कानुन मन्त्रालयले किन रोकिरहेको छ निजामती विधेयक ?
सारांश
- संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रोकिएको छ ।
- सामान्य प्रशासन मन्त्रालयले जेठ १२ गते पठाएको विधेयक अहिलेसम्म कानुन मन्त्रालयले फिर्ता नपठाएको हो ।
- विधेयकमा समेटिएको ३० वर्षे सेवा अवधि वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रावधानमा कानुनीभन्दा राजनीतिक निर्णय आवश्यक पर्ने देखिएको छ ।
काठमाडौँ । वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले ल्याउने तयारी गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रोकिएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठ १२ गते पठाएको विधेयक अहिलेसम्म कानुन मन्त्रालयले फिर्ता नपठाएको हो ।
सामान्य प्रशासन मन्त्रालयले गत वैशाख ११ गते विधेयकको मस्यौदा सार्वजनिक गर्दै ७ दिनभित्र राय सुझाव मागेको थियो । त्यसमा आएका सुझावसमेत समेटेर मन्त्रालयले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।
अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेर जेठ ६ गते सामान्य प्रशासन मन्त्रालयमा मस्यौदा फिर्ता पठाएको थियो । त्यसपछि अर्थ मन्त्रालयको सुझावसमेत समेटेर जेठ १२ गते कानुन मन्त्रालयमा स्वीकृतिका लागि पठाएकोमा अहिलेसम्म सो मस्यौदा फिर्ता नभएको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले विधेयक फिर्ता नगरिएको जानकारी दिए । ‘हो हामीले निजामती विधेयक फिर्ता गरेका छैनौँ । ठुलो विधेयक हो, फिर्ता गर्न ३ महिना पनि लाग्न सक्छ,’ सचिव ढुंगानाले रातोपाटीसँग भने, ‘हामीले प्राथमिकताका आधारमा काम गर्ने हो । त्योभन्दा बढी प्राथमिकताका विधेयक अरु थिए । दिनमा दुई–चार दफा अध्ययन भइरहेको छ । सकिएपछि पठाउँछौँ ।’
सचिव ढुंगानाले अहिले पनि मन्त्रालयमा २० ऐन पाइपलाइनमा रहेको जानकारी दिए । उनका अनुसार निजामती विधेयकभन्दा अध्यादेश र ती अध्यादेशका प्रतिस्थापन विधेयकलाई प्राथमिकतामा राख्नु पर्ने भएकाले केही ढिलाइ भएको हो ।
दुई मन्त्रालय निकट स्रोतका अनुसार विधेयकमा समेटिएका केही प्रावधानका कारण कानुन मन्त्रालयले निर्णय गरेर पठाउन नसकेको हो । विधेयकमा समेटिएको ३० वर्षे सेवा अवधि वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रावधानमा कुरा मिल्न नसकेको स्रोत बताउँछ । कानुन मन्त्रालय स्रोतले यो प्रावधानमा कानुनीभन्दा पनि राजनीतिक निर्णय गर्नुपर्ने भन्दै सामान्य प्रशासनमन्त्री र कानुनमन्त्रीबिच छलफल हुनुपर्ने देखिएको जनाएको छ ।
कानुनमन्त्री गौतमले यसमा प्रधानमन्त्री बालेन्द्र शाहको संकेत कुरिरहेकाले ढिलाइ भएको बताइन्छ । विधेयकको मुख्य विवादित विषय भनेको ३० वर्ष सेवा वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने तथा ३० वर्षभन्दा बढी अवधिको पेन्सन सुविधा नदिने व्यवस्था छ । यो प्रावधान कानुन बनेमा एकैपटक १० हजारभन्दा बढी अनुभवी कर्मचारी सेवा छाड्न बाध्य हुने र यसले संस्थागत स्मृतिलाई जोखिमपूर्ण बनाउने भन्दै विरोध हुँदै आएको छ । तर, औपचारिकरूपमा भने निजामती कर्मचारीहरूका संगठन सरकारले खारेज गरिसकेकाले कसैले विरोध गर्न सकेका छैनन् ।
सुशासन र प्रशासन सुधार आफ्नो प्रमुख एजेन्डा रहेको बताउने सरकारलाई सुधारको आधारभूत कानुन निजामती विधेयक नै लामो समयसम्म कानुन मन्त्रालयमा रोकिँदा अप्ठ्यारो परिरहेको छ ।
कानुन मन्त्रालयमा विधेयक किन लामो समयसम्म रोकियो भन्ने विषयमा प्रतिक्रिया लिन खोज्दा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीहरू जबाफ दिन तयार भएनन् । त्यसबारे कानुन मन्त्रालयमै सोध्नु भन्दै उनीहरू पन्छिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
-
त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण