बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस विधान मस्यौंदामाथिको छलफल एक हप्तासम्म चल्ने, आजको बैठकमा कसले के भने ?

शुक्रबार, १४ मङ्सिर २०७५, १८ : ०२
शुक्रबार, १४ मङ्सिर २०७५

काठमाडौं– संघीय संरचनाअनुसार काँग्रेसको संशोधित तथा परिमार्जित विधान मस्यौंदामाथि बिहीबार (हिजो)बाट केन्द्रीय समितिमा छलफल चलिरहेको छ । पार्टीको ललितपुरस्थित केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पार्टीको विधान संशोधन मस्यौंदामाथि नेताहरुले आफ्नो धारणा राखे क्रममा जारी छ । 

विधान संशोधन मस्यौंदामा केन्द्रित रहेर शुक्रबार मध्यान्ह १२ बजेबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु डा.चन्द्र भण्डारी, बालकृष्ण खाँण, पुष्पा भुषाल, नरहरि आचार्य, रामकृष्ण यादव, अतरकमाल मुसलमान, ईश्वरी न्यौपाने, मिन विश्वकर्मा, कमला पन्तले आफ्नो धारण राखेका छन् । हिजोको बैठकमा डा.रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आफ्नो धारणा राखेका थिए । 

विधान मस्यौंदा समितिले देशव्यापी रुपमा छलफल गरी ३ महिना लगाएर तयार पारेको विधानमाथि केन्द्रीय नेताहरुले आफ्नो धारणा राख्नेक्रम चलिरहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा पदाधिकारीको संख्या, केन्द्रीय समितिका सदस्यको संख्या, संसदीय समिति, निर्वाचन समिति, अनुशासन समिति, सदस्यताको स्वरुप, सभापतिले केन्द्रीय सदस्य मनोनित प्रतिशत, पार्टीभित्र समानुपातिक सहभागिता, भातृ संस्था, जनसम्पर्क समितिको सन्दर्भ लगायतका विषयमा हिजो र आज गरि १३ जना आफ्नो धारण राखेको उनले जानकारी दिए । प्रवक्ता शर्माले पार्टी भित्रको गुटगत हिसाबले भन्दा फरक किसिमले  धारणा आएको जनाए । 

उनले भने–‘कसैले केन्द्रीय कमिटीको संख्या बढाएसँगै पदाधिकारीको पनि संख्या बढाउनुपर्ने धारण राख्दै आएका छन् । कसैले विद्यमान व्यवस्थालाई यथावत राख्नुपर्ने बताएका छन् । सदस्यताको सन्दर्भमा विद्यामान विधानमा रहेको व्यवस्थाअनुसार साधारण र क्रियाशी सदस्यतानै राखौं भन्ने पनि धारणा आएको छ । नेपाली कांग्रेसको सदस्यता भनेर प्रस्तावित मस्यौंदामा उल्लेख भए बमोजिम एउटा मात्रै राखौं र नवीकृत सदस्यले मात्रै मतदानको अधिकार पाउने गरी जाउँ भन्ने विचार पनि आएको छ ।’

उनले थपे, ‘भ्रातृ संस्थाहरुमा देखिएको समस्यालाई मध्यनजर गरेर भ्रातृ संस्था स्वयंले निकास खोज्ने भन्ने विषय मस्यौंदामा प्रस्ताव गरिएपनि केही केन्द्रीय सदस्यहरुबाट पार्टीले निकास दिनुपर्ने विषयमा पनि धारणा आएको छ । ’

उनका अनुसार जनसम्पर्क समितिहरुको अधिकारका बारेमा पनि फरक–फरक धारणा देखिएका छन् । प्रवक्ता शर्माका अनुसार बैठकमा बोल्ने केही केन्द्रीय सदस्यहरुले सर्वोच अदालतले आदेश दिए बमोजिम देश बाहिर रहेका नागरिकहरुले मतदान गर्न पाउने व्यवस्थालाई ध्यानमा राखेर जनसम्पर्क समितिको एउटा विश्व सञ्जाल बनाएर त्यसबाट प्रतिनिधित्व गराउने धारणा पनि राखेका छन् ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौंदा समितिले केन्द्रीय समितिमा पेस गरेको मस्यांैदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमतिका विषयलाई छलफल गरेर सो मस्यौंदालाई टुंगो लगाउने तयारी गरिएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि पनि छलफल गरी आगामी २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ ।

विधानमाथि छलफलका लागि अर्को बैठक आइतबार बस्नेछ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप