मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

अर्जेन्टिनाको इतिहासमाथि धावा बोल्ने इजिप्टको सपना

मङ्गलबार, २३ असार २०८३, १८ : ००
मङ्गलबार, २३ असार २०८३

सारांश

  • इजिप्टले अर्जेन्टिनासँग अन्तिम-१६ को खेल खेल्दैछ, जुन राष्ट्रिय गौरवसँग जोडिएको अवसर बनेको छ ।
  • पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको इजिप्टले समर्थकमा नयाँ आशा जगाएको छ ।
  • प्रशिक्षक होसाम हसनले प्यालेस्टाइनको समर्थन गरेपछि खेलले राजनीतिक र भावनात्मक अर्थ पाएको छ ।

इजिप्ट । लाखौँ इजिप्टेलीका लागि ऐतिहासिक दिन सुरु हुन केही घण्टा बाँकी रहँदा देशभर एउटै दृश्य देखिन्छ । गाडी र घरका कौसीमा राष्ट्रिय झण्डा फहराइरहेका छन्, लाउडस्पिकरबाट देशभक्तिपूर्ण गीत घन्किरहेका छन्, र क्याफेहरू साना फुटबल रंगशालामा परिणत भएका छन् । 

सार्वजनिक यातायातदेखि कार्यालय र बजारसम्म हरेक ठाउँमा एउटै प्रश्नले चर्चा पाइरहेको छ । के अर्जेन्टिनासँगको खेलपछि पनि ‘फेराओहरू’ले आफ्नो ऐतिहासिक विश्वकप यात्रा जारी राख्न सक्लान् ? इजिप्टले मंगलबार अमेरिकाको एटलान्टामा वर्तमान विश्वविजेता अर्जेन्टिनासँग अन्तिम–१६ को खेल खेल्दैछ । तर यो खेल अब केवल फुटबल प्रतियोगिता मात्र नभई राष्ट्रिय गौरवसँग जोडिएको एउटा विशेष अवसर बनेको छ ।

पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेर राष्ट्रिय टोलीले इजिप्टेली समर्थकमा नयाँ आशा जगाएको छ । यसले विश्व फुटबलका महाशक्तिहरूसँग प्रतिस्पर्धा गर्ने लामो समयदेखिको सपनालाई पनि अझ नजिक ल्याएको छ । 

शुक्रबार अस्ट्रेलियामाथि अन्तिम–३२ को जितपछि मुख्य प्रशिक्षक होसाम हसनले प्यालेस्टाइनप्रति खुलेर समर्थन जनाएपछि यो खेलले झनै गहिरो राजनीतिक र भावनात्मक अर्थ पाएको छ । इजरायली सञ्चारमाध्यमहरूले प्रशिक्षक र इजिप्टेली टोलीको आलोचना गरे भने केही इजरायली सामाजिक सञ्जाल इन्फ्युलेन्जरहरूले आफ्ना समर्थकलाई इजिप्टविरुद्ध अर्जेन्टिनालाई समर्थन गर्न आह्वान गरेका थिए । 

काहिरामा आशा, विश्वास र गर्व

खेलको एक दिनअघि काहिराका क्याफेहरूमा उत्साहपूर्ण बहस चलिरहेका थिए । सार्वजनिक यातायातमा यात्रा गर्नेहरू रणनीति, सम्भावित नतिजा र टोलीको प्रदर्शनबारे छलफल गरिरहेका थिए । राष्ट्रिय टोलीको सफलताप्रति इजिप्टेलीहरूमा ठुलो गर्व देखिन्थ्यो । धेरैको विश्वास छ कि फेराओहरूले कठिन मानिएको अर्जेन्टिनालाई पनि चुनौती दिन सक्छन् । 

kahira2

निर्माण व्यवसायी रजब मोहम्मदले अन्तिम–१६ मा पुग्नु नै ‘सबै इजिप्टेलीका लागि गौरवपूर्ण उपलब्धि’ भएको बताए । गिजाको हदायेक अक्टोबर क्षेत्रमा रहेको एउटा क्याफेमा ब्राजिल र नर्वेको खेल हेरिरहेका महमुदले इजिप्टले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले विशेष गरी कप्तान मोहम्मद सलाहको प्रशंसा गर्दै टोलीले हरेक खेलसँगै जनताको आशा बढाएको बताए । 

महमुदका अनुसार सलाह र इमाम आशुर टोलीका उत्कृष्ट खेलाडी हुन् भने प्रशिक्षक होसाम हसन प्रतियोगिताको सबैभन्दा सुखद आश्चर्य बनेका छन् । तर अर्जेन्टिनाविरुद्धको नतिजा जस्तोसुकै भए पनि टोलीले सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको उनको भनाइ छ । 

गिजाकै चिकित्सक अधाम आदेलका अनुसार इजिप्टको यात्रा सन् २०२२ को कतार विश्वकपमा मोरक्कोले गरेको ऐतिहासिक प्रदर्शनसँग मिल्दोजुल्दो छ । उनी अब इजिप्ट क्वार्टरफाइनलसम्म पुग्ने आशा राख्छन् ।

इतिहास पुनर्लेखनको अभियान

देशका सडकहरूमा अहिले राष्ट्रिय टोली र राष्ट्रिय झण्डाको मात्र चर्चा छ । समर्थकहरूको माग बढेपछि इजिप्टेली झण्डा, सिटी र अन्य सामग्री बेच्ने व्यापारीहरूले मुख्य सडक र चोकहरू भरिएका छन् । वरिपरि देशभक्तिपूर्ण गीतहरू घन्किरहेका छन् । 

गिजाको अल–हराम सडकमा झण्डा र सिटी बेचिरहेका मसुद अल–सय्यदले यस्तो उत्साह इजिप्टले ‘हसन शेहाताको टोलीको समययता’ पहिलो पटक देखेको बताए । उनले सन् २००६ देखि २०१० सम्म लगातार तीन पटक अफ्रिका कप अफ नेसन्स जितेको स्वर्णिम पुस्ताको स्मरण गरे । 

kahira

अर्का समर्थक महमुद राबिएका अनुसार अर्जेन्टिनाविरुद्धको खेल प्रतियोगिताकै सबैभन्दा कठिन हुनेछ, तर जित असम्भव भने छैन । प्रशिक्षक हसनले खेलाडी र समर्थक दुवैमा आत्मविश्वास भरेको उनको विश्वास छ ।
कतिपय समर्थक, जस्तै इद महमुद, यदि खेल पुनः पेनाल्टी सुटआउटमा पुग्यो भने गोलरक्षक मोस्तफा शोबेरका कारण इजिप्ट विजयी हुनेमा विश्वस्त छन् । युवा समर्थकहरू भने टोलीले केवल ‘सम्मानजनक सहभागिता’मा सीमित रहने पुरानो परम्परा तोड्दै नकआउट चरणमा पुगेकोमा निकै खुसी छन् । 

उनीहरूका अनुसार अर्जेन्टिनाविरुद्ध केप भर्डेले दिएको कडा चुनौतीले पनि विश्वविजेता टोलीलाई हराउन सकिने सम्भावना देखाएको छ । साथै मोहम्मद सलाह र ओमार मारमुशजस्ता स्टार खेलाडीहरूको उपस्थितिले इजिप्टेली समर्थकमा थप आशा जगाएको छ । 

इतिहास बनाउने प्रतीक्षा

इजिप्टको दोस्रो ठूलो सहर अलेक्जान्ड्रियामा समुद्री किनार राष्ट्रिय झण्डाले सजिएको छ । बालबालिकाका हातमा पनि झण्डा देखिन्छ । ११ वर्षीया राघदले इमाम आशुरले लगाउने नम्बर २२ अंकित अल अह्ली क्लबको जर्सी गर्वका साथ लगाएकी थिइन् । अस्ट्रेलियाविरुद्ध पहिलो गोल गरेका आशुर उनका मनपर्ने खेलाडीमध्ये एक हुन् । 

राघदले आफूले सलाह र आशुरबाहेक धेरै खेलाडीलाई नचिने पनि बुवासँग क्याफेमा बसेर अर्जेन्टिनाविरुद्धको खेल हेर्ने योजना बनाएको बताइन् । आशावादी अनुमानहरूबीच अधिकांश समर्थक एउटै कुरामा सहमत छन् । यो टोलीले फेरि एकपटक इजिप्टेली जनतामा राष्ट्रिय टोलीप्रतिको विश्वास पुनर्जीवित गराएको छ । 

salaha

एटलान्टामा हजारौँ किलोमिटर टाढा खेल सुरु हुँदा इजिप्टभरका क्याफे, सडक र सार्वजनिक स्थलहरू समर्थकले भरिनेछन् । सबैको एउटै चाहना हुनेछ, त्यो हो, फेराओहरूले इजिप्टेली फुटबलको इतिहासमा अर्को स्वर्णिम अध्याय लेखून् ।

पछिल्लो पटक सन् २००८ मा इजिप्टले अर्जेन्टिनाविरुद्ध खेलेको थियो । उक्त अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा अर्जेन्टिनामा २–० ले विजयी भएको थियो । त्यसअघि आजभन्दा ९८ वर्षअघि पनि यी दुई टोलीले खेलेका थिए, समर ओलम्पिकमा सन् १९२८ मा अर्जेन्टिना ६–० को फराकिलो अग्रतासहित विजयी भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप