प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
सारांश
- सांसदहरूले सञ्चार गृहमाथि अवाञ्छित दबाब, बाढी-पहिरो, वैदेशिक रोजगारीका समस्या र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण गराएका छन्।
- उनीहरूले सञ्चार गृह र राजनीतिक नेतृत्वको निवासअगाडि गाडी तेर्स्याएर आतङ्क सिर्जना गर्ने गतिविधि लोकतन्त्रका लागि घातक भएको भन्दै छानबिनको माग गरेका छन्।
- सुकुम्बासीको डुबान, नागरिकको मानसिक स्वास्थ्य, वैदेशिक रोजगारीमा ठगी, राइड सेयरिङ श्रमिकको समस्या, घरभाडा, नदी प्रदूषण, खानेपानी, विद्युतीकरण, स्वास्थ्य सेवा र सरकारी गाडीको दुरुपयोग जस्ता विषयमा पनि सांसदहरूले आवाज उठाएका छन्।
काठमाडौँ । सांसदहरूले सञ्चार गृहमाथि भएको अवाञ्छित दबाब, बाढी–पहिरोको वितण्डा, वैदेशिक रोजगारीका समस्या र नागरिकका दैनिक जीवनसँग जोडिएका विविध मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले सुशासन र नागरिक सुरक्षाको प्रत्याभूति गर्न माग गरेका हुन्।
सांसदहरू बलावती शर्मा, भरतबहादुर खड्का, मोहम्मद फिर्दोस आलम र रेनुका काउचाले चर्चित सञ्चार गृह र राजनीतिक नेतृत्वको निवास अगाडि नाटकीय रूपमा गाडी तेर्स्याएर आतङ्क सिर्जना गरिएको भन्दै आपत्ति जनाए। सञ्चार जगत्लाई मनोवैज्ञानिक दबाबमा राख्ने यस्ता गतिविधि लोकतन्त्रका लागि घातक भएको उल्लेख गर्दै उनीहरूले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।
सांसद बलावती शर्मा, भीम कुमारी बुढा मगर र रेनुका काउचाले सुकुम्बासी बस्तीमा भएको डुबान र उनीहरूको आवासको अधिकारबारे सरकारको ध्यानाकर्षण गराए। गणेश नेपालीको असामयिक निधन र सुकुम्बासीहरूको बिचल्ली भएको विषयमा बोल्दै उनीहरूले राज्यले मानवीय संवेदनालाई कुल्चिने हर्कत गर्न नहुने बताए।
सांसद रीमा विश्वकर्माले नागरिकको मानसिक स्वास्थ्य र आत्मदाहका घटनाहरूप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिइन्। सांसद बासना थापाले रुस–युक्रेन युद्धमा परेर बेपत्ता भएका प्रकाश विष्ट लगायत नेपालीहरूको वास्तविक अवस्था सार्वजनिक गर्न र खोजी कार्य तीव्र बनाउन माग गरिन्।
त्यस्तै, सांसद विश्वराज पोखरेलले ओखलढुङ्गा लगायत देशका विभिन्न भागबाट वैदेशिक रोजगारीमा गएका युवाहरू ठगी र शोषणमा परेको भन्दै विदेशी भूमिमा आफ्ना नागरिकको सुरक्षा र सम्मान सुनिश्चित गर्न दूतावासहरूलाई सक्रिय बनाउन आग्रह गरे।
सांसद विदुषी राणा र राधिका रामतेलले राइड सेयरिङ तथा डेलिभरी सेवामा कार्यरत श्रमिकहरूको कानुनी पहिचान, सामाजिक सुरक्षा र बीमा सुनिश्चित गर्न माग गरे। उनीहरूले वर्षा र व्यस्त समयमा राइड सेयरिङ कम्पनीहरूले लिने अस्वाभाविक भाडा नियन्त्रण गरी पारदर्शी प्रणाली लागू गर्न सरकारसँग माग गरे।
यसैगरी, सांसद रमेश प्रसाईँले घरभाडाको वैज्ञानिक मापदण्ड बनाउन र बहालमा बस्नेहरूको हित संरक्षण गर्न ध्यानाकर्षण गराए। सांसद बुद्धिप्रसाद पन्तले वीरगन्जको प्राचीन सिर्सिया नदीमा उद्योगहरूको रासायनिक प्रदूषणका कारण आएको विकराल समस्याबारे बोले।
सांसद बुद्ध रत्न महर्जन र रमेशकुमार मल्लले ललितपुर र सल्यानका विभिन्न क्षेत्रमा खानेपानी र विद्युतीकरणको समस्या समाधान गर्न माग गरे। सांसद महेन्द्रबहादुर शाही, रुपेश रन्जित र भूमिका लिम्बू सुब्बाले वर्षायाममा हुने बाढी–पहिरो र सडक अवरोधले निम्त्याएको मानवीय सङ्कटप्रति सरकारको पूर्वतयारी शून्य रहेको भन्दै तत्काल उद्धार र राहतका लागि युद्धस्तरमा काम गर्न आग्रह गरे। सांसद मधुकुमार चौलागाईंले काभ्रेको खानीखोलामा स्वास्थ्य सेवाको अभावमा सुत्केरीले भोग्नुपरेको पीडा प्रस्तुत गरे।
सांसद रमेशकुमार सापकोटाले कर्णालीका स्वास्थ्य चौकीहरूको जीर्ण अवस्था सुधार्न माग गरे। सांसद माधवबहादुर थापाले सरकारी गाडीको दुरुपयोग रोक्न र मर्मतका लागि प्रादेशिक महाशाखा स्थापना गर्न सुझाव दिए। साथै, सांसद राजिव खत्रीले ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षणमा हुने बिचौलियाको चलखेल र अवैध असुलीमाथि छानबिन गर्न माग गरे। बैठकमा सांसदहरूले जनसरोकारका यी विषयहरूमा सरकारले संवेदनशीलता नदेखाएको भन्दै संसद्मार्फत जवाफदेही बन्न अपिल गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री रावलको भाइरल भिडियो : के भएकाे थियाे ?
-
जोखिमयुक्त सडक वर्षाको समयमा बन्द गरेर भए पनि नागरिकको सुरक्षा गरिन्छ : मन्त्री लम्साल
-
चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता
-
सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
-
भवन र शय्या हुनु मात्रै बर्न उपचारको सुनिश्चितता होइन : खुश्बु ओली
-
मन्त्रीको सम्बोधनका क्रममा अवरोध र दोहोरो प्रश्न गरेको भन्दै बुर्लाकोटीद्वारा नियमापत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण