बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
राजनीति

सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव

आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने
बिहीबार, ३२ असार २०८३, १४ : १०
बिहीबार, ३२ असार २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन भत्किएसँगै प्रमुख प्रतिपक्ष नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ ।
  • सरकार अल्पमतमा परिसकेको र सत्ता साझेदार दलले समर्थन फिर्ता लिइसकेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने ठहर पनि नेपाली कम्युनिस्ट पार्टीले गरेको छ ।
  • नेपाली कम्युनिस्ट पार्टीले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनका लागि पहल गर्ने र यसका लागि दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको छ ।

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन भत्किएसँगै प्रमुख प्रतिपक्ष नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको छ ।

बिहीबार धनगढीमा बसेको नेपाली कम्युनिस्ट पार्टी संसदीय दलको बैठकले सरकार अल्पमतमा परिसकेको भन्दै यस्तो अवस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेको हो ।

बैठकले विद्यमान राजनीतिक अवस्थामा सरकार अल्पमतमा परिसकेको र सत्ता साझेदार दलले समर्थन फिर्ता लिइसकेको अवस्थामा मुख्यमन्त्रीले राजीनामा दिइ मार्ग प्रशस्त गर्नुपर्ने ठहर पनि नेपाली कम्युनिस्ट पार्टीले गरेको छ ।

संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बसेको बैठकले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनका लागि पहल गर्ने र यसका लागि दलहरूसँग छलफल अघि बढाउने निर्णय गरेको नेपाली कम्युनिस्ट पार्टीका एक प्रदेश सभा सदस्यले जानकारी दिए ।

बैठकको निर्णय औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी छ । ‘मोटामोटी यिनै विषयमा छलफल भएर निर्णय गरेका छौँ,’ ती सांसदले रातोपाटीसँग भने, ‘निर्णय लेखेर सार्वजनिक गर्न बाँकी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप