मागेको जुत्ताले १३ गोलको कीर्तिमान : जसले 'गोल्डेन बुट' होइन 'एयर राइफल' पाए
काठमाडौँ । हरेक चार वर्षमा हुने विश्व फुटबलको सबैभन्दा ठुलो मञ्च फिफा विश्वकपबाट धेरै खेलाडीले आफ्नो छाप छाड्ने गर्छन् । कतिलाई लामो समयसम्म खेलप्रेमीले सम्झिइरहन्छन् त कति त्यसै हराइजान्छन् ।
यस्तैमा ६८ वर्षअघिको विश्वकपमा १३ गोल गरेर बनेको एउटा कीर्तिमान आज पनि अटल छ। ती कीर्तिमानधारी हुन्– फ्रान्सका स्ट्राइकर जस्ट फोन्टेन।
फोन्टेनको यो कथा कुनै काल्पनिक चलचित्रको भन्दा कम छैन। सन् १९५८ को विश्वकपमा उनले १३ गोल गर्दा उनले आफ्नै जुत्ता समेत लगाएका थिएनन्। अझ रोचक कुरा त के छ भने उनी फ्रान्सको सुरुवाती रोजाइका खेलाडी समेत थिएनन्।
संयोगवश विश्वकप सुरु हुनुअघि फ्रान्सका मुख्य स्ट्राइकर रेने बिलियार्ड घाइते भएपछि फोन्टेनले खेल्ने मौका पाएका थिए। तर, उनीसँग खेल्नका लागि उपयुक्त जुत्ता थिएन । उनले आफ्ना साथी स्टेफन ब्रुएसँग जुत्ता मागेर मैदान उत्रिएका थिए।
त्यही मागेको जुत्ताले फुटबल इतिहासकै सबैभन्दा ठुलो धमाका मच्चायो। अहिलेको समयमा विश्वकपमा सर्वाधिक गोल गर्नेलाई 'गोल्डेन बुट' दिइन्छ। तर, सन् १९५८ मा त्यस्तो कुनै पुरस्कार थिएन। फोन्टेनको सटिक निशानाबाट प्रभावित भएर एउटा स्वीडिस अखबारले उनलाई पुरस्कारस्वरूप एउटा 'एयर राइफल' (बन्दुक) उपहार दिएको थियो।
आजको युगमा लियोनल मेस्सी, केलियन एमबाप्पे, ह्यारी केन र एर्लिङ हालान्ड जस्ता विश्वका उत्कृष्ट गोलकर्ताहरू फोन्टेनको कीर्तिमान नजिक पुग्न संघर्ष गरिरहेका छन्। सन् १९७० यताका विश्वकपमा केवल तीन पटक मात्रै कुनै खेलाडीले ६ गोलभन्दा बढी गर्न सकेका छन्। सन् २०२२ को विश्वकपमा एमबाप्पे र मेस्सीले क्रमशः ८ र ७ गोल गरे पनि फोन्टेनको १३ गोलको आँकडा अझै धेरै टाढा देखिन्छ। २०२६ को विश्वकपमा खेल संख्या बढेर ८ पुग्ने भए पनि फोन्टेनले ६ खेलमै बनाएको त्यो कीर्तिमान तोड्न असम्भव जस्तै मानिएको छ।
सन् १९३३ मा मोरक्कोको माराकेसमा जन्मिएका फोन्टेनले पछि फ्रान्सबाट अन्तर्राष्ट्रिय फुटबल खेले। सन् १९५८ को विश्वकपमा उनले हरेक खेलमा गोल गरेका थिए।
पाराग्वे विरुद्धको पहिलो खेलमै ह्याट्रिक गरेका उनले पश्चिम जर्मनी विरुद्धको तेस्रो स्थानका लागि भएको खेलमा एक्लै ४ गोल गरेका थिए। सेमिफाइनलमा पेलेको ब्राजिलसँग ५-२ ले पराजित हुँदा पनि उनले गोल गर्न छोडेनन्।
फोन्टेनको खेल जीवन जति उचाइमा थियो, त्यसको अन्त्य त्यति नै दुखद भयो। सन् १९६० मा २८ वर्षको अल्पायुमै खुट्टा भाँचिएका कारण उनले फुटबलबाट सन्यास लिनुपर्यो। उनले फ्रान्सका लागि केवल २१ खेल खेल्दै ३० गोल गरेका थिए। यदि चोटले उनलाई नरोकेको भए, फुटबलका धेरै कीर्तिमानहरू आज फोन्टेनकै नाममा हुने थिए।
सन् २०१४ मा फिफाले उनलाई ढिलै भए पनि विशेष 'प्लेटिनम बुट' प्रदान गरेर सम्मान गरेको थियो। सन् २०२३ मार्च १ मा ८९ वर्षको उमेरमा निधन भएका फोन्टेनले ठट्टा गर्दै भन्ने गर्थे, 'म २०० वर्षपछि फर्किएर आउँदा पनि मेरो कीर्तिमान कायमै रहनेछ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, युद्ध थप चर्कियो
-
भ्रष्टाचार मुद्दामा सफाइसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली
-
जासुसी रोक्न जापान सक्रिय
-
लागूऔषधसहित पाँच जना पक्राउ
-
गगने खोलामा सडक पुनः अवरूद्ध
-
थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण