मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सुनसरीमा सद्‌भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन

मङ्गलबार, १२ साउन २०८३, २२ : ००
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारको क्रममा निधन भएको छ ।
  • सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको विवादपछि उत्पन्न हिंसात्मक घटनाहरू उग्र बनेपछि नेपाल सरकारले सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल गरेको छ ।
  • वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोडका दोषीहरूलाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।

आज २०८३ साउन १२ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन भएको हो ।

  • सुनसरी घटना

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सद्‌भाव र धार्मिक सहिष्णुताका लागि अपिल गरेको छ । सुनसरीको देवानगञ्जमा दुई समूहबिच भएको विवादपछि उत्पन्न हिंसात्मक घटनाहरू उग्र बनिरहँदा प्रधानमन्त्री कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै सामाजिक सद्‌भावकायम गर्न अपिल गरेको हो । 

  • चिकित्सक संघको आन्दोलन

नेपाल चिकित्सक सङ्घले भोलि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै सङ्घले देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

  • प्रश्नपत्र चुहावट

नेपालको माध्यमिक तथा उच्च शिक्षासहित समग्र परीक्षा प्रणालीमाथि प्रश्न उठेको छ । परीक्षामा सम्बद्ध अधिकारीहरू संवेदनशील नहुँदा परीक्षा प्रणालीको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठेको हो ।

  • रवि लामिछानेको चीन भ्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएपछि सरकारको तर्फबाट कुनै पनि देशमा उच्चस्तरीय भ्रमण भएको छैन । बरु सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले छिमेकी मुलुक भारतको भ्रमण गरिसकेका छन् । निकट भविष्यमै उनी चीन भ्रमणमा जाने तयारी छ ।

  • संसदीय सुनुवाइ

संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले नेपालको निर्वाचन प्रणालीलाई आमूल परिवर्तन गर्ने महत्त्वाकाङ्क्षी कार्ययोजना प्रस्तुत गरेका छन्। 

  • कामभन्दा स्टन्ट बढी

बालेन सरकार गठनपछि धेरैको आशा थियो– देशमा अब सुशासन आउँछ, अन्यायमा परेकाले न्याय पाउँछन्, संस्थागत सुधार हुन्छ । तर सरकार गठन भएको चार महिनामा सरकारका मन्त्रीहरूको कामभन्दा बढी स्टन्ट देखिन थालेको छ । केही नीतिगत र देखिने कामहरू भए पनि अधिकांश मन्त्रीहरू आलोचित छन् । स्वयं प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठिरहेका छन् । 

  • डा. केसीलाई आश्वासनको भारी

आफ्ना मागहरू अघि सार्दै डा. गोविन्द केसीले पुनः सुरु गरेको २४ औँ अनशन सत्तापक्षीय सांसदहरूको तीव्र सक्रियतापछि सोमबार चौथो दिनमा स्थगित भएको छ । डा. केसीको मुख्य एजेन्डा दशरथ चन्द विश्वविद्यालयका पदाधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने भए पनि यस विषयमा सम्झौता नै नभई अनशन स्थगित भएको हो । 

  • दशौँ राष्ट्रिय खेलकुद कहिले ?

नेपाली खेलकुदको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अनिश्चित छ । पटक–पटक प्रतियोगिताको मिति तोकिए पनि विभिन्न कारण देखाउँदै सारिएको छ । 

  • रश्मि रिजाल मृत्यु प्रकरण

 काठमाडौँको तारकेश्वर नगरपालिकास्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा साउन ९ मा रश्मि रिजाल मृत भेटिइन् । ४५ वर्षीया रिजाल साउन ८ मा बिहान ७ बजे घरबाट निस्केपछि सम्पर्कविहीन भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप