सलमान खानलाई राहत, हट्ने भयो ‘काला हिरण’को टिजर
सारांश
- दिल्ली उच्च अदालतले 'काला हिरणः द ब्याटल फर लिगेसी' नामक फिल्मको टिजर र सम्बन्धित सामग्री सामाजिक सञ्जालबाट हटाउन आदेश दिएको छ ।
- सलमान खानले फिल्मको टिजरले आफ्नो छवि र व्यक्तिगत अधिकारमा असर पारेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
- फिल्मका निर्माता अमित जानीलाई अदालतले कानूनभन्दा माथि नचल्न चेतावनी दिएको छ ।
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानसँग सम्बन्धित रहेको भनिएको फिल्म ‘काला हिरणः द ब्याटल फर लिगेसी’ फेरि समाचारमा छ ।
दिल्ली उच्च अदालतले फिल्मको टिजर हटाउन आदेश दिएको छ । अदालतले फिल्मका निर्माता अमित जानीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालबाट टिजरसहित सम्बन्धित सामग्री हटाउन निर्देशन दिएको हो । यो फिल्म सन् १९९८ को चर्चित कालो हरिण शिकार प्रकरणबाट प्रेरित भएको बताइएको छ । फिल्मको टिजर सार्वजनिक भएपछि सलमान खानले आफ्नो छवि र व्यक्तिगत अधिकारमा असर परेको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सुनुवाइका क्रममा अदालतले सामाजिक सञ्जाल एक्स र युट्युबमा रहेका टिजर तथा अन्य सम्बन्धित लिंक हटाउन आदेश दिएको छ । साथै, निर्माता अमित जानीलाई कडा टिप्पणी गर्दै अदालतले आफू कानूनभन्दा माथि रहेको जस्तो व्यवहार नगर्न चेतावनी दिएको छ । अदालतले निर्माता पक्षका कानुनी प्रतिनिधिलाई सम्बोधन गर्दै यसअघि कुनै आदेश जारी नभएकाले उनीहरूको दुस्साहस बढेको टिप्पणी गरेको थियो । अदालतले सामान्य नागरिकप्रति पनि यस्तो व्यवहार स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
निर्माता अमित जानीका वकिलले भने यो केवल टिजर मात्र भएको र त्यसमा सलमान खानको नाम उल्लेख नगरिएकाले उनको व्यक्तित्व अधिकार उल्लङ्घन नभएको दाबी गरेका थिए । उनले टिजरमा कुनै डीपफेक वा कृत्रिम बौद्धिकता (एआई)बाट तयार गरिएको भिडियो प्रयोग नगरिएको पनि बताएका थिए। ।
यता, सलमान खानका वकिलले नाम उल्लेख नगरिए पनि फिल्ममा देखाइएको पात्रको स्वरूप, कथावस्तु र प्रस्तुतिले सलमान खानलाई स्पष्ट रूपमा संकेत गरेको तर्क गरेका छन् । उनका अनुसार यसले अभिनेता सलमान खानको सार्वजनिक छविमा नकारात्मक असर पार्न सक्छ । सलमान पक्षले कालो हरिण शिकार प्रकरणका चार मुद्दामध्ये तीनमा सलमान खानले सफाइ पाइसकेको र बाँकी एक मुद्दामा सजाय कार्यान्वयन रोकिएको स्मरण गराउँदै फिल्मले पुरानो विवादलाई नयाँ ढंगले प्रस्तुत गरी उनको प्रतिष्ठामा क्षति पुर्याउने प्रयास गरेको दाबी गरेको छ । साथै, फिल्मले विश्नोई समुदायलाई पनि सलमान खानविरुद्ध उक्साउन सक्ने आशंका व्यक्त गरिएको छ ।
यो विवाद फिल्मको पहिलो पोस्टर सार्वजनिक भएपछि सुरु भएको थियो। पोस्टरमा मुख्य कलाकार काशिफ इकबाल खानको स्वरूप सलमान खानसँग मिल्दोजुल्दो देखिएको थियो । त्यसपछि सार्वजनिक भएको टिजरमा सलमान खान र ग्याङ्स्टर लरेन्स विश्नोईबाट प्रेरित पात्रहरू देखाइएको तथा कालो हरिण प्रकरणको स्पष्ट सन्दर्भ समावेश गरिएको थियो । टिजरमा फिल्म विश्नोई समुदायलाई समर्पित गरिएको उल्लेख गरिएपछि विवाद थप चर्कियो ।
यद्यपि बढ्दो विवादपछि निर्माता पक्षले आफ्नो फिल्म कुनै एक व्यक्तिलाई लक्षित गरेर नबनाइएको दाबी गरे । अदालतमा यस मुद्दाको थप सुनुवाइ अझै जारी रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
-
नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द
-
चिटले काम गर्न नसक्ने गरी प्रश्नपत्र बनाइनु पर्छ
-
सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
‘गाडी विलासिता होइन आवश्यकता हो, डाउनपेमेन्ट २० प्रतिशतमा झार्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण