मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल

सरकारसँग जवाफ माग्ने चेतावनी
मङ्गलबार, १२ साउन २०८३, २२ : ०७
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • कांग्रेस नेता गगन थापाले सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको घटनामा दुःख व्यक्त गर्दै संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
  • थापाले उत्तेजना र प्रतिशोध छोडेर संवाद र संयमताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै सरकारमाथि निर्दोष नागरिकमाथि गोली चलाउनुपर्ने परिस्थितिबारे प्रश्न उठाएका छन् ।
  • उनले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई घाइतेहरूको उपचारमा खटिन, पीडित परिवारलाई सहयोग गर्न र सामाजिक सद्भाव कायम राख्न निर्देशन दिएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

मङ्गलवार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले उत्तेजना र प्रतिशोध छोडेर संवाद र संयमताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका हुन् ।

घटनामा ज्यान गुमाएका मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै थापाले शोकाकुल परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले निर्दोष नागरिकमाथि गोली चलाउनुपर्ने परिस्थिति किन आयो भन्दै सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।

'ओमप्रकाश मेहतामाथि जानेजानी गोली चलाउनुपर्ने अवस्था किन आयोरु हामी सरकारलाई यो प्रश्न सोधिरहेका छौँ,' नेता थापाले भनेका छन्, 'हामी सरकारसँग यसको स्पष्ट जवाफ माग्छौँ र सरकारलाई जिम्मेवार बनाएर छाड्छौँ ।' 

बिग्रँदो परिस्थितिलाई सम्हाल्न नागरिक तहबाट पनि संयमताको आवश्यकता रहेको औंल्याउँदै उनले यस घडीमा अफवाह, उत्तेजना र प्रतिशोधभन्दा माथि उठ्न सबैलाई आग्रह गरे । 'हामीले संयमता गुमायौँ र धैर्यता राख्न सकेनौँ भने त्यसको ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ,' उनले चेतावनी दिँदै भने, 'विविधतामा एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै नेपाली समाजको पहिचान हो ।' 

थापाले स्थानीय नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई घाइतेहरूको उपचारमा खटिन, पीडित परिवारलाई सहयोग गर्न र धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव कायम राख्न अग्रसर हुन निर्देशन दिएका छन् । 

साथै, उनले स्थानीय बासिन्दा, सामाजिक सङ्घसंस्था, राजनीतिक दल तथा सम्पूर्ण नागरिकहरूलाई गम्भीर भएर सोच्न र स्थिति सामान्य बनाउन आ(आफ्नो ठाउँबाट योगदान पुर्‍याउन अपिल गरेका छन् । गल्ती र कमजोरी गर्ने जोकोहीले पनि यसको मूल्य चुकाउनुपर्ने र सरकारले पूर्ण जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप