बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जापानी महिला

शनिबार, १२ माघ २०७५, १२ : ३१
शनिबार, १२ माघ २०७५

-अर्जुन थापा

‘माचुदा’ मेरो मिल्ने साथी भएको थियो । टोकियोमा म आएदेखि पहिलो जापनिज साथी थियो ऊ । मभन्दा पाँच–छ वर्षले कान्छै हुुनुपर्छ ऊ । कान्छो भए तापनि मेरो जापनिज भाषा सिकाउने गुरु नै थियो । 

मिलनसार र कामप्रति मरिहत्ते गर्ने खालको । ऊसँगैका साथीहरू सिवुया र रोपोङ्गीतिर केटी घुमाउँदै हिँडेको बेला ऊ काममा व्यस्त हुन्थ्यो । म अरूभन्दा पनि जापनिजहरूको सोझो र इमानदारीदेखि सारै प्रभावित भएको छु । कामप्रतिको लगाव, सायद यही कारणले गर्दा पनि सानै देश भए पनि आज टेक्नोलोजीका कारण जापान विश्वप्रख्यात छ । दस वर्षको जापान बसाइबाट धेरै कुरा सिक्ने मौका पाएको छु । 

सानैमा माचुदाको बाबुले झुन्डिएर आत्महत्या गरेको । अहिले परिवारमा ऊ, आमा र बहिनी छन् । बहिनी कामका लागि योकोहामामा बस्छे । आमा र ऊ मात्र टोकियोमा बस्थे । माचुदा पनि मकहाँ आएर बस्थ्यो र म पनि उसकहाँ गएर । म जापनिजहरूको रहनसहनहरूको बारेमा थाहा पाउन पनि उसकहाँ प्रायः छुट्टीमा जाने गर्थें । म उसकहाँ जाँदा आमासँग प्रायः भेटिँदैनथ्यो । 

माचुदाले भनेअनुसार उसको बाबुले लिएको ऋण अझै नसकिएकाले उसकी आमाले बढी समय काम गर्नुपरेको थियो । नेपालमा पचास लागेपछि कामकाज छोडेर घरमा बस्छन् । चौबीस–पच्चीस वर्षसम्म पढाइ छ भनेर काम गरेका हुँदैनन् । अरूलाई के म आफैले पनि धेरै ढिला नोकरी गर्न सुरु गरेको थिएँ । 

उसको आमालाई देखेर म सोच्ने गर्थें । जवानी उमेरमा लोग्नेले ऋणको बोझ थुपारेर मर्यो । दुई जना बच्चाहरूलाई हुर्काउन कति गाह्रो भयो होला, त्यो पनि जापान जस्तो ठाउँमा । माया लागेर आउँछ मलाई, जबजब यस्ता नारीहरूलाई देख्छु । त्यो लोग्ने कति निष्ठुरी होला । अलिकति पनि सोचेन होला त्यो डोरीको पासो लगाउनुभन्दा अगाडि कि भोलिदेखि मेरी श्रीमती र दुई बच्चाहरूले कसरी गर्छन् भनेर । मलाई आत्महत्या गर्ने मान्छेदेखि घृणा लागेर आउँछ साँच्चिकै । 

बिचरी यिनको जवानी पनि सित्तैँमा खेर गयो । यिनलाई पनि अरू जस्तै पार्क, लभ होटलमा गएर प्रेम साटासाट गर्न मन थियो होला । हातमा हात समाती हिँड्न मन थियो होला । मन त मनै हो । रातमा परेको झरीको उदासी जस्तो हुन पुग्छु । 

उनलाई बियरको घुड्को लिँदै रोएको धेरै पटक देखेको छु । तर पनि सोध्ने आँट गर्न सक्दिनँ । उसको आमा रोइराखेकी कुरा  माचुदालाई गएर भन्छु । 

ऊ सधैँ “दाइजोबु अर्थात् ठीक छ” भनेर टार्ने गथ्र्यो । 

छोरालाई नै मतलब नभएको वा बानी परेकाले हो, मैले ज्यादा ध्यान दिनु पनि भएन । उमेरले पैँतालीसकी भए पनि देखिँदा चालीसभन्दा कमकी देखिन्थिन् । त्यसमा जापनिजहरू गोरा र बढी नै फेसन गर्नुपर्ने भएकोले गर्दा पनि होला, नेपालका तीसका उमेरका महिलाहरूसित पनि उनलाई दाँज्न मिल्दैनथ्यो । लाडिएर बोल्ने त जापनिज महिलाहरूको बानी नै हो तर पनि उनमा अलिक बढी नै थियो । 

हामी तीन जना सँगै धेरै ठाउँमा घुम्न गएका छौँ । खाना सारै मीठो बनाउँथिन् र मैले पनि जानेको नेपाली खाना बनाएर खुवाउँथेँ । कुनै चाडपर्वमा मलाई छुटाएका हुँदैनथे । बिस्तारै त्यहाँको रहनसहनसित घुलमिल हुँदै थिएँ । 

साकुराको बोटमुनि बसेर खाना खाएको, हानाबी हेर्न गएको । हाकुने, समुद्रमा गएर रमाइलो गरेको, अहिले सम्झिँदा पनि आनन्द लागेर आउँछ, मन अझै पनि । 

“म आज तिम्रोमा नै बस्ने गरी आउँछु ।” माचुदाले मोबाइलमा मेसेज पठाउँछ । 

मैले बनाएको मटनकरी उसलाई मन पर्छ । पकाउन थाल्छु र एक बोटल स्याके (जापनिज रक्सी) ल्याएर फ्रिजमा राख्छु । 

हामी मासु र स्याके खाँदै गर्दा ऊ भन्छ, “मलाई मेरी आमाले यसरी घरमै केटा ल्याएको मन पर्दैन ।” माचुदा एकै घुट्कोमा एक गिलासको स्याके सक्छ । 

“म काममा गएपछि मेरी आमा केटा बोलाउँछिन् ।” ऊ फेरि गिलास भरी पार्छ । 

“आमाको पनि इच्छा हुन्छ । के अरूभन्दा फरक हो र तिम्री आमा ? तिम्री आमालाई पनि एउटा साथी त आवश्यक पर्यो होला, मन तथा शारीरिक साथ दिन ।” म बीचैमा बोलिदिन्छु । 

“होइन खारेसी (प्रेमी) हुनुमा म पनि विरोध गर्दिनँ । तर प्रत्येक पटक नयाँ नयाँ केटासँग ... ।” बाँकी रहेको आधा ग्लास स्याके स्वाट्ट पार्छ । 

उसले मलाई सुनाइरहँदा म उसकी आमालाई सम्झन्छु । आमासँग बोलेको, सँगै खाना खाएको, घुम्न गएको र रक्सी पिउँदै रोएको । माचुदाले भनेअनुसार कहीँ कतैबाट पनि त्यस्तो देख्दिनँ र भेटाउँदिनँ उसकी आमालाई । 

कति पटक उसको घरमा आमासँग खाइमोनो (सपिङ) गर्न गएको छु । माचुदा घर ढिलो आउँदा उसको घरमा आमासँगै बियर पिएको छु । मलाई कतैबाट पनि उसले भनेबमोजिम लागेन । सायद यही कारणले होला उसकी बैनी आमासँग पनि नबसेको । बेकारमा अरूको कुरामा दिमाग दुखाउनु भनेर सुत्छु । माचुदा अघि नै घुर्न थालिसकेको हुन्छ । 

गर्मी महिनासँगै कामाकुरामा पर्ने समुद्रमा प्रायः हामी जान्थ्यौँ । यस पटक माचुदाको काम परेको र मेरो छुट्टी भएकोले उसको आमा र म जान्छौँ । बगरमा बसेर थाकी तोरी (पोलेको मासु) र बियर पिउँदै समुद्रलाई हेर्न सारै रमाइलो हुन्छ । अझ हामी नेपालीलाई समुद्रको मोह ज्यादै हुने गर्छ । 

स्विमिङ सुइटमा उनकी आमा एक मोडलभन्दा कम देखिएकी थिइनन् । 

उदाउँदै गरेको सूर्य जस्तो अनुहारमा सूर्यमुखीको मुस्कान बोकेर मेरो नजिक आएर “आकित्ते कुदासाई ( बियरको बिर्को खोलिदेऊ) ।” भन्छिन् । 

अनि मेरो छेउमा आएर सन बाथ लिन उत्तानो पल्टिएर सुत्छिन् । टम्म मिलेको शरीर, पुष्ट छातीहरू । भिजेका शरीर, सिङ्गमरमर जस्ता सेता पिँडुलाले पानी पारेर धुम्म परेको अँध्यारो बिहानी उज्यालिएझैँ लाग्छ मलाई । आकाशबाट पानीका थोपाहरू हल्का छिट्याइराखेका छन् । कपालबाट खसेका पानीहरू निधार गाला हुँदै छातीमा पुगेर बिलाउँछन् उनको । 

“के भएको होला म पनि ।” म उठेर फर्किने तयारी गर्न थाल्छु । 

“मादा मादा (अझै बेला भएको छैन) ।” भन्दै मलाई रोक्छिन् उनी । 

म फेरि दौडेर गएर पानीमा एक डुबुल्की लगाउँछु । मुखभरी पस्छ नुनिलो पानी । उनी मतिर नै हेर्दै गरेको म देख्छु । 

“मोत्तो इत्ते कुदासाई (अझ अगाडि जाऊ) ।” भन्दै कराउँछिन् । 

म माचुदाले भनेको कुरा सम्झिन थाल्छु । 

“भोलि मेरो छुट्टी छ । आज ऐकेबुकुरो (माचुदा बस्ने ठाउँको नाम) मै बसेर रमाइलो गरौँला । तिमी आमासँगै जानू ।” मेसेज आउँछ माचुदाको । 

खोइ किन हो, माचुदाको कुरा सुनेदेखि उसको घर जान त्यति मन लाग्दैनथ्यो । 

हामी गाडीमा बसेर ऐकेबुकुरो आउन्जेलसम्म पनि ठूलो पानी परिराखेको थियो । धन्न पानी ढिला पर्यो नत्र आज छुट्टी लिएर समुद्र जाने कार्यक्रम त्यतिकै खेर जान्थ्यो । 

जापनिजहरू ज्यादै रक्सी पिउने । मैले यतिसम्म देखेको छु कि छाद्दै पिउँदै गरेको । घरमा बस्न पाएको छैन, फेरि बियर लिएर मेरो सामु राखिदिइन् उनले । 

“आज तिमीले मलाई हेरेको थाहा थियो । तिम्रो नजरले मेरो कुन कुन अङ्गलाई केलाउँदै थियो भन्ने ।” उनी भन्दै जान्छिन् । एक्कासि आँधी आउँछ मनमा । छचल्किन्छु म । म यतिखेर पोखिन चाहँदिनँ । टुक्राटुक्रा भएर छरिन चाहदिनँ । 

“माचुदा सान मादा किते नाइनो (माचुदा अझै आएन) ।” भनेर उनको निरन्तरतालाई भाँच्न म बोल्छु । 

उनी जुरुक्क उठेर पटापट आफ्नो शरीरको लुगा फुकालेर भुइँभरि छरेर “वातासिनो खारादा वा दो ? (मेरो शरीर कस्तो छ ?)” भनेर प्रश्न गर्न थाल्छिन् । उनी मलाई अँगालोमा कस्ने कोसिस गर्छिन् । 

नजिकै गहिरो खाडल पर्छ । अब त्यो खाडलमा म पर्छु भन्ने मलाई थाहा भइसकेको हुन्छ । म जुरुक्क उठ्छु । 

“यामेते कुदासाई (बन्द गर) ।” भन्दै म त्यहाँबाट निस्कन्छु । मेरो दिमागले केही काम गरी राखेको हुँदैन । 

माचुदाले भनेको, “आमालाई नयाँ नयाँ...” कुरा सम्झिन्छु । खल्तीमा एकोहोरो मोबाइल बजिराखेको हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप