नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
सारांश
- बढ्दो सहरीकरणले गर्दा काठमाडौँ उपत्यकामा कागको वासस्थान साँघुरिँदै गएको छ।
- गुँड बनाउने ठुला रुखहरू मासिएपछि कागलाई बच्चा हुर्काउन धौधौ परेको छ।
- मानव बस्तीमा कागको उपस्थिति बाक्लिँदै जाँदा बर्ड फ्लु जस्ता रोग सर्ने खतरा बढेको छ।
काठमाडौँ । बढ्दो सहरीकरणले प्राकृतिक सन्तुलनमा कस्तो असर पारिरहेको छ भन्ने कुराको एउटा प्रतिनिधि उदाहरण काठमाडौँमा देखिने कागको दैनिकी र सङ्घर्षले दिन्छ।
तराईदेखि हिमालसम्मै सहजै पाइने यो चराका लागि अचेल काठमाडौँ उपत्यकामा वासस्थान साँघुरिँदै गएको छ।

गुँड बनाउने ठुला रुखहरू मासिएपछि कागलाई बच्चा हुर्काउन निकै धौधौ पर्न थालेको छ, तैपनि यसले सहरी कोलाहल र सङ्कटका बिच आफ्नो अस्तित्व जोगाउने प्रयास गरिरहेको छ।

काठमाडौँको नैकाप क्षेत्रमा कागले अण्डा कोरल्नेदेखि बच्चा हुर्केर वयस्क हुँदासम्मको एउटा रोचक चक्र क्यामेरामा कैद भएको छ। यो चक्र पूरा हुन करिब ५० देखि ६० दिनसम्म लाग्छ। कागले अण्डा पारेपछि भाले र पोथी दुवै मिलेर आलोपालो ओथारा बस्छन्।

यसरी ओथारा बसेको १८ देखि २५ दिनभित्रमा अण्डाबाट चल्ला निस्किन्छन्। ती साना चल्लाहरू हुर्केर करिब ५ देखि ७ हप्ताको अवधिमा मात्र गुँडबाट बाहिरको संसार नियाल्न सक्ने हुन्छन्। कागको मुख्य प्रजनन समय मे, जुन र जुलाई महिना हो।

उपत्यकामा तीव्र गतिमा भइरहेको सहरीकरणका कारण कागहरू सुरक्षित मानिने काठ क्षेत्र (ग्रामीण र वन क्षेत्रको सिमाना) बाट विस्थापित हुन थालेका छन्। कागहरूले गुँड बनाउने काठ क्षेत्रका खेतबारी र आसपासका रुखहरू काटिँदै त्यहाँ धमाधम नयाँ घरहरू बनिरहेका छन्। ठाउँको अभाव भएपछि कागहरू जोखिम मोलेरै भए पनि मानव बस्तीभित्र रहेका रुखहरूमा गुँड बनाएर चल्ला कोरल्न बाध्य छन्।

बस्तीभित्र कागको उपस्थिति बाक्लिँदै जाँदा यसले अर्को ठुलो स्वास्थ्य सङ्कटको जोखिम पनि निम्त्याएको छ। नयाँ नैकाप क्षेत्रमा विस्तारित हुँदै गएको बस्तीभित्र कागले बनाएका गुँडहरूले उनीहरूको वासस्थान कतिसम्म खुम्चिएको छ भन्ने कथा स्पष्ट पार्छन्।

खेतीयोग्य जमिनमा मानव बस्ती विकास भएपछि रुखको अभावमा कागहरू मानिसकै आँगन र घर वरपर बस्न थालेका छन्। यसरी पन्छी र मानिसको दूरी घट्दै जाँदा बर्ड फ्लु जस्ता पन्क्षीजन्य रोगहरू अन्य जनावर र मानिसमा समेत सर्ने खतरा बढेको छ।






शब्द/तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित २० जना पक्राउ
-
बालेन सरकारलाई सांसद विष्टले भने, ‘इतिहास र सम्पत्ति जलाएर आएको राक्षसी सरकार’
-
सार्वजनिक सवारीमा जीपीएस, सीसीक्यामेरा र एआई निगरानी अनिवार्य
-
अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न
-
आवेग भनेर टार्न मिल्दैन, निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरियोस्: जसपा
-
गणेश नेपालीको मृत्यु राज्यको असंवेदनशीलताको पराकाष्ठा : प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण