जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान डम्पिङ साइटमा परिणत
सारांश
- जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान फोहरले ढाकिएका कारण सहरको सौन्दर्य बिग्रेको छ ।
- यो मैदान अहिले फोहर फाल्ने डम्पिङ साइटका रुपमा परिणत भएको छ, जहाँ अस्पतालजन्य फोहरसमेत विसर्जन गरिन्छ ।
- ऐतिहासिक स्थलको संरक्षण र व्यवस्थापनमा सरोकारवाला निकायको उदासीनताले राजधानीको छविमा असर पुगेको छ ।
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले नेपालकै महत्त्वपूर्ण सहर हो । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र माता सीताको जन्मभूमिका रूपमा विश्वभर प्रसिद्ध यो सहरमा हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी धार्मिक पर्यटक आउने गर्छन् । जनकपुरकै बिच भागमा रहेको जानकी मन्दिर यो सहरको मुख्य आकर्षणको केन्द्र हो ।
‘५२ कुटी, ७२ कुण्ड’ को उपमा पाएको यो सहरभित्र विभिन्न मठ–मन्दिर, पोखरी तथा धार्मिक सम्पदा छन् । जानकी मन्दिरबाट करिब ५ सय मिटर पश्चिममा रहेको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान फोहरले ढाकिएका कारण सहरको सौन्दर्य बिगारेको मात्र होइन, सहरप्रति नै पर्यटक विकर्षित हुने गरेका छन् ।
मन्दिर दर्शन गर्न जाने मुख्य मार्गमै पर्ने यो रंगभूमि मैदानको दुर्दशाले मधेस प्रदेशमा हुने विकास र संरक्षणको अवस्था झल्काएको छ । बाह्र बिघा मैदान अहिले फोहर फाल्ने डम्पिङ साइटका रुपमा परिणत भएको छ । यो मैदान प्रवेश गर्ने मुख्यद्वारमै फोहरको डंगुर थुप्रिएको पाइन्छ भने भित्र छिर्नासाथ मास्क किन लगाएर आएएन भन्ने पिरलो हुन्छ ।
मैदानभित्रै दर्जनौँको सङ्ख्यामा भैंसी, गाई, बाख्रा चरिरहेका पाइन्छन् । मैदान वरिपरि कैयौँ निजी अस्पताल छन् । तीमध्ये कतिपय अस्पतालले सङ्क्रमणयुक्त फोहर पनि यही मैदानमा विसर्जन गर्ने गरेका छन् ।
वर्षाको बेला विसर्जन गरिएका अस्पतालजन्य फोहोर बाह्रबिघा मैदानमा जमेको पानीमा तैरिइरहेको देखिन्छ । यही बाह्र बिघाको बिच बाटो प्रयोग गर्दैै पर्यटक तथा नगरवासी आउजाउ गर्छन् । वर्षायाम सुरु भएसँगै यो बाटो प्रयोग गर्नेहरुले निकै सास्ती व्यहोर्नुपर्छ ।
बाह्रबिघा छेउमै रहेको वडा नं १० का स्थानीय राजु कर्णले भने, ‘पञ्चायतकालमा त बरु यो बाह्रबिघा केही हदसम्म संरक्षित र सफा थियो, तर अहिले प्रदेश सरकारसँगै स्थानीय तह त्यति बलियो भएर आएको छ, तै पनि यसको संरक्षणमा ध्यान पुगेको छैन ।’

यसको व्यवस्थापन नहुनुमा मुख्य दोषी जनकपुर उपमहानगरपालिका, बृहत्तर क्षेत्र विकास समिति रहेको कर्ण बताउँछन् । उनले भने, 'यस्तो ऐतिहासिक स्थलको मुख्य संरक्षण गर्ने दायित्व उनीहरुको हो नि । जनप्रतिनिधि नै यो बाह्रबिघा छेउको बाटो प्रयोग गर्दै दिनहुँ हिँड्छन् । गाडीमा कुद्छन्, तर यसको संरक्षण र सम्बर्धनमा उनीहरुको ध्यान जाँदैन ।’
कुनै समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, राजनीतिक सभा तथा विभिन्न सार्वजनिक गतिविधिको केन्द्र बन्ने गरेको यो मैदान अहिले दुर्गन्ध, फोहोर र बेवास्ताको प्रतीक बनेको छ ।
‘यो मैदानले क्रिकेट र फुटबलका धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माएको छ । ती खेलाडीले नेपालको नाम दुनियाँभरि फैलाएका छन्, तर अहिले यसको दुर्दशा हेर्दा देश हाँक्ने खेलाडीहरुप्रति भने रिस उठेर आउँछ,’ स्थानीय खेलकुदकर्मी रमेश मल्लिकले भने, ‘यसको साख जोगाउन र यसको अवस्था सुधार्न स्थानीयवासी नै एकजुट हुनुको विकल्प छैन ।’
मैदान वरिपरि फैलिएको दुर्गन्धका कारण मैदानको छेउमा रहेको सडकमा दैनिक आवतजावत गर्ने सर्वसाधारण नाक थुनेर हिँड्न बाध्य हुन्छन् । नियमित सरसफाइ र उचित व्यवस्थापन नहुँदा राजधानीकै प्रमुख सार्वजनिक स्थलको अवस्था बेहाल छ । जनकपुरमा भव्यताका साथ मनाइने विवाह पञ्चमी, सरसफाइ दिवस, कुनै विशेष समारोहमा यो मैदान सरसफाइ गरिन्छ तर त्यसरी एक दिन सफाइमा जुटेर अन्य दिन फोहर थुपार्नु गैरजिम्मेवारीको हद भएको जनकपुर-४ का स्थानीय अमरेशकुमार सिंहले भने ।
‘बाह्रबिघालाई व्यवस्थित बनाउने हो भने पहिला यसमा माटो भर्ने, चारैतिर जम्ने पानीको निकास व्यवस्थापन गरेपछि बल्ल यसको अवस्थामा सुधार आउँछ,’ उनले भने ।
सरकार परिवर्तन भए, देशमा संघीयता पनि आयो, जनप्रतिनिधि फेरिए, विभिन्न विकास निर्माण र योजनाहरु घोषणा भए, तर बाह्रबिघा मैदानको सुधारका लागि प्रभावकारी काम कतैबाट हुन सकेको छैन । मैदानको संरक्षण, सौन्दर्यीकरण र सरसफाइका विषयमा सम्बन्धित निकायले चासो नदिएको भन्दै नागरिकमा असन्तुष्टि देखिएको छ ।
स्थानीय सामाजिक अगुवा सरोज मिश्रले भने, ‘बाह्रबिघाको स्वामित्वको विवादलाई स्थानीय तह र बृहत्तर क्षेत्र विकास समितिले जुँगाको लडाइँ बनाएपछि यसको विकासमा अवरोध भएको हो ।' उनले गत वर्ष प्रदेश सरकारले यसको संरक्षणका लागि बजेट छुट्ट्याए पनि यी दुई संस्थाकै कारण काम हुन नपाएको गुनासो गरे ।
एक दशक अघि बाह्रबिघा मैदानको चारैतिर रहेको पर्खालको अवस्था जीर्ण बनेपछि भारतीय राजदूतावासले ५० करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइ बाह्रबिघा मैदानमा पर्खाल, गंगासागर र धनुषसागर पोखरीका डिल निर्माणको काम भएको थियो । तर ती काम गुणस्तरहीन भएपछि तत्कालीन बृहत्तर क्षेत्र विकास समितिका अध्यक्ष दिगम्बर रायसहित १३ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

मधेस प्रदेशकै राजधानी त्यसमा पनि सांस्कृतिक, धार्मिक स्थलको धरोहर यस ऐतिहासिक स्थलप्रति प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायको ध्यान किन पुग्न सकेन भन्ने प्रश्न अहिले स्थानीयले उठाइरहेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा देखिएको उदासीनताले राजधानीको छविमै असर पुगको उनीहरूको भनाइ छ ।
बाह्रबिघा जस्तो ऐतिहासिक स्थल अहिले भारत तथा अन्य जिल्लाबाट आउने पर्यटकहरुका बस, जिप,तथा नगर क्षेत्रमै चल्ने ईरिक्साहरुको पार्किङ स्थल बनाइएको छ । रामानन्द चोकबाट जानकी मन्दिर जाने मूल सडकमा पर्ने यो मैदानको मुख्यद्वारमा दर्जनौँ ४ पाङ्ग्रे ठेलामा फलफूल, कपडा लगायतका सामानकाे व्यापार हुने गरेको छ । जानकी मन्दिर दर्शन गर्न आउने हजारौँ पर्यटकले बाह्रबिघा मैदानको अस्तव्यस्त अवस्था देखेर दिक्क मान्ने गरेका छन् ।

भारतको उत्तर प्रदेशबाट जानकी मन्दिर दर्शन गर्न आएका रामउदार साह बाह्रबिघामै पार्किङ गरिएको बसबाट ओर्लन नपाउँदै नाक थुन्न बाध्य भए । उनले भने, ‘तिर्थस्थल भनेपछि अलि व्यवस्थित हुनुपर्छ नि, कस्तो फोहोर र दुर्गन्ध भएको ठाउँ रहेछ ।’
बाह्रबिघा मै पार्किङ गर्ने ईरिक्सा, ट्याक्सी तथा एम्बुलेन्स चालकहरुले पनि ऐतिहासिक मैदान दुरावस्थामा पुगेको भन्दै चिन्ता प्रकट गरे ।राजधानीको पहिचान केवल प्रशासनिक केन्द्रका रूपमा मात्र नभई सार्वजनिक स्थलको संरक्षण, सुरक्षित वातावरण, पूर्वाधार र विकास निर्माणले वास्तविक छवि निर्माण गर्ने हुँदा ऐतिहासिक बाह्रबिघा मैदानको संरक्षण र व्यवस्थापनमा सबै निकाय एकजुट हुनुपर्ने स्थानीयबासीको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण