बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति

बुधबार, ०६ साउन २०८३, १७ : १३
बुधबार, ०६ साउन २०८३

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन (कानुन)को कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ।

यसका लागि समितिले सांसद डा. अञ्जान शाक्यको संयोजकत्वमा सात सदस्यीय ‘ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति’ गठन गरेको हो। उपसमितिमा सांसद खम्बबहादुर खाती, झक्कुप्रसाद सुवेदी, कृष्णप्रसाद सिटौला, राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र विष्णुदेवी पुडासैनी सदस्य छन्।

समितिका सभापति कृष्णबहादुर रोकायको अध्यक्षतामा साउन ४ गते बसेको बैठकले उपसमिति गठन गरेको थियो। उपसमितिका संयोजक डा. शाक्यका अनुसार पहिलो बैठक सम्पन्न भई कार्यविधि तर्जुमा गर्दै अध्ययनको काम सुरु गरिएको छ।

उपसमितिलाई कार्यान्वयनमा रहेका कानुन अध्ययन गरी कार्यान्वयन मापनका लागि उपयुक्त ऐन वा ऐनका दफा तथा व्यवस्था प्राथमिकताका आधारमा सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। साथै कम्तीमा तीन देशको अभ्यास अध्ययन गर्ने, सरोकारवालासँग छलफल गर्ने र ३० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश पनि दिइएको छ।

यसैबीच, विधायिकी अन्तरसम्बन्ध अध्ययन गरी सिफारिस गर्न समितिले सांसद सुरेश आलेमगरको संयोजकत्वमा अर्को उपसमिति पनि गठन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप