इरानले बनायो ट्रम्पको हत्या योजना
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको नयाँ योजनाबारे इजरायलले अमेरिकालाई गुप्तचर सूचना उपलब्ध गराएको छ ।
- इजरायलले यो चेतावनी यही साता दिएको र अमेरिकी गुप्तचर निकायले ट्रम्पमाथि सम्भावित आक्रमणसम्बन्धी सूचनाहरू प्राप्त गरिरहेको बताइएको छ ।
- अमेरिकी अधिकारीहरूले इजरायलले दिएको सूचनाको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको र यसलाई इरानविरुद्ध अमेरिकी सैन्य कारबाही तीव्र बनाउन ट्रम्पलाई प्रभावित गर्ने प्रयास पनि हुनसक्ने बताएका छन् ।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको नयाँ योजनाबारे इजरायलले अमेरिकालाई गुप्तचर सूचना उपलब्ध गराएको भन्दै सीएनएनले समाचार छापेको छ । दुई स्रोतलाई उद्धृत गर्दै सीएनएनले समाचार प्रकाशित गरेको हो ।
याेसँगै युद्धविराम कमजोर बन्दै गएको अवस्थामा अमेरिका–इरान तनाव थप बढ्ने सङ्केत देखिएको छ । सीएनएनका अनुसार एक स्रोतले इजरायलले यो चेतावनी यही साता दिएको बताएका छन् ।
अर्को स्रोतका अनुसार पछिल्ला केही सातादेखि अमेरिकी गुप्तचर निकायले ट्रम्पमाथि सम्भावित आक्रमणसम्बन्धी सूचनाहरू प्राप्त गरिरहेको थियो । तर इजरायलले दिएको पछिल्लो सूचना भने एउटा विशिष्ट योजनासँग सम्बन्धित रहेको बताइएको छ ।
यद्यपि, अमेरिकी अधिकारीहरूले इजरायलले दिएको उक्त सूचनाको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको र यसअघि त्यसबारे कुनै निगरानी पनि नगरेको बताएका छन् । केही अमेरिकी अधिकारीहरूले भने इजरायलको यो कदम इरानविरुद्ध अमेरिकी सैन्य कारबाही तीव्र बनाउन ट्रम्पलाई प्रभावित गर्ने प्रयास पनि हुनसक्ने बताएका छन् ।
अमेरिकी सरकारले लामो समयदेखि इरानले सन् २०२० मा अमेरिकी ड्रोन आक्रमणमा मारिएका वरिष्ठ इरानी सैन्य कमान्डर कासेम सुलेमानीको बदलास्वरूप ट्रम्पलाई निशाना बनाउन सक्ने चेतावनी दिँदै आएको छ ।
यस विषयमा प्रतिक्रिया माग्दा ह्वाइट हाउसले ट्रम्पका हालैका अभिव्यक्तिलाई उद्धृत गरेको थियो । ट्रम्पले बुधबार पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए– ‘उनीहरू अमेरिकाका नेता अर्थात् मलाई हटाउन चाहन्छन् । म उनीहरूको सबै सूचीमा छु । अहिलेसम्म म भाग्यमानी भएको हुनसक्छ, तर त्यो सधैँ रहन्छ भन्ने छैन,’ ।
ट्रम्पले आफू हालै इरानको हत्या लक्ष्य सूचीमा पहिलो स्थानमा रहेको नयाँ सूचीबारे जानकारी पाएको पनि बताएका थिए । तर उनले इजरायलले दिएको नयाँ गुप्तचर सूचनाकै सन्दर्भमा भनेका हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन ।
गत साताको अन्त्यतिर इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रममा सहभागी भीडले ट्रम्पविरुद्ध नाराबाजी गर्दै उनको मृत्युको माग गरेको पनि समाचारमा उल्लेख गरिएको छ । यसैबिच अमेरिका र इरानबिच पछिल्ला दिनमा तनाव पुनः चुलिएको छ । दुवै पक्षले एक अर्का विरुद्ध धम्की र सैन्य आक्रमण जारी राखेका छन् भने ६० दिने युद्धविराम प्रभावहीन बन्दै गएको छ ।
अमेरिकी गुप्तचर स्रोतहरूका अनुसार केही व्यक्ति वा समूहले सम्भावित आक्रमणबारे छलफल गरे पनि हालसम्म कुनै प्रत्यक्ष कदम चालेका छैनन् । साथै इरानले वर्तमान तथा पूर्वअमेरिकी उच्च अधिकारीहरूलाई पनि निशाना बनाउन सक्ने चिन्ता अमेरिकी सुरक्षा निकायमा रहेको बताइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँग कूटनीतिक समाधान खोज्ने ट्रम्पको प्रयासप्रति सन्देह व्यक्त गर्दै आएका छन् । लेबनानमा इजरायली सैन्य कारबाहीको विषयमा पनि नेतन्याहु र ट्रम्पबिच मतभेद देखिएको थियो । दुवैले बिहीबार टेलिफोन वार्ता गरेका छन् भने नेतन्याहु छिट्टै वासिङ्टन भ्रमणमा जाने अपेक्षा गरिएको छ ।
यता, अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले इरानसँगको समझदारी ज्ञापन (एमओयू) समाप्त भएको घोषणा गरे पनि पर्दा पछाडि कूटनीतिक प्रयास जारी छन् । अमेरिका र इरानले आगामी अगस्टको मध्यसम्ममा नयाँ आणविक सम्झौतामा पुग्ने प्रयास गरिरहेका छन् ।
यसै क्रममा अमेरिकी विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिंकनमा सम्भावित सैन्य कारबाहीका लागि लडाकु विमानहरू तयारी अवस्थामा राखिएको थियो । जहाजका कमाण्डिङ अफिसर ड्यान किलरले चालक दललाई क्षेत्रीय अवस्था झन् तनावपूर्ण बन्दै गएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
-
तीन वर्षको अन्तरालमा एउटै नियति
-
ठगीमा परेका ८३६ नेपालीको उद्धार : परराष्ट्र मन्त्रालय
-
नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
-
सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण