मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
विचार

ट्युनिसियादेखि त्रिपुरेश्वरसम्म : जलिरहेका नागरिकका पदचाप

मङ्गलबार, ३० असार २०८३, १६ : ००
मङ्गलबार, ३० असार २०८३

सारांश

  • ट्युनिसियाका मोहम्मद बुअजीजीको आत्मदाहले सुरु भएको 'चमेली क्रान्ति' जस्तै नेपालमा पनि युवाहरूको आत्मदाहले व्यवस्था परिवर्तनको सन्देश दिएको छ ।
  • नेपालमा प्रेमप्रसाद आचार्य, गणेश नेपाली, विवेक मण्डल र आश्विन राउत जस्ता युवाहरूको आत्मदाहले राज्यको क्रूरता, अमानवीय कर्मचारीतन्त्र र जरिवानामुखी शासन व्यवस्थाको विरोध गरेको छ ।
  • लेखकले युवाहरूलाई फेसबुक र टिकटकमा भावुक स्ट्याटस लेख्नुको सट्टा सङ्गठित भई नीतिगत सुधारका लागि शान्तिपूर्ण वैचारिक विद्रोह गर्न आह्वान गरेका छन् ।

नेपालका युवाहरूका लागि अब फेसबुक र टिकटकमा भावुक स्ट्याटस लेख्ने वा अरूको रोदनमा ताली बजाउने समय सकिएको छ, अब उठेर सडकमा आऊ र क्रूर व्यवस्था फेर !

इतिहास केवल संसद्का बहस र दस्ताबेज वा सिंहदरबारका फाइल र प्रतिवेदनहरूबाट मात्र निर्माण हुँदैन । कहिलेकाहीँ इतिहास सडकको बिचमा जलिरहेको नागरिकको शरीर र त्यसबाट निस्कने आगोको लप्का र धुवाँको मुस्लोबाट पनि निर्माण हुन्छ ।

सन् २०१० को डिसेम्बरमा ट्युनिसियाका २६ वर्षीय युवा मोहम्मद बुअजीजीले गभर्नर कार्यालयको प्राङ्गणमा आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे । प्रसिद्ध पाकिस्तानी कवि फैज अहमद फैजका अत्यन्त शक्तिशाली पङ्क्तिहरू झनै सान्दर्भिक र सशक्त भएर आए :

‘हम देखेंगे
लाजिम है कि हम भी देखेंगे
वो दिन कि जिसका वादा है
जो लोह–ए–अजल में लिखा है
जब जुल्म–ओ–सितम के कोह–ए–गरां
रुई की तरह उड जाएंगे
सब ताज उछाले जाएँगे
सब तख्त गिराए जाएँगे ।’

यो कविताले भविष्यवाणी गरेझैँ बुअजीजीको आत्मदाहले शीतयुद्धको समाप्तिपछि पनि बदलिन नसकेका अरबका तानाशाही सत्ताका राजमुकुटहरू हावामा उछालियो र सिंहासनहरू गर्ल्यामगुर्लुम ढले ।

सायद आम नेपालीहरूले बिर्सेका छैनन्, ०७९ साल पुसमा नयाँ बानेश्वरको सडकबिच संसद् भवनलाई साक्षी राखेर इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा पेट्रोल खन्याएर मृत्युवरणको बाटो रोज्दा राज्यले यसलाई ‘आइसोलेटेड’ घटना ठानेको थियो होला ।

तर, इतिहासकार साम विल्किनले आफ्नो कृति ‘हिस्ट्री रिपिटिङ : ह्वाइ पपुलिस्टस् राइज एन्ड गभर्मेन्टस् फेल’ मा वर्णन गरेअनुसार इतिहास क्रूर हुन्छ र निश्चित समयपछि दोहोरिरहन्छ । अहिलेका सत्तासीन शासकहरूको नजरमा उक्त घटना मार्क्सवाद, समाजवाद र माओवादका आडमा लुटतन्त्र, गुटतन्त्र र भ्रष्टाचारमा चुर्लुम्म डुबेका वयोवृद्ध नेताहरूको नाकामीको परिणाम थियो ।

तर, प्रेमप्रसादको मृत्युको साढे तीन वर्ष पनि नपुग्दै गत बिहीबार देशमा ‘युवा नेतृत्वको सरकार’ सत्तामा आसिन भएकै बेला त्रिपुरेश्वरस्थित राहदानी विभागको प्रवेशद्वारमै मुगुका जेनजी आन्दोलनमा सहभागी युवा गणेश नेपालीले ट्युनिसियाका बुअजीजी र इलामका प्रेमप्रसादकै शैलीमा आत्मदाह गरे ।

अफसोच, विडम्बना र त्रासदीको सिलसिला यतिमा मात्रै रोकिएन । गणेश नेपालीको वीर अस्पतालमा सास रोकिनुअगावै शुक्रबार सर्लाही जिल्लाको गोडैता नगरपालिका–१० सिसौटियाका विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका अर्का जेनजी युवा विवेक मण्डलले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरे । यति मात्र होइन, शनिबार बिहान काठमाडौँ–१० बुद्धनगर बस्ने ४५ वर्षीय व्यवसायी आश्विन राउतले पनि आफ्नै घरमा आत्मदाह गरे ।

यो आलेख लेख्दासम्म गणेश नेपाली, आश्विन राउत र विवेक मण्डल तीनैजनाको दुःखद अन्त्य भइसकेको छ ।

यसरी तीन दिनभित्रमा देशका तीनजना कर्णधार युवक र प्रबुद्ध नागरिकहरूले आत्मदाह गर्नु कुनै साधारण व्यक्तिगत संयोग वा मानसिक कमजोरीको आकस्मिक विस्फोट होइन । उनीहरूमा मानसिक समस्या थियो भन्ने कदापि मान्न सकिँदैन । यो त एउटा प्रवृत्ति बनिरहेको सङ्केत हो ।

यो राज्यको संस्थागत क्रूरता, अमानवीय कर्मचारीतन्त्र र ‘नयाँ’ भनिएको शक्ति संरचनाले खडा गरेको ‘पुलिस स्टेट’ को प्रत्यक्ष परिणाम हो । यो आलेख यसै विषयमा केन्द्रित रहनेछ ।

सर्वप्रथम हामीले गणेश नेपालीको घटना हेर्ने हो भने यो ‘करमुखी’ र ‘जरिवानामुखी’ शासन व्यवस्थाको क्रूरताको परिणाम हो । सुरुवाती सूचनाहरूले गणेश नेपाली राहदानी बनाउने लाममा रहेको बताइए पनि वास्तविक तथ्य अझ बढी हृदयविदारक र आक्रोशपूर्ण छ ।

२५ वर्षीय गणेश त्यहाँ राहदानी बनाउन गएका थिएनन् । उनी त आफ्नै देशमा पसिना बगाएर बाँचिरहेका एउटा श्रमजीवी राइडर (चालक) थिए, जो त्रिपुरेश्वरमा यात्रु ओरालेर सायद अर्को राइडको पर्खाइमा थिए । तर, नगरप्रहरी र ट्राफिकको ‘जरिवानामुखी’ गिद्धे नजरले उनलाई देख्यो । उनले पार्किङ गरेकै थिएनन्, उनी गुडिरहेको जिन्दगीको एउटा गुडिरहेको पाङ्ग्रा थिए । तर, राज्यले उनको त्यही पाङ्ग्रामा ‘ह्विल–लक’ लगाइदियो र जरिवानाको नाममा सडकमै अपमान गर्‍यो ।

राज्य जब आफैँ नागरिकको गाँस खोस्ने र आत्मसम्मान कुल्चने शोषक बन्छ, तब नागरिकसँग गुमाउनका लागि केही बाँकी रहँदैन, सिवाय ज्यान ।

अहिले त्यही बालेनकालीन ‘जरिवानामुखी र दण्डात्मक’ नीतिलाई अझ बढी क्रूरताका साथ निरन्तरता दिइरहेका छन् उनी । तीन तहका सरकारका लागि अहिले नागरिक मानिस होइनन्, केवल जरिवाना असुल्ने ‘रसिद’ बनेका छन् ।

यो अमानवीयताको बीजारोपण काठमाडौँ महानगरपालिकामा मेयरका रूपमा बालेन शाहको उदयसँगै ‘क्लिन काठमाडौँ’ को नाममा सुरु भएको पपुलिजमबाट उदाएको हो । मेयर बालेन शाहकै कार्यकालमा नगरप्रहरीलाई बलियो बनाउने नाममा सडकका साना व्यवसायी, ठेलागाडा, फुटपाथमा व्यवसाय गरी जीवन निर्वाह गर्ने गरिब वर्ग र राइडरहरूमाथि निर्मम जरिवाना र करको डन्डा बर्साउने नीतिगत संरचना तयार पारियो ।

अहिले त्यही बालेनकालीन ‘जरिवानामुखी र दण्डात्मक’ नीतिलाई अझ बढी क्रूरताका साथ निरन्तरता दिइरहेका छन् उनी । तीन तहका सरकारका लागि अहिले नागरिक मानिस होइनन्, केवल जरिवाना असुल्ने ‘रसिद’ बनेका छन् । फुटपाथमा मकै बेचेर गुजारा गर्ने बूढी आमाहरूको चुलोमा लात हानेर भत्काउने र ठेलागाडा खोस्ने कार्यलाई सामाजिक सञ्जालमा ‘हिरोइज्म’ को रूपमा बेचियो ।

टिकटक र रिल्समा गरिबको रोदनमाथि ताली बजाउने जुन क्रूर संस्कृति निर्माण गरियो, त्यसैको तार्किक र अन्तिम परिणाम आज त्रिपुरेश्वरको सडकदेखि बुद्धनगरको गलीसम्म देखिरहेको छ ।

अर्कोतर्फ, सर्लाहीका विवेक मण्डल विज्ञान विषयमा स्नातकोत्तर उत्तीर्ण गरी केही वर्ष स्कुलमा अध्यापकको रूपमा कार्य गरे पनि स्थानीय राजनीतिक खिचातानीका कारण एक वर्षपहिले उनले जागिर गुमाएका थिए र बेरोजगार थिए । उनको आत्मदाहको मुख्य कारण बेरोजगारी नै हो ।

यसरी, प्रेमप्रसाद आचार्य, गणेश नेपाली, विवेक मण्डल र आश्विन राउतको आत्मदाह र त्यसको प्रयासलाई बुझ्नका लागि आजभन्दा डेढ दशकअघिको एउटा घटनालाई बुझ्नुपर्ने हुन्छ । सन् २०१० को डिसेम्बरमा ट्युनिसियाको सानो सहर सिदी बौजिदमा स्नातक गरेका २६ वर्षीय युवा मोहम्मद बुअजीजीले फलफूल बेचेर आफ्नो परिवार पालिरहेका थिए ।

उनीसँग कुनै भनसुन गर्ने माध्यम थिएन, न त नगरपालिकाका भ्रष्ट कर्मचारीलाई बुझाउने घूसका लागि पैसा नै । ठिक गणेश नेपालीको बाइकमा एउटा महिला नगरप्रहरीले ‘ह्विल–लक’ लगाइदिएजस्तै एक दिन त्यहाँको स्थानीय महिला नगरप्रहरीले बुअजीजीको ठेलागाडा खोसिन्, उनको तराजु सडकमा फालिदिइन् र सार्वजनिक रूपमा उनको गालामा थप्पड हानिन् ।

‘चमेली क्रान्ति’ ले के स्थापित गरिदियो भने राज्यले नागरिकको पेट र आत्मसम्मानमाथि निरन्तर प्रहार गर्छ भने एउटा सानो झिल्कोले पनि सिङ्गो साम्राज्य ध्वस्त पार्न सक्छ ।

आफ्नो आजीविकाको साधन खोसिएको र आत्मसम्मान कुल्चिएको त्यो अपमान सहन नसकी बुअजीजीले गभर्नर कार्यालयको प्राङ्गणमा आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे । बुअजीजीको त्यो बलिरहेको शरीर क्रूर तानाशाही सत्तामा उकुसमुकुस भइरहेका ट्युनिसियाका लाखौँ उत्पीडित युवाहरूको साझा आक्रोशको प्रतीक बन्यो ।

त्यसले सिङ्गो अरब जगत्मा एउटा अभूतपूर्व राजनीतिक भूकम्प ल्याइदियो, जसलाई संसारले ‘चमेली क्रान्ति’ (ज्यास्मिन रिभोलुसन) वा अरब क्रान्तिका नामले चिन्छ । बुअजीजीको सहादतले ट्युनिसियाका तानाशाह जीन एल अबिदिन बेन अलिको २३ वर्ष लामो शासन मात्र ढालेन, बरु इजिप्टका होस्नी मुबारक र लिबियाका मुअम्मर गद्दाफीजस्ता क्रूर शासकहरूलाई पनि यसले बढारिदियो ।

‘चमेली क्रान्ति’ ले के स्थापित गरिदियो भने राज्यले नागरिकको पेट र आत्मसम्मानमाथि निरन्तर प्रहार गर्छ भने एउटा सानो झिल्कोले पनि सिङ्गो साम्राज्य ध्वस्त पार्न सक्छ । नेपालका प्रेम आचार्य, गणेश नेपाली, विवेक मण्डल र आश्विन राउतको पृष्ठभूमि र छटपटी हेर्दा उनीहरूभित्र त्यही ट्युनिसियाका मोहम्मद बुअजीजीको आत्मा र आक्रोश देखिन्छ ।

यसरी बुअजीजी, प्रेमप्रसाद र गणेशहरू आत्मदाहको बाटो किन रोज्छन् ? अथवा यस्तो त्रासदीपूर्ण निर्णयमा पुग्न उनीहरूलाई कसले वा कुन परिस्थितिले बाध्य पार्छ ? यस प्रकारको त्रासदीलाई मनन गर्न हामीले आर्थिक–सामाजिक र मनोवैज्ञानिक चिन्तनका गहिरा चिसा कुनाहरू छाम्नुपर्ने हुन्छ ।

विश्वप्रख्यात फ्रान्सेली समाजशास्त्री एमाइल दुर्खाइमले आफ्नो प्रसिद्ध कृति ‘सुसाइड’ मा ‘आत्महत्या’ का सम्बन्धमा यसरी व्याख्या गरेका छन् : ‘आत्महत्या कुनै विशुद्ध व्यक्तिगत कृत्य होइन । यो त समाज र राज्यभित्रको संरचना कति बिरामी वा मृतप्रायः छ भन्ने कुराको अकाट्य मापक हो ।’

दुर्खाइमका अनुसार जब समाजमा स्थापित नियम–कानुनहरूले नागरिकको आकाङ्क्षालाई न्याय दिन सक्दैनन् र राज्य केवल शोषक बन्छ, तब ‘अनोमी’ अर्थात् नियमहीनता र सामाजिक शून्यताको स्थिति पैदा हुन्छ । नेपालको आजको गिग–इकोनोमी, श्रमबजार र मध्यमवर्गीय व्यावसायिक क्षेत्र यही ‘अनोमी’ को सिकार भएको छ । यहाँ दिनरात पसिना बगाउँदा पनि नागरिकले आफ्नो न्यूनतम आत्मसम्मान जोगाउन त परको कुरा, घरायसी जिम्मेवारी पूरा गर्न सकिरहेको छैन । दिनप्रतिदिन ऋणको जालोमा जेलिँदै गइरहेको छ ।

गरिबीमाथि झन् गरिबी थपिँदै गइरहेको छ । यद्यपि, सरकार समर्थक र सत्तापक्षका केही सांसदहरूले ‘कानुन सुरक्षाका लागि बनाउने हो न कि नागरिक सुरक्षाका लागि’ भनी कुतर्क गरिरहेका छन् ।

आत्महत्याकै सम्बन्धमा अर्का प्रसिद्ध राजनीतिक–अर्थशास्त्री अल्बर्ट हिर्स्चम्यानको एउटा स्थापित सामाजिक सिद्धान्त छ, जसले आत्महत्यालाई पलायन, आवाज र निष्ठा (एग्जिट, भ्वाइस र लोयल्टी) सँग जोडेर व्याख्या गरेको छ । हिर्स्चम्यान भन्छन्, ‘जब नागरिक व्यवस्था वा राज्यसँग असन्तुष्ट हुन्छन्, तब उनीहरू कि त सङ्गठित भएर विद्रोह गर्छन्, कि त त्यो व्यवस्थालाई त्यागेर पलायन (एग्जिट) रोज्छन् ।’

ट्युनिसियाका मोहम्मद बुअजीजी, नेपालका प्रेमप्रसाद र आजका गणेश, विवेक र आश्विन; यी सबै यही असहनीय मानसिक पीडा (साइक्याक) र प्रशासनिक अपमानको घट्टमा पिसिएका पात्र हुन् ।

गत साल भदौ २३–२४ गतेको युवाको विद्रोह नागरिक आवाजको चरम रूप थियो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालगायतका निकायहरूमा आगो लगाएर ध्वस्त बनाइदियो र त्यसकै खरानीबाट सत्ता प्राप्त गर्‍यो रास्वपाले । तर, इतिहासमै युवा बाहुल्य सरकार सत्तामा आएपछि पनि जब नीति र ब्युरोक्रेसीको चरित्र बदलिएन, प्रहरीको व्यवहार बदलिएन, तब गणेश नेपालीहरूको सङ्गठित आवाज व्यक्तिगत एक्लोपन (आइसोलेसन) मा परिणत भयो ।

गणेश नेपालीको घटना राहदानी विभागको प्रवेशद्वारबाहिर हुनु आफैँमा प्रतीकात्मक हो । राहदानी विभाग देशबाट पलायन हुने सबैभन्दा प्राथमिक बिन्दु हो । जब एउटा श्रमजीवी युवालाई आफ्नै देशमा ‘आवाज’ उठाउने ठाउँ रहँदैन र देशबाट सम्मानजनक रूपमा बाहिरिने बाटो पनि प्रशासनिक झन्झट र दलालीले धमिलो पारिदिन्छ, तब ऊ जीवनबाटै पलायन (एग्जिट) हुने खौफनाक निर्णयमा पुग्छ । विवेक मण्डल र आश्विन राउतको आत्मदाह यही ‘भ्वाइस’ र ‘एग्जिट’ का सबै ढोकाहरू राज्यले बन्द गरिदिएपछिको परिणाम हो ।

मनोवैज्ञानिक एडविन स्नाइडम्यानका अनुसार मानिसहरू मृत्यु आत्मसात् गर्नका लागि मर्दैनन्, बरु उनीहरू त आफ्नो मस्तिष्कभित्रको असहनीय मानसिक पीडा र अपमानको दर्द, जसलाई उनले ‘साइक्याक (Psychache)’ र ‘कग्निटिभ टनेल भिजन (Cognitive tunnel vision)’ भनेका छन्, त्यसलाई रोक्नका लागि अन्तिम कदम चाल्छन् ।

ट्युनिसियाका मोहम्मद बुअजीजी, नेपालका प्रेमप्रसाद र आजका गणेश, विवेक र आश्विन; यी सबै यही असहनीय मानसिक पीडा (साइक्याक) र प्रशासनिक अपमानको घट्टमा पिसिएका पात्र हुन् । संसद् वा सरकारी कार्यालयको द्वारमै वा राज्यको नाकैमुनि आत्मदाह गर्नु ‘द अल्टिमेट प्रोटेस्ट’ अर्थात् अन्तिम विरोध हो ।

उनीहरू आफ्नो शरीर जलाएर बहिरो र अन्धो सत्तालाई ‘तिम्रो राज्य यति धेरै क्रूर र निर्लज्ज छ कि तिम्रो अपमान र पीडा सहनुभन्दा खरानी भएर जल्नु बेस हो’ भनी चुनौती दिइरहेका हुन्छन् ।

इतिहास साक्षी छ, जब ०७९ मा प्रेमप्रसादले आत्मदाह गरे, तब काठमाडौँका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेसबुकमा लामा–लामा भावुक स्ट्याटस लेखेर प्रणालीलाई सरापेका थिए । रवि लामिछानेले त प्रेमप्रसादको सुसाइड नोटलाई आफ्नो ‘राजनीतिको घोषणापत्र’ नै भन्थे । बालेन शाहले पनि राज्य संयन्त्रको असफलतामाथि कडा प्रहार गर्दै आत्मदाहको मूल कारक राज्य हो भनेका थिए ।

तर, आज वास्तविकता के छ ? सत्ताको स्वाद चाख्नेबित्तिकै रवि लामिछाने र रास्वपाका नयाँ अनुहारहरू त्यही शोषक प्रणालीको अन्धभक्त अङ्ग बनेका छन् । गत शुक्रबार संसद्मा जब गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको लास देखाउँदै, ‘महानगरको प्रहरीले ह्विल–लक लगाएको हो, सङ्घीय सरकारको के दोष ?’ भन्दै राजनीतिक गैरजिम्मेवारीको पराकाष्ठा देखाए, तब संसद्मा परिवर्तनको नारा दिएर छिरेका तिनै नयाँ र युवा सांसदहरूले टेबुल ठटाएर उनको समर्थन गरेको देखियो ।

गृहमन्त्रीले स्थानीय सरकारलाई दोष दिएर कुनै पनि हालतमा पन्छिन मिल्दैन ।

हुन त बालेन शाहले नेपाल–भारतको सीमाका विषयमा ‘हामीले पनि भारतको सीमा मिचेका छौँ’ भन्दा वा कूटनीतिक रूपमा हल गरिनुपर्ने विषयलाई अति नै असंवेदनशील ढङ्गले जसरी उप्काए, ती सांसदहरूले त्यसमा पनि ताली बजाएका थिए ।

यसले एउटा भयानक सत्य उजागर गरिदियो : उमेरले युवा हुनु भनेको सोच र चिन्तनमा पनि युवा हुनुको ग्यारेन्टी होइन । यी नयाँ अनुहारहरू पुराना दलभन्दा पनि बढी आत्ममुग्धतामा रमाइरहेको सर्वत्र छताछुल्ल छ ।

गृहमन्त्रीले स्थानीय सरकारलाई दोष दिएर कुनै पनि हालतमा पन्छिन मिल्दैन । नेपालको संविधानको धारा २३२ ले सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्धको परिकल्पना गरेको छ । तीन तहबिचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुनेछ भनी उल्लेख गरिएको छ ।

तर विडम्बना, सिंहदरबारले न आफ्नो मातहतको अधिकार प्रदेशलाई हस्तान्तरण गर्न चाहन्छ, न प्रदेशले स्थानीय तहलाई । जब राज्यले नागरिकलाई अधिकार दिनुको साटो केवल ‘जरिवाना असुल्ने मेसिन’ का रूपमा हेर्छ, तब समन्वयको अभावमा यस्तै त्रासदीहरू जन्मिन्छन् ।

प्रेमप्रसाद आचार्य, गणेश नेपाली, विवेक मण्डल र आश्विन राउतको बलिरहेको शरीरले नेपालका आम युवा र प्रबुद्ध नागरिकहरूलाई एउटा ऐतिहासिक पाठ सिकाएको छ । अब केवल अर्को ‘जाँचबुझ समिति’ को आश्वासनमा चुप लागेर बस्नु वा लुकेर डिप्रेसनमा जानु विकल्प होइन । यदि व्यवस्था सुधार्नु छ भने एक्लै कोठामा वा सडकको कुनामा जलेर सकिने होइन, बरु यो क्रूर सत्ताको जरा हल्लाउनका लागि सङ्गठित र शान्तिपूर्ण वैचारिक विद्रोहको आवश्यकता छ ।

नेपालका युवाहरूका लागि अब फेसबुक र टिकटकमा भावुक स्ट्याटस लेख्ने वा अरूको रोदनमा ताली बजाउने समय सकिएको छ । ट्युनिसियाका युवाहरूले जस्तै अब नेपालका प्रत्येक राइडर, डेलिभरी ब्वाइ, साना फुटपाथ व्यवसायी र गाउँ–सहरका उत्पीडित तथा बेरोजगार युवाहरूले एकताबद्ध भई नीतिगत सुधारका लागि दबाब सिर्जना गर्नैपर्छ ।

यो दबाब कुनै हिंसा वा अराजकताका लागि होइन । यो त नागरिकलाई केवल ‘कर/जरिवाना असुल्ने मेसिन’ सम्झिने राज्य संयन्त्रको क्रूर चरित्रविरुद्धको शान्तिपूर्ण प्रतिरोधात्मक चेत हो ।

यदि सिंहदरबारमा बस्ने शासकहरू र संसद्मा टेबुल ठटाउने युवा सांसदहरूले समयमै यो आगोको रापलाई बुझेनन् भने, उनीहरूले बुझ्नुपर्छ : आज विवेक मण्डलहरूको बेरोजगारी र गणेश नेपालीहरूको बाइकमा लागेको ‘ह्विल–लक’ ले भोलि उनीहरूको सत्ताको रथलाई पनि सदाका लागि धुवाँमा परिणत गरिदिनेछ ।

गणेश, विवेक र आश्विनको आक्रोशले नेपालमा एउटा शान्तिपूर्ण ‘चमेली क्रान्ति’ को बिगुल फुकिसकेको छ । किनभने, गरिबको चमेली बोल्दिने कोही छैन तिम्रा लागि !

(भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. कुशवाहा सुशासन पाठशाला रिसर्चका डाइरेक्टर हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राजेश्वर कुशवाहा
डा. राजेश्वर कुशवाहा
लेखकबाट थप