क्युबाभर विद्युत् अवरुद्ध, अमेरिकी दबाबले गहिरियो ऊर्जा संकट
हाभाना । सोमबार क्युबामा देशभर विद्युत् आपूर्ति ठप्प भयो । इन्धन आपूर्तिमाथि अमेरिकी प्रतिबन्धका कारण चर्किएको ऊर्जा संकटबिच राष्ट्रिय विद्युत् प्रणाली पूर्ण रूपमा ठप्प भएको हो ।
त्यहाँको ऊर्जा मन्त्रालयका अनुसार राष्ट्रिय विद्युत् प्रसारण प्रणाली पूर्ण रूपमा ध्वस्त भएको छ । विद्युत् आपूर्ति ठप्प हुनुको कारणबारे अनुसन्धान गरिरहेको विद्युत् प्रणाली सञ्चालन गर्ने निकायले जनाएको छ ।
विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको ऊर्जामन्त्री भिसेन्टे दे ला ओ लेभीले जानकारी दिएका छन् । उनका अनुसार अस्पताललगायत अत्यावश्यक सेवा सञ्चालन गर्न आपत्कालीन माइक्रोसिस्टम सक्रिय पारिएको छ । पछिल्ला केही वर्षयता पुरानो विद्युत् पूर्वाधारले बढ्दो माग धान्न नसक्दा क्युबाले पटक–पटक देशव्यापी विद्युत् अवरोधको सामना गर्दै आएको छ ।
अमेरिकाले क्युबाका प्रमुख आपूर्तिकर्तामाथि दबाब दिएर तेल आपूर्ति रोक्न लगाएपछि यस वर्ष ऊर्जा संकट झन गम्भीर बनेको छ । मार्च महिनामा मात्रै एक साताभित्र दुई पटक देशभर विद्युत् अवरुद्ध भएको थियो । क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले सोमबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले इन्धन आयात रोक्दै क्युबामा घुटनमार्फत सामाजिक विस्फोट गराउने प्रयास गरिरहेको आरोप लगाए ।
ऊर्जा संकटका कारण शिक्षा, यातायात र स्वास्थ्य सेवासहित अत्यावश्यक सार्वजनिक सेवा प्रभावित भएका छन् । अमेरिकाले हालै थप लगाएको प्रतिबन्धले क्युबाको अर्थतन्त्रमा थप दबाब परेको छ भने पर्यटक आगमनमा पनि कमी आएको छ । अमेरिकाले भने आफ्नो आर्थिक प्रतिबन्धको उद्देश्य क्युबाको राजनीतिक प्रणालीलाई खुला बनाउने र प्रत्यक्ष विदेशी लगानीका लागि वातावरण तयार पार्ने रहेको बताउँदै आएको छ ।
गत महिना क्युबाको राष्ट्रिय सभाले अर्थतन्त्र खुला बनाउने उद्देश्यका साथ विभिन्न सुधार प्रस्ताव पारित गरेको थियो । तर क्युबाका वैदेशिक व्यापार मन्त्री ओस्कार पेरेज–ओलिभा फ्रागाले ती सुधार बाह्य दबाबका कारण नभएको स्पष्ट पारेका थिए । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने ती सुधारलाई ‘ढिलो, सीमित र सतही प्रयास’को संज्ञा दिएका थिए ।
यसैबीच, पछिल्ला केही सातामा अमेरिका र क्युबाका अधिकारीबीच पटक–पटक वार्ता भएको छ । मे महिनामा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए)का निर्देशक जोन र्याट्क्लिफले हवानामा क्युबाका गुप्तचर अधिकारीसँग भेट गरेका थिए । त्यस्तै अमेरिकी दक्षिणी कमान्डका कमाण्डरले पनि ग्वान्टानामो बे नौसैनिक अड्डा नजिक क्युबाली सैन्य अधिकारीसँग छलफल गरेका थिए । अमेरिकाले क्युबामा रुस र चीनका निगरानी केन्द्र सञ्चालन गर्न दिइएको आरोप लगाउँदै आएको छ । क्युबाले भने ती आरोप अस्वीकार गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली बक्स अफिसमा भारतीय फिल्मको दबदबा
-
पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाए
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण