गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
सारांश
- नेकपाले मुगुका गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
- नेकपाले नागरिकले आत्मदाह गर्न बाध्य हुनु राज्यको संवेदनशीलतामाथि प्रश्नचिह्न भएको बताएको छ।
- पार्टीले गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाही र पीडित परिवारलाई राहत तथा न्याय दिन सरकारसँग जोडदार माग गरेको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा दिवङ्गत गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
विज्ञप्तिमा लोकतान्त्रिक मुलुकमा नागरिक आत्मदाह गर्न बाध्य हुनु राज्यको संवेदनशीलता र लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाउने विषय भएको उल्लेख गरिएको छ। आत्मदाहको प्रयासपछि पनि उनको जीवन रक्षा र मानवीय व्यवहार गर्नुको सट्टा राज्यका निकायबाट बल प्रयोग, जरिवानाको दबाब, धम्की तथा अमानवीय व्यवहार भएको आरोप नेकपाकाे छ। साथै, निधनपछि पनि घटनाको वास्तविकता सार्वजनिक नगरिएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।
नेकपाले राज्य र नागरिकबिचको अपनत्व कमजोर बन्दै गएको तथा भुइँतहका नागरिकका समस्या र आवाजप्रति राज्य असंवेदनशील बन्दै गएको दाबी गरेको छ। यही कारण गणेश नेपालीजस्ता नागरिक चरम कदम चाल्न बाध्य भएको र सुकुमबासी, भूमिहीन, श्रमिक तथा विपन्न समुदायले अझै कठिन जीवन बिताइरहेको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले संविधानले प्रत्याभूत गरेका सम्मानपूर्वक बाँच्न पाउने अधिकार, रोजगारी, सामाजिक न्याय र सुरक्षाको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ। साथै बेरोजगार युवा, सुकुमबासी, भूमिहीन, मिटरब्याज पीडित तथा अन्य उत्पीडित समुदायका समस्यालाई तत्काल मानवीय, न्यायोचित र संवेदनशील ढङ्गले सम्बोधन गर्न माग गरेको छ।
नेकपाले गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण