बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे

बुधबार, ०६ साउन २०८३, ०६ : ३५
बुधबार, ०६ साउन २०८३

सारांश

  • युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेना प्रमुख ओलेक्सान्द्र सिस्र्कीलाई पदबाट हटाएका छन् ।
  • उनको स्थानमा ४३ वर्षीय मिखाइलो ड्रापातीलाई नयाँ सेना प्रमुख नियुक्त गरिएको छ ।
  • रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाएपछि देशभर सडक प्रदर्शन भएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका सेना प्रमुख (कमाण्डर–इन–चिफ) ओलेक्सान्द्र सिस्र्कीलाई पदबाट हटाएका छन् । यो निर्णय लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाएको केही दिनपछि आएको हो । फेदोरोभको बर्खास्तीले देशभर सडक प्रदर्शनको शिलशिला निम्त्याएको थियो ।

सुरुमा सिस्र्कीसँगको विवादका कारण फेदोरोभको पदावधि अन्त्य भएको भन्ने हल्ला चलेको थियो । यो हल्ला पछि पुष्टि भयो ।

३५ वर्षीय फेदोरोभ मन्त्रालयलाई सक्रिय बनाउने, सशस्त्र बलमा रूपान्तरण ल्याउने तथा भ्रष्टाचारविरुद्ध अभियानको नेतृत्व गर्ने कार्यका लागि व्यापक रूपमा प्रशंसित थिए । ६० वर्षीय सिस्र्कीलाई भने युक्रेनमा धेरैले सोभियत शैलीका सैन्य कमाण्डरका रूपमा हेर्थे, जो सेनामा आमूल परिवर्तन लागू गर्न रुचाउँदैन थिए ।

उनको स्थानमा ४३ वर्षीय मिखाइलो ड्रापाती नियुक्त भएका छन्, जो युद्धको अनुभव भएका र लोकप्रिय जनरल मानिन्छन् । मंगलबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियो सन्देशमा जेलेन्स्कीले सिस्र्कीलाई सन् २०२२ मा रूसले पूर्णस्तरीय आक्रमण सुरु गर्दा राजधानी किभको सफल रक्षासहित विभिन्न सैन्य अभियानका लागि धन्यवाद दिएका छन् ।

जेलेन्स्कीले सोही दिन आफूले फेदोरोभसँग भेट गरी उनलाई ‘सत्ताभित्र सम्मानजनक जिम्मेवारी’ प्रस्ताव गरेको पनि खुलासा गरे । तर उक्त प्रस्ताव उनले स्वीकार गरेका छन् वा छैनन् भन्नेबारे केही बताएनन् ।

गत साता फेदोरोभको स्थानमा युक्रेनको सुरक्षा सेवा (एसबीयू) का पूर्व उच्च अधिकारी येभहेनी ख्मारालाई नियुक्त गरिएको थियो । ‘सबै निर्णयहरू भोलि औपचारिक रूपमा कार्यान्वयन गरिनेछन्,’ जेलेन्स्कीले आफ्नो पोस्टमा थपे ।

यसैबीच, मिखाइलो फेदोरोभले ड्रापातीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै उनको नियुक्तिलाई ‘स्वतन्त्रता र न्यायका लागि स्वतन्त्र मानिसहरूको संघर्षमा नयाँ आशा’ को संज्ञा दिएका छन् ।

उनले यो ‘बेवास्ता गर्न नसकिने परिवर्तनको आवाज’ भएको पनि बताएका छन् ।

फेदोरोभले सिस्र्कीलाई फोन गरेर किभ क्षेत्रको रक्षा तथा अन्य ‘ऐतिहासिक युद्धहरू’ मा दिएको योगदानका लागि धन्यवाद दिएको पनि खुलासा गरे ।

‘तर अब हामीले अझ तीव्र गतिमा अघि बढ्नुपर्छ र विगतका सबै गल्ती सच्याउँदै नयाँ अध्याय लेख्नुपर्छ,’ उनले थपे ।

फेदोरोभ यसै वर्ष जनवरीमा मात्रै रक्षामन्त्री नियुक्त भएका थिए । तर उनले तथ्यांकको प्रयोग गरेर अग्रपङ्क्तिको कार्यसम्पादन विश्लेषण तथा सुधार गर्ने प्रयासका कारण व्यापक प्रशंसा पाएका थिए ।

यसअघि डिजिटल रूपान्तरण मन्त्री रहेका उनले रूसको पूर्णस्तरीय आक्रमण सुरु भएलगत्तै स्वयंसेवी ‘आईटी आर्मी अफ युक्रेन’ स्थापना गरी रूसविरुद्ध साइबर आक्रमण सञ्चालन गरेका थिए ।

पछि उनले ‘आर्मी अफ ड्रोन्स’ नामक सफल सहयोग संकलन अभियानको नेतृत्व गरे । साथै, युद्धमा ‘गेमिफिकेसन’को अवधारणा भित्रियाउँदै रूसी सैन्य लक्ष्यमा प्रहार गर्ने युक्रेनी सैन्य इकाइलाई अंक (क्रेडिट) प्रदान गर्ने प्रणाली विकास गरेका थिए ।

फेदोरोभलाई हटाइएपछि लगातार छ दिनसम्म देशभर व्यापक प्रदर्शन भयो । त्यसक्रममा सिस्र्कीलाई पनि हटाउन राष्ट्रपति जेलेन्स्कीमाथि दबाब बढ्दै गएको थियो । ड्रापातीलाई नयाँ सेना प्रमुख बनाएर जेलेन्स्कीले उक्त दबाब स्वीकार गरेको देखिएको छ । ड्रापातीलाई युवा तथा नवीन सोच भएका कमाण्डर मानिन्छ । उनी फेदोरोभका निकट मित्र पनि भएको विश्वास गरिन्छ ।

ड्रापातीप्रति फेदोरोभले खुला समर्थन जनाएकाले गत सातादेखिको राजनीतिक संकट केही हदसम्म मत्थर हुन सक्ने अनुमान गरिएको छ ।

हालका लागि कार्यवाहक रक्षामन्त्रीका रूपमा ख्मारा नै पदमा रहेका छन् । राष्ट्रपति जेलेन्स्कीले ख्मारा र ड्रापातीलाई सैन्य कोर प्रणालीमा सुधार, हतियार आपूर्ति तथा ड्रोन रणनीतिलगायत प्रमुख विषय समेटिएको नयाँ रक्षा रणनीति तयार गर्न निर्देशन दिएका छन् ।

सिस्र्कीले भने अहिलेसम्म पछिल्ला घटनाक्रमबारे सार्वजनिक टिप्पणी गरेका छैनन् । सोमबार मिलितार्नी वेबसाइटमा प्रकाशित आफ्नो लेखमा उनले फेदोरोभसँगको सम्बन्धबारे ‘मैले हाम्रो सम्बन्धलाई व्यावसायिक सम्बन्धका रूपमा लिएको थिएँ’ भनेका छन् । ‘यदि मैले कसैलाई दुःख दिएको छु भने, मिखाइलो अल्बर्टोभिच (फेदोरोभ), म क्षमा चाहन्छु,’ उनले लेखेका छन् ।

युक्रेनका विभिन्न शहरमा भएका प्रदर्शनबारे उनले सैन्य सम्झौता, खरिद प्रक्रिया र सैनिक परिचालनजस्ता विषयहरू प्रदर्शनकारीका नाराले देखाएजस्तो सरल नभएको बताएका छन् । ‘मानिसहरूको जीवन निर्भर रहने निर्णयहरू नाराका आधारमा गरिँदैनन्,’ उनले भने । ‘सार्वजनिक नौटङ्गीले होइन, वास्तविक कामले युद्ध जित्छ,’ सिस्र्कीले लेखेका छन् ।

प्रदर्शनकारीहरूले अझै पनि फेदोरोभलाई वास्तविक अधिकारसहितको जिम्मेवारीमा देख्न चाहन्छन्, ताकि उनले रूसविरुद्धको युद्धमा युक्रेनको नवप्रवर्तन अभियानलाई निरन्तर अघि बढाउन सकून् ।

यदि उनले यस्तो जिम्मेवारी पाए भने राष्ट्रपति जेलेन्स्कीले तत्कालको क्षति कम गर्न सफल हुनेछन् । तर धेरै मानिसले सुरुमै गलत निर्णय गरेको ठानेकाले उनलाई सहजै क्षमा गर्ने सम्भावना भने कम देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप