सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने गरी आर्थिक क्रियाकलापलाई अघि बढाऔँ : राष्ट्रपति

आइतबार, ०३ साउन २०८३, १८ : ५८
आइतबार, ०३ साउन २०८३

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहाना र आकाङ्क्षालाई सम्बोधन गर्ने गरी उत्पादन रोजगारी र आर्थिक क्रियाकलापलाई तीव्र रूपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताएका छन्।
  • राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने, भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी देशलाई दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको र जलवायु परिवर्तन ठुलो चुनौती रहेको उल्लेख गरे।
  • उनले युवा इन्जिनियर/आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्रलाई आग्रह गरे।

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहना र आकाङ्क्षालाई सम्बोधन गर्ने गरी उत्पादन रोजगारी र आर्थिक क्रियाकलापलाई तीव्र रूपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताएका छन्। 

आइतबार इन्जिनियर्स एशोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए। 

राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकको सामु जलवायु परिवर्तन ठुलो चुनौतीका रूपमा रहेको उल्लेख गरे। 

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नै विकास र मानवीय हितका अनेकन आयामलाई सम्बोधन गर्दछ भन्ने कुरालाई बिर्सन नहुने भन्दै लोकतन्त्रको यो सौन्दर्यलाई केवल आदर्श मात्र होइन व्यवहार र आचरणमा अवलम्बन गर्न सकेमात्र लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुने बताए। 

राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच तथा इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिए मात्र आर्थिक समृद्धि र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पारे।

उनले दक्ष युवा रोजगारी र अवसरको खोजीमा बिदेसिने क्रम देशका लागि चिन्ताको विषय रहेको भन्दै युवा इन्जिनियर/आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न सरकार र निजी क्षेत्र सँग आग्रह गरे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप