म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
सारांश
- २३ वर्षीय मिडफिल्डर एलियट एन्डरसनले नटिङ्घम फरेस्टबाट म्यानचेस्टर सिटीमा पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।
- एन्डरसनले सिटीमा आबद्ध हुने निर्णयमा आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको र सर्वोच्च स्तरमा आफूलाई परीक्षण गर्ने अवसर पाएको बताएका छन्।
- म्यानचेस्टर सिटीले एन्डरसनलाई टोलीमा भित्र्याउन क्लब इतिहासकै उच्च रकम तिर्न सहमति जनाएको छ।
म्यान्चेस्टर । म्यानचेस्टर सिटीले पाँच वर्षको सम्झौतामा अनुबन्ध गरेको पुष्टि गरेसँगै २३ वर्षीय मिडफिल्डर एलियट एन्डरसनले आफू यो क्लबमा आउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
नटिङ्घम फरेस्टबाट सिटी पुगेका उनले जुन २०३१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका छन्।
विश्वकपमा इंग्ल्याण्डको तर्फबाट खेलिरहँदा सुरुमा सहमति भएको यो सम्झौताले एन्डरसनलाई ब्रिटिस इतिहासकै सबैभन्दा महँगो खेलाडी बनाउने निश्चित जस्तै थियो। तर, पछि एस्टन भिल्लाबाट चेल्सी पुगेका मोर्गन रोजर्सको ११ करोड ७० लाख पाउण्डको ट्रान्सफरले यसलाई उछिनेको छ।
विश्वका ठुला क्लबहरूमध्ये एकमा जोडिने अवसर पाउँदा आफूमा कुनै दोधार नरहेको एन्डरसनले बताएका छन्। ‘सिटीले मलाई चाहेको थाहा पाउनेबित्तिकै म यो निर्णयका लागि पूर्ण रूपमा तयार भइसकेको थिएँ,’ एन्डरसनले भने।
उनले अगाडि भने, ‘तपाईं आफूलाई सर्वोच्च स्तरमा परीक्षण गर्न चाहनुहुन्छ। सिटीमा हुनुको अर्थ मलाई त्यो अवसर मिल्नु हो। बिदापछि म्यानचेस्टर पुग्नेबित्तिकै म सिटीको टोलीमा स्थान बनाउन सक्दो सबै प्रयास गर्नेछु।’
सन् २०२४ मा न्युकासल युनाइटेडबाट ३ करोड ५० लाख पाउण्डमा फरेस्ट आएका एन्डरसन टोलीका महत्त्वपूर्ण सदस्य बनेका थिए। उनको उत्कृष्ट प्रदर्शनकै बलमा फरेस्ट प्रिमियर लिगको सातौँ स्थानमा रहँदै ३० वर्षपछि पहिलो पटक युरोपेली प्रतियोगिताका लागि छनोट भएको थियो।
अघिल्लो सिजन एन्डरसनले फरेस्टलाई युरोपा लिगको सेमिफाइनलसम्म पुर्याउन मद्दत गरेका थिए। उनी प्रिमियर लिगमा सबैभन्दा धेरै बल टच गर्ने र ‘डुएल’ जित्ने खेलाडीसमेत बनेका थिए। थोमस टुकलको इंग्ल्याण्ड टोलीका मुख्य सदस्य रहेका उनले विश्वकपका प्रत्येक खेल खेलेका थिए।
सिटीले सन् २०२१ मा ज्याक ग्रिलिसका लागि खर्चिएको १० करोड पाउण्डको कीर्तिमान तोड्दै एन्डरसनका लागि क्लब इतिहासकै उच्च रकम तिर्न सहमति जनाएको हो। सिटीले उनलाई टोलीमा भित्र्याउन म्यानचेस्टर युनाइटेडसँगको प्रतिस्पर्धालाई पछाडि पारेको थियो। विश्वकपका क्रममा पानामाविरुद्ध इंग्ल्याण्डको समूह ‘एल’ को खेलअघि नै फरेस्ट र सिटीबिच सहमति भइसकेको थियो।
सिटीमा १० वर्ष बिताएर पेप गार्डियोलाले व्यवस्थापक पद छाडेपछि जुनमा टोलीको जिम्मेवारी सम्हालेका पूर्वचेल्सी मुख्य प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा एन्डरसनले खेल्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण