बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
सारांश
- नेपालमा बर्ड फ्लु रोग नियन्त्रणउन्मुख भएको छ र साउन १ गतेयता नयाँ सङ्क्रमण पुष्टि भएको छैन।
- यो रोग सुरुमा ११ जिल्लामा फैलिएको थियो र यसको नियन्त्रणका लागि करिब ८.३ लाख पन्छी नष्ट गरिएको थियो।
- सरकारले महामारीबाट प्रभावित कृषकहरूलाई राहत दिन ५२ करोड रुपैयाँ व्यवस्थापन गरेकोमा हालसम्म ५०.७ करोडभन्दा बढी वितरण गरिसकेको छ।
काठमाडौँ । नेपालमा विगत केही महिनादेखि देखा परेको बर्ड फ्लु रोग हाल नियन्त्रण उन्मुख भएको छ । पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायले चालु आर्थिक वर्षको साउन १ गतेयता देशका कुनै पनि स्थानमा बर्ड फ्लुका नयाँ सङ्क्रमित केसहरू पुष्टि नभएको जानकारी दिए ।
हाल विभिन्न क्षेत्रबाट प्रयोगशालामा शङ्कास्पद नमुनाहरू परीक्षणका लागि ल्याइने गरे तापनि ती सबैको नतिजा नकारात्मक आइरहेकाले सङ्क्रमण नियन्त्रणमा आएको सङ्केत मिलेको उनले बताए ।
११ जिल्लामा फैलिएको थियो बर्ड फ्लु
यो प्रकोपको सुरुवात २०८२ साल चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको थियो । तत्पश्चात् सरकारले चैत ६ गते बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरी नियन्त्रण कार्य अघि बढाएको थियो ।
पहिलो पटक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पुष्टि भएको यो रोग क्रमशः सुनसरी, झापा, चितवन, नवलपरासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा फैलिएको थियो । संक्रमणका कारण व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिज जस्ता पन्छीहरू बढी प्रभावित भएका थिए ।
साउन ३२ गतेसम्ममा काठमाडौँ उपत्यका बाहेकका ७ जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको थियो । काठमाडौँ उपत्यका र काभ्रे जिल्लाका कुल ११९ स्थानमा सङ्क्रमण पुष्टि भएको थियो, जसमध्ये काठमाडौँमा ३२, ललितपुरमा १५ (सदर चिडियाखानासहित), भक्तपुरमा ४५ र काभ्रेमा २७ स्थान रहेका थिए ।
उपत्यकाका तीन जिल्लामध्ये भक्तपुर सबैभन्दा बढी प्रभावित देखिएको थियो भने ललितपुरमा असार २५ गते पछि कुनै पनि नयाँ सङ्क्रमण देखिएको छैन । काठमाडौँ र भक्तपुरमा पनि साउन ३२ गतेदेखि नयाँ सङ्क्रमण नदेखिएको पशु सेवा विभागले जनाएको हो ।
कति भयो क्षति ?
महामारी नियन्त्रणका लागि देशभर कुल ८ लाख ३५ हजार ५ सय ६३ पन्छी, ११ लाख ६५ हजार ६ सय ६३ वटा अण्डा र २ लाख ४५ हजार ३५ केजी दाना नष्ट गरिएको छ । यसमध्ये काठमाडौँ उपत्यका र काभ्रेमा मात्रै ३ लाख ६७ हजार ८ सय ३५ पन्छी नष्ट गरिएको विभागको तथ्याङ्क छ ।
महामारीबाट क्षति बेहोरेका कृषकहरूलाई राहत दिन सरकारले ५० करोड रुपैयाँको बजेट रकमान्तर गरी कुल ५२ करोड रुपैयाँ व्यवस्थापन गरेको थियो ।
जसअन्तर्गत हालसम्म १०४ जना प्रभावित कृषक तथा फार्मको खातामा ५० करोड ७१ लाख १५ हजार रकम उपलब्ध गराइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण