बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
गणेश नेपाली मृत्यु घटना

हुन सकेन स्वतन्त्र छानबिन, पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन गर्न आलटाल

बिहीबार, ३२ असार २०८३, १६ : ११
बिहीबार, ३२ असार २०८३

सारांश

  • राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरी मृत्यु भएका गणेश नेपालीको घटनाको स्वतन्त्र छानबिन समिति गठनमा ढिलाइ भएको छ ।
  • सरकार र गणेशका परिवारबीच स्वतन्त्र छानबिन समिति गठन गर्ने सहमति भए पनि कार्यान्वयनमा प्रगति भएको छैन ।
  • डीआईजीको नेतृत्वमा प्रहरी समितिले छानबिन गरिरहेको छ, तर स्वतन्त्र समिति नबनेसम्म प्रतिवेदन तयार नगर्ने जनाएको छ ।

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि असार २५ मा आत्मदाह प्रयास गरेर उपचार क्रममा मृत्यु भएका गणेश नेपालीको घटना छानबिनमा आलटाल भइरहेको छ ।

असार २८ मा सरकार र गणेशका परिवारको बिचमा स्वतन्त्र छानबिन समिति गठन गर्ने सहमति भएको थियो । सरकारको तर्फबाट काठमाडौँ प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको सहमतिको पहिलो बुँदामा नै स्वतन्त्र छानबिन समिति गठन गर्ने उल्लेख थियो ।

सहमतिको पहिलो बुँदामा भनिएको थियो, ‘यस घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र समिति गठन गर्नेछ । उक्त समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ ।’

तर, सहमति भएको चार दिनसम्म पनि पहिलो बुँदाको सहमति कार्यान्वयन तर्फ कुनै प्रगति भएको छैन । असार ३० मा मन्त्रिपरिषद् बैठक बसे पनि समिति गठनबारे कुनै निर्णय भएको छैन । स्वतन्त्र छानबिन समिति गठन नभए पनि उपत्यका प्रहरी कार्यालयका डीआईजी नेतृत्वको समितिले भने घटनाबारे छानबिन गरिरहेको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलिया नेतृत्वको समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का, काठमाडौँ परिसरका एसपी पवन भट्टराई, डीएसपी विष्णु सोती र इन्स्पेक्टर वीरबहादुर थापा सदस्य छन् ।

सरकारसँगको सहमति अनुसार स्वतन्त्र छानबिन समिति गठन हुन सक्ने भन्दै डीआईजी नेतृत्वको समितिले आफ्नो प्रतिवेदन तयार गरेको छैन ।

मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीको पोस्टमार्टमपछि दाहारसंसकार गरिएको छ । परिवारले अहिले उनको मृत्युकर्म गरिरहेका छन् । छानबिनको क्रममा प्रहरीले त्यसबेला घटनास्थलमा रहेका २१ जनासँग सोधपुछ र घटनाविवरण कागज गराएको छ । प्रत्यक्षदर्शी र अन्य निकायसँग बुझ्ने काम भइरहेको छानबिन समितिका संयोजक गोविन्द थपलियाले बताए । उनले भने, ‘छानबिनको काम भइरहेको छ ।’

छानबिन समितिले घटनास्थलको सीसीटीभी फुटेज संकलन गरेर विश्लेषण गरिरहेको छ ।

आत्मदाह प्रयास गरेको दिन गणेश नेपाली ११ बजेर १५ मिनेटमा राहदानी विभागको ३ नम्बर गेटमा पुगेका थिए । गेटमा उनले चलाएको बाप्र०२–०६४ प ३२५० नम्बरको पल्सर मोटरसाइकलमा निषेधित क्षेत्रमा पार्किङ गरको भन्दै महानगर प्रहरीले ह्वील लक गरेपछि विवाद भएको थियो । महानगर प्रहरी मीना नगरकोटीसँग सुरुमा विवाद भएको थियो । प्रहरीले मिना नगरकोटी र अर्की नगर प्रहरी मिना तामाङसँग सोधपुछ गरिसकेको छ ।

विवाद बढेपछि घटनास्थलमा प्रहरी वृत्त कालिमाटीबाट खटिएका प्रहरी हवल्दार विकाश बुढाथोकी पुगेका थिए । सम्झाइबुझाइ गर्ने क्रममा बुढाथोकीले गणेशलाई झापड हानेको सीसीटीभी फुटेजमा देखिएको प्रहरी स्रोतको भनाइ छ । तर, जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले हवल्दारले झापड नहानेको बरु उद्धार गरेको दाबी गरे । 

गणेशलाई बा२ज १५८० नम्बरको ट्याक्सीमा राखेर वीर अस्पताल लैजाने हवल्दार बुढाथोकी नै रहेका प्रहरीले दाबी गरे पनि उद्धारमा संलग्न प्रहरी कर्मचारी नगर प्रहरी बलसँगै पछि गएका प्रहरी कर्मचारी रहेको थाहा भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । ह्वील लक गरेको मोटरसाइकल उठाउन नगर प्रहरीको गाडी सहितको टोली पछि घटनास्थलमा पुगेको थियो ।

मिना नगरकोटीसँग गणेशले प्रतिवाद गरेको भिडियो कुराकानी बाहिरिएको छ । नगर प्रहरीलाई गणेशले आफ्नो मोटरसाइकलमा मात्र ह्वील लक गरेर अरुकोमा किन लक नलगाएको भनेर प्रश्न गरेको भिडियोमा देखिन्छ । महानगर प्रहरीले ह्वील लक गरेपछि गणेश १ घण्टा १० मिनेट त्रिपुरेश्वरबाट बाहिरिएका थिए । फुटेजमा १२ बजेर १० मिनेटमा पेट्रोल निकालेको जस्तो दृश्य देखिन्छ । गणेशले १ बजेर ३७ मिनेटमा पेट्रोल छर्केर आफैलाई आगो लगाएका थिए । त्यो बिचको समयमा उनी कहाँ गएका थिए भन्नेबारे छानबिन समितिले अनुसन्धान गरिरहेको छ ।

छानबिन समितिका संयोजक डीआईजी थपलियाले हवल्दारले गणेशलाई झापड हानेको विषय क्लियर नआएको बताए । उनले भने, ‘त्यसबारे अनुसनधान भइरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप