बालोगुन विवाद चर्कियो, क्वान्साहलाई पनि समान छुट दिन बेलायती सांसदहरूको माग
लन्डन । अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको निलम्बन स्थगित गर्ने फिफाको निर्णयलाई लिएर विवाद थप चर्किएको छ ।
बेलायतका सांसदहरूले अब इङ्ग्ल्यान्डका डिफेन्डर ज्यारेल क्वान्साहलाई पनि त्यही सुविधा दिन फिफासँग आग्रह गरेका छन् । इङ्ग्लिस फुटबल संघले क्वान्साहको रातो कार्डविरुद्ध अपिल गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको छ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार क्वान्साहको मुद्दामा पनि फिफा नियमावलीको धारा २७ अन्तर्गत बालोगुनलाई जस्तै सुविधा लागू हुने वा नहुनेबारे फिफाले कुनै प्रतिक्रिया दिएको छैन ।
यो विवाद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालोगुनको निलम्बनबारे आफूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग प्रत्यक्ष सम्पर्क गरेको स्वीकार गरेपछि झन चर्किएको हो । इन्फान्टिनोले भने बालोगुनको मुद्दामा फिफाको न्यायिक निकायले स्वतन्त्र रूपमा निर्णय गरेको बताएका छन् । तर त्यसपछि युरोपभरका फुटबल अधिकारी र राजनीतिज्ञहरूले राजनीतिक दबाबले अनुशासनात्मक निर्णय प्रभावित भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
लेबर पार्टीका सांसद नोआ ल र मेलानी ओनले सामाजिक सञ्जालमार्फत इन्फान्टिनोलाई छुट्टाछुट्टै पत्र पठाउँदै मेक्सिकोविरुद्ध रातो कार्ड पाएपछि क्वान्साहमाथि लागेको एक खेलको स्वचालित प्रतिबन्ध विश्वकपपछि मात्र लागू गर्न आग्रह गरेका छन् । उनीहरूले बालोगुनको निर्णयलाई नजिरका रूपमा प्रस्तुत गर्दै क्वान्साहलाई पनि समान व्यवहार गरिनुपर्ने बताएका छन् ।
मेक्सिकोविरुद्ध एज्टेका रंगशालामा भएको खेलमा इङ्ग्ल्यान्डले ३–२ को जित निकालेको थियो । त्यस खेलमा रातो कार्ड पाएपछि क्वान्साह स्वतः एक खेलका लागि निलम्बित भएका छन् । नोआ लले आफ्नो पत्रमा लेखेका छन, ‘क्वान्साहले रातो कार्ड पाउनु उचित थियो भन्ने मलाई लाग्छ । तर उनको प्रतिबन्ध विश्वकप सकिएपछि मात्र लागु गर्नु उचित हुनेछ ।’ मेलानी ओनले पनि बालोगुनलाई छुट दिइने तर समान परिस्थितिमा रहेका क्वान्साहलाई त्यस्तो सुविधा नदिइए त्यसलाई उचित ठहर गर्न कठिन हुने बताएकी छन् । दुवै सांसदले नियमहरू सबै खेलाडीमा समान रूपमा लागु नगरिए फिफाको अनुशासनात्मक प्रणालीमाथिको विश्वास कमजोर हुने चेतावनी दिएका छन् ।
यस्तै, बेलायती संसदको संस्कृति, सञ्चार तथा खेलकुद समितिकी अध्यक्ष क्यारोलिन डाइनेजले पनि बालोगुनको प्रतिबन्ध किन स्थगित गरियो भन्नेबारे फिफासँग तत्काल स्पष्टीकरण माग गरेकी छन् ।
उनले भनिन्, ‘इङ्ग्ल्यान्डको प्रेरणादायी जितले विश्वकपलाई उत्कृष्ट बनाएको छ। तर फिफाको यो निर्णयले विश्व फुटबलको उत्सवमाथि कालो छाया पार्ने खतरा सिर्जना गरेको छ ।’ उनले खेलको विश्वसनीयताका लागि नियम सबै टोली र खेलाडीमा समान रूपमा लागु हुनुपर्नेमा जोड दिँदै फिफाले आफ्नो निर्णयको आधार स्पष्ट पार्नुपर्ने र राजनीतिक हस्तक्षेप भएको आशंकाबारे जवाफ दिनुपर्ने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ८ सदस्य नियुक्त
-
नेपाली बक्स अफिसमा भारतीय फिल्मको दबदबा
-
पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाए
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण