बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
सारांश
- विपक्षी चार वामपन्थी दलहरूले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारविरुद्ध चौतर्फी दबाब सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
- पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूको रणनीति समयमै बुझ्न नसक्दा संविधान निर्माण पक्षधर दलहरूले क्षति व्यहोरेको र वर्तमान सरकारविरुद्ध घेराबन्दी गर्न वाम तथा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए।
- माधवकुमार नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।
काठमाडौँ । विपक्षी चारवटा वामपन्थी दलहरूले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारविरुद्ध चौतर्फी दबाब सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेका छन्।
शुक्रबार ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचारगोष्ठीमा सहभागी नेताहरूले सरकारविरुद्ध साझा रणनीतिसहित अघि बढ्नुपर्ने धारणा राखेका हुन्।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी प्रतिक्रियावादी शक्तिहरूको रणनीति समयमै बुझ्न नसक्दा संविधान निर्माण पक्षधर राजनीतिक दलहरूले ठूलो क्षति व्यहोर्नुपरेको बताए। गत वर्ष भदौ २३ र २४ गते भएका घटनाप्रति गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले संविधान निर्माणपछि राजनीतिक दलहरू सत्ता केन्द्रित हुँदा कमजोर बनेको टिप्पणी गरे।
‘संविधान बनेपछि हामी दिनदिनै सरकार बनाउने, प्रदेश र स्थानीय तह चलाउने, मन्त्री–प्रधानमन्त्री फेर्नेतिर लाग्यौँ। त्यहीँ हामी चुक्यौँ। तर हाम्रा वैरीहरूले ठूला रणनीतिक योजना बनाएछन्। एकैदिन देशलाई विध्वंसतर्फ धकेल्ने योजनाबारे हामीले बुझेनौँ। उनीहरूको रणनीतिक योजनाविरुद्ध शक्ति सञ्चय गर्न सकेनौँ,’ प्रचण्डले भने।
वर्तमान सरकारविरुद्ध घेराबन्दी गर्न वाम तथा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो। त्यसका लागि न्यूनतम साझा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनले प्रतिक्रियावादी शक्तिहरूलाई चारैतिरबाट घेराबन्दी गर्नुपर्ने बताए।
‘राष्ट्रिय स्वाधीनताका लागि लड्न तयार हुनुपर्छ। त्यसका लागि साझा न्यूनतम कार्यक्रम बनाउनुपर्छ। नेपालका गरिब, मजदुर, किसान र उत्पीडित समुदायका अधिकार खोस्ने दुष्साहस भएको छ, त्यसविरुद्ध जनतालाई संगठित र आन्दोलित गर्नुपर्छ,’ उनले भने, ‘सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनमा लड्ने। चारैतिरबाट घेरा हाल्ने। सिकाएको त उनीहरूले छन्, तर हामी उनीहरू जसरी लड्छन्, त्यसरी लड्दैनौँ। हाम्रै तरिकाले लड्ने हो। तर एकैदिन उल्टाउन सकिँदो रहेछ भन्ने कुरा उनीहरूले सिकाएका छन्।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा भएको विध्वंसलाई आपराधिक घटना भएको टिप्पणी गर्दै संलग्नलाई कारबाही गर्न सरकारसँग आग्रह गरे। संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि वामपन्थी मात्र नभई लोकतान्त्रिक शक्तिहरू पनि एकजुट हुनुपर्नेमा उनले जोड दिए।
‘वामपन्थीले पनि विगतको आत्मसमीक्षा गर्न आवश्यक छ। हामी कहाँ चुक्यौँ ? हाम्रो जीवनशैली, आचरण र व्यवहार सुधार गर्न आवश्यक छ। सत्तामा जाँदैमा विदेशीसामु झुक्नुपर्छ भन्ने छैन। विदेशीका स्वार्थ बुझेर राम्रो काम स्वीकार गर्नुपर्छ। राष्ट्रियता, लोकतन्त्र र जनजीविकाबारे नयाँ बहस गरौँ। गम्भीर समीक्षा गरी नयाँ शिराबाट अगाडि बढौँ,’ नेपालले भने।
पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले जनता सजग नभए संविधानमा हुन सक्ने प्रतिकूल तथा प्रतिगामी संशोधन रोक्न नसकिने बताए।
‘राष्ट्रिय सभाले चेक एन्ड ब्यालेन्स गर्ला भन्ने आशा गरौँ। तर जनता सजग नहुने हो भने संविधानमा हुने प्रतिकूल तथा प्रतिगामी संशोधन रोक्न सक्ने अवस्था रहँदैन,’ उनले भने।
उनले सरकारका पछिल्ला गतिविधिले मुलुकलाई भूराजनीतिक भूमरीमा फस्ने खतरा बढाएको दाबी गरे। पश्चिमी शक्तिका सैन्य अधिकारीहरूको लगातार भ्रमण, ‘फ्री तिब्बत’ सम्बन्धी गतिविधि, दलाई लामासम्बन्धी कार्यक्रम र प्रधानमन्त्रीको संसद्मा दिएको अभिव्यक्तिले मुलुकलाई जटिल भूराजनीतिक अवस्थामा धकेल्ने जोखिम रहेको उनको भनाइ थियो।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देशमा सिर्जिएको अवाञ्छित अवस्थाका लागि वामपन्थी शक्तिहरू पनि जिम्मेवार रहेको बताए।
‘आज देशमा जुन अवाञ्छित प्रकारको स्थिति तयार भएको छ, त्यसका पछाडि वामपन्थी शक्तिहरूको भूमिका पनि धेरै जिम्मेवार छ,’ उनले भने, ‘जनताको विश्वासलाई सही रूपमा प्रयोग गर्न हामी कति सफल भयौँ ? यसबारे सबैले आत्मालोचना गर्नुपर्छ। आफ्नो चरित्र र कार्यशैलीमा पनि परिवर्तन गर्न जरुरी छ।’
अमेरिकी साम्राज्यवादी शक्तिविरुद्धको लडाइँ नेपालीहरूका लागि जीवन–मरणको सवाल बनेको दाबी गर्दै उनले युद्धको विरोध र विश्वशान्तिका पक्षमा एकताबद्ध हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले बालेन सरकारविरुद्ध वैकल्पिक स्वाधीन संयुक्त सरकार गठनका लागि देशभक्त वामपन्थी शक्तिहरूले राजनीतिक सम्मेलन गरी सङ्घर्षका कार्यक्रम घोषणा गर्नुपर्ने बताए।
‘सेना, प्रहरी, अदालत र कर्मचारीतन्त्र उही राखेर हामी विगतमा सरकारमा गएका थियौँ। अहिले साम्राज्यवादले नेपालको सेना कब्जा गरेर रवि र बालेन (रास्वपा) को मुखौटो लगाई सरकार अपदस्थ गर्यो, जसका कारण राष्ट्रिय स्वाधीनताको प्रश्न अगाडि आएको छ,’ वलीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण