शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी

शुक्रबार, २६ असार २०८३, १५ : ५०
शुक्रबार, २६ असार २०८३

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। 

बिहीबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि नागरिकहरू सरकारको विरोधमा सडकमा उत्रिएका छन्। 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्विल लक’ गरेपछि असन्तुष्ट बनेका नेपालीले आत्मदाहको बाटो रोजेका थिए। नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण, चालक तथा राइडरहरूले शुक्रबार माइतीघर मण्डलमा भेला भई सरकार र स्थानीय प्रशासनविरुद्ध प्रदर्शन गरेका छन्। 

प्रदर्शनकारीहरूले राज्य संयन्त्र गरिब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन्। सो क्रममा उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद घटनाहरू दोहोरिएको बताए।

प्रदर्शनमा सहभागीहरूका अनुसार घटनाका बखत महानगरका कर्मचारीहरू कार्यक्षेत्रमै उपस्थित भए पनि नेपालीलाई बचाउन पर्याप्त पहल नगरेको आरोप लगाइएको छ। उनीहरूले सो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। 

विशेष गरी राइड सेयरिङमा आवद्ध युवाहरूले सरकारले ट्याक्स मात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे। यातायात विभागले राइड सेयरिङलाई कानुनी दायरामा नल्याउँदा वैज्ञानिक भाडादर कायम हुन नसकेको र कम्पनीहरूले मनपरी कमिसन लिइरहेको उनीहरूको भनाइ छ।

सरकारको आलोचना गर्दै प्रदर्शनकारीले भने, ‘मुलुकमा महँगी र बेरोजगारी चरम सीमामा पुगेको छ, तर सरकार युवाहरूलाई राहत दिनुको साटो जरिवाना र करको नाममा आतङ्कित पारिरहेको छ।’ 

उनीहरूले थपे, ‘यो राज्यको निरङ्कुशता र संवेदनहीनताको पराकाष्ठा हो।’

प्रदर्शनकारीहरूले अव्यवहारिक जरिवाना खारेज गर्न, काठमाडौँभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरेका छन्। उनीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप