्याए। सामाजिक, सांस्कृतिक तथा भाषिक विविधतायुक्त मधेस प्रदेशमा सबै नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न न्याय प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्नेमा मन्त्री महतोले जोड दिए।

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुनिल रञ्जन सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरू लगायत कानुन क्षेत्रका सरोकारवालाको सहभागिता थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप