बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी

बुधबार, ०६ साउन २०८३, १४ : २४
बुधबार, ०६ साउन २०८३

सारांश

  • संविधानको धारा ३५ अनुसार नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्न स्वास्थ्य मन्त्रालयले 'सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन मार्गदर्शन' जारी गरेको छ ।
  • यो कार्यक्रमले गरिब, असहाय, बेवारिसे, अपाङ्गता भएका व्यक्ति, विपन्न ज्येष्ठ नागरिक लगायतका लक्षित वर्गलाई अस्पतालमा निःशुल्क वा सहुलियत दरमा स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ ।
  • मार्गदर्शनले अति गरिब, असहाय, अशक्त र अपाङ्गता भएका बिरामीहरूलाई औषधि, खाना, यातायात र कुरुवा खर्चसमेत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

काठमाडौँ । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित नगरिने मौलिक हकको व्यवस्था गरेको छ ।

सोही संवैधानिक प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि ‘सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन मार्गदर्शन’ जारी गरेको छ । वि.सं.२०६५ देखि सुरु भएको यो कार्यक्रम यस वर्ष देशभित्रका ७७ वटै जिल्लामा रहेका ९४ वटा सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका अस्पतालहरूमा सञ्चालन भइरहेको छ ।

यो कार्यक्रमको मुख्य उद्देश्य लक्षित समूहका बिरामीहरूलाई अस्पतालहरूमा उपलब्ध सेवाहरू निःशुल्क वा सहुलियत दरमा प्रदान गरी उनीहरूको स्वास्थ्य सेवामा समतामूलक पहुँच र उपयोगमा वृद्धि गर्नु रहेको छ ।

यसअन्तर्गत गरिब, असहाय, बेवारिसे, अपाङ्गता भएका व्यक्ति, विपन्न ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोप पीडित, सहिद परिवार, र प्रहरीले ल्याएका थुनुवाहरूलाई लक्षित वर्गमा समेटिएको छ । यी वर्गका बिरामीहरूले आर्थिक अवस्थाको मूल्याङ्कन र परिचयपत्रका आधारमा अस्पतालबाट निःशुल्क एवं सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा प्राप्त गर्नेछन् । 

कार्यक्रमलाई व्यवस्थित बनाउन अस्पताल प्रमुखको संयोजकत्वमा ‘सामाजिक स्वास्थ्य सुरक्षा व्यवस्थापन समिति’ गठन गरिनेछ । अस्पतालको शय्या सङ्ख्याका आधारमा १ जनादेखि अधिकतम ६ जनासम्म योग्यता पुगेका (अ.हे.व./अ.न.मि.वा सो सरह) सेवा करारका सहजकर्ताहरू परिचालन गरिने व्यवस्था गरिएको छ ।

साथै, अस्पतालहरूले २४सै घण्टा सेवा प्रवाह गरी दैनिक रूपमा निःशुल्क वा सहुलियत पाएका बिरामीको विवरण डिजिटल डिस्प्ले वा सेतो पाटीमा प्रस्ट देखिने गरी सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

मार्गदर्शनले लक्षित वर्गका बिरामीहरूको सहजताका लागि उपचारका साथै अन्य अतिरिक्त राहतको पनि दायरा बढाएको छ । जसअन्तर्गत अति गरिब, असहाय, अशक्त र अपाङ्गता भएका बिरामीहरूलाई आवश्यकता र औचित्यका आधारमा औषधि, खाना, प्रेषण (रेफरल) यातायात खर्च र कुरुवा खर्चसमेत अनुदान बजेटबाट व्यवस्थापन गर्न सकिनेछ । 

यसले गर्दा विपन्न बिरामीहरूले आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने वा अस्पतालसम्म पुग्न नसक्ने समस्या समाधान हुने विश्वास लिइएको छ । 

यसैगरी, लैङ्गिक हिंसाबाट पीडित वा प्रभावित व्यक्तिहरूका लागि अस्पतालमा सञ्चालित ‘एकद्वार सङ्कट व्यवस्थापन केन्द्र’ संग समन्वय गरी सम्पूर्ण स्वास्थ्योपचार निःशुल्क उपलब्ध गराइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप