शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट

शुक्रबार, ०८ साउन २०८३, १६ : ०६
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • आन्तरिक विवादका कारण रुपन्देहीको कोटहीमाई गाउँपालिकामा चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत हुन सकेको छैन।
  • स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।
  • बजेटको सिलिङका विषयमा सहमति हुन नसक्दा बजेट प्रस्तुत गर्न नसकिएको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए।

बुटवल । आन्तरिक विवादका कारण रुपन्देहीको कोटहीमाई गाउँपालिकामा चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत हुन सकेको छैन।

स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, साउन ८ गते भइसक्दा पनि कोटहीमाई गाउँपालिकाले बजेट ल्याउन नसकेको हो।

बजेटको सिलिङका विषयमा सहमति हुन नसक्दा बजेट प्रस्तुत गर्न नसकिएको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए। वडाध्यक्षहरूबीचको असहमति र प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण गाउँसभा बस्न नसकेको उनको भनाइ छ।

यता प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले भने जनप्रतिनिधिहरूबीच बजेटका विषयमा सहमति नहुँदा गाउँसभा बस्न नसकेको बताएका छन्। यहाँ असार २६ गते गाउँसभा बोलाउने तयारी भए पनि बजेटका विषयमा सहमति नजुटेपछि सभा बस्न सकेको थिएन।

गाउँपालिका प्रवक्ता सञ्जयकुमार सैनिले भने अध्यक्ष त्रिपाठी र प्रमुख प्रशासकीय अधिकृत यादवबीच समेत कुरा नमिलेकाले बजेट प्रस्तुत हुन नसकेको बताए।

बजेट पारित हुन नसक्दा गाउँपालिकाको खाता सञ्चालनमा समेत असर परेको छ। आगामी सोमबारदेखि खाता सञ्चालनको प्रक्रिया अघि बढाउने र त्यसको दुई–चार दिनभित्र बजेट ल्याउने तयारी भइरहेको दाबी अध्यक्ष त्रिपाठीले गरेका छन्।

रुपन्देहीका अन्य सबै स्थानीय तहले समयमै बजेट ल्याइसकेका छन्। कोटहीमाई गाउँपालिकामा भने गत वर्ष पनि आन्तरिक विवादका कारण बजेट ल्याउन ढिलाइ भएको थियो।

कानुनी समयसीमाभित्र बजेट नल्याउने स्थानीय तहको खाता सञ्चालनमा रोक लगाउनुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव विवेक घिमिरेले बताए। ‘त्यस्ता स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान आगामी वर्षबाट घट्न सक्छ,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप