मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

सय दिनमा सरकारले अभूतपूर्व काम गरेको अर्थमन्त्रीको दाबी

निर्वाचन अघि जनतासामु गरेको वाचा अनुसार नै सरकारले काम गरिरहेको छ: अर्थमन्त्री
मङ्गलबार, २३ असार २०८३, १६ : ४०
मङ्गलबार, २३ असार २०८३

सारांश

  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन् ।
  • उनले सरकारले सय बुँदामा तोकेका कामहरूमध्ये ८७.२ प्रतिशत कार्यक्रमहरू फत्ते गर्नु आफैँमा अभूतपूर्व काम भएको तर्क गरे ।
  • अर्थ मन्त्रालयले भने सय बुँदा मध्ये आफ्नो जिम्मेवारीमा परेका सबै काम फत्ते गरेको बताए ।

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गरेका छन् । 

मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जिकिर गरेका हुन् । 

मन्त्री वाग्लेले सरकारले सय बुँदामा तोकेका कामहरूमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते गर्नु आफैँमा अभूतपूर्व काम भएको तर्क गरे । विधेयकलगायतका कतिपय विषयहरू सरकारको मात्रै नियन्त्रणमा नभएकाले सोचेअनुसार अघि बढ्न नसकेको स्पष्टीकरण दिँदै उनले अर्थ मन्त्रालयले भने सय बुँदा मध्ये आफ्नो जिम्मेवारीमा परेका सबै काम फत्ते गरेको बताए ।

सदनमा बोल्दै अर्थमन्त्री वाग्लेले भने, ‘सय दिनको प्रसङ्ग आएको रहेछ । अघि नै मैले निवेदन गरिसकेँ– सरकारको आन्तरिक मूल्याङ्कनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते भएको छ । यो आफैमा अभूतपूर्व होला । आफैले मापदण्ड, एकदमै जटिल मापदण्ड तोकेर आफू त्यसैमा खरो उत्रनका लागि सरकारले आफूले इमानदार रूपमा प्रयासरत छ । केही कामहरू निरन्तर छन् । विधेयक पेस गर्ने जस्ता कुराहरू त्यो हाम्रो कन्ट्रोलमा मात्रै नभएको हुनाले पनि यसलाई अघि बढाउने कुरामा हामी सचेत नै छौँ । अर्थ मन्त्रालयले सय बुँदामा भनिएका सबै कामहरू फत्ते गरेको छ ।’

अर्थमन्त्री वाग्लेले सरकारले निर्वाचन अघि जनतासामु गरेको वाचा र प्रतिबद्धता अनुसार नै देश र जनताको हितमा केन्द्रित भएर काम गरिरहेको समेत उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप