बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
विश्वकप फुटबल

अर्जेन्टिना र इजिप्टबिचको खेल सुरु, मेस्सीले गर्न सक्लान् गोल ?

मङ्गलबार, २३ असार २०८३, २१ : ४९
मङ्गलबार, २३ असार २०८३

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत अन्तिम १६ को महत्वपूर्ण खेलमा साविक विजेता अर्जेन्टिना र इजिप्टबीच प्रतिस्पर्धा सुरु भएको छ। 

अमेरिकाको एटलान्टा स्टेडियममा ‍पौने १० बजेदेखि सुरु खेल दुई विश्व फुटबलका आइकन लियोनल मेस्सी र मोहम्मद सलाहबीचको भिडन्तका कारण चर्चामा रहेको छ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी यस विश्वकपमा उत्कृष्ट लयमा छन्। उनले यसअघिका चारवटै खेलमा गोल गरिसकेका छन् र कुल ७ गोलका साथ गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एमबाप्पे र नर्वेका अर्लिङ हालान्डसँगै शीर्ष स्थानमा छन्। यदि आजको खेलमा पनि मेस्सीले गोल गरेमा उनी विश्वकपको एकै संस्करणमा आफ्नो देशका लागि सुरुवाती पाँचवटै खेलमा गोल गर्ने कीर्तिमानी खेलाडीहरूको सूचीमा सामेल हुनेछन्। 

यसअघि जस्ट फन्टेन, जारजिन्हो, गर्ड मुलर, रिभाल्डो र जेम्स रोड्रिग्वेजले मात्र यो उपलब्धि हासिल गरेका छन्।

इजिप्टका लागि यो विश्वकप निकै विशेष रहेको छ। पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको इजिप्टले अन्तिम ३२ को खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराउँदै इतिहास रचेको हो। मोहम्मद सलाहको नेतृत्वमा रहेको इजिप्ट आज अर्जेन्टिनालाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्ने पाँचौँ अफ्रिकी राष्ट्र बन्ने लक्ष्यमा रहेको छ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले जुलियन अल्भारेजलाई मेस्सीको साथमा सुरुवाती रोजाइमा मैदान उतारेका छन्। खेलअघि बोल्दै स्कालोनीले इजिप्ट बलियो टोली भएको र आफूहरू 'अलर्ट' रहेको बताएका छन्। उनले मोहम्मद सलाहको प्रशंसा गर्दै उनलाई रोक्न गाह्रो हुने स्वीकार गरे।

अर्कोतर्फ, इजिप्टका प्रशिक्षक होसाम हसनले अर्जेन्टिना र मेस्सीको सम्मान गरे पनि यो खेल आफ्नो टोलीका लागि आफूलाई प्रमाणित गर्ने ठूलो अवसर भएको बताए। उनले सलाहलाई सुरुवाती ११ मा राखेका छन् भने ओमार मार्मुसलाई बेन्चमा राख्दै टोलीमा केही परिवर्तन गरेका छन्।

आजको विजेताले क्वाटरफाइनलमा स्विजरल्याण्ड वा कोलम्बियामध्ये एकसँग खेल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप