बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण

बुधबार, ३१ असार २०८३, १५ : ०५
बुधबार, ३१ असार २०८३

सारांश

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यविरुद्धको कसुरमा मतियार ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले थुना बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्।
  • जिल्ला अदालतले खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना फैसला सुनाएको छ, जसमध्ये उनले यसअघि ८ महिना कैद सजाय भोगिसकेका छन्।
  • मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार १० वर्षभन्दा कम सजाय भएको अवस्थामा उच्च अदालतमा पुनरावेदन गर्दा थुना बाहिरै बसेर मुद्दा लड्न पाउने व्यवस्था छ।

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यविरुद्धको कसुरमा मतियार ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले थुना बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्। 

जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मङ्गलबार खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ। खाण यसअघि ८ महिना कैद सजाय बसिसकेका छन् । अदालतको फैसला अनुसार अब खाणले १ वर्ष ४ महिना जेल सजाय बस्नुपर्नेछ।

खाणलाई जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएपनि उनी यसअघि उच्च अदालत पाटनको आदेशमा धरौटी बझाएर थुना बाहिर छन्।

जिल्ला अदालतको फैसला अन्तिम होइन । उनी यो फैसलाविरुद्ध उच्च अदालत पाटन जान पाउँछन्।

२ वर्ष मात्र सजाय तोकिएको हुनाले उच्च अदालतमा पुनरावेदन दिँदा उनले ‘थुनाबाहिरै बसेर मुद्दा लड्न पाउँ’ भनी निवेदन दिन सक्छन् र अदालतले त्यसलाई अनुमति दिन सक्छ।

जिल्ला अदालतको फैसलाले उनलाई दोषी ठहर गरे पनि सजायको अवधि छोटो (१० वर्षभन्दा कम) भएकोले उनलाई पुनरावेदनको टुङ्गो नलागुन्जेल जेलमै बस्नुपर्ने बाध्यात्मक अवस्था रहँदैन। 

नेपालको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ मा १० वर्षभन्दा कम सजाय भएको अवस्थामा माथिल्लो अदालतमा पुनरावेदन गर्दा जेल बाहिरै बसेर मुद्दा लड्न पाउने सुविधा व्यवस्था छ। 

खाणले जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै उच्च अदालतमा पुनरावेदन दिएमा र अदालतले उनको निवेदन स्वीकार गरेमा उनी मुद्दाको किनारा नलागुन्जेलसम्म जेल बाहिरै बस्न पाउनेछन्। 

तर, यदि उनले पुनरावेदन गरेनन् भने चाहिँ उनले तोकिएको २ वर्षको कैद मध्ये १ वर्ष ४ महिना कैद भुक्तान र २० हजार जरिवाना तिर्नुपर्ने हुन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप