वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्र बराल, जसले आर्यघाट पुगेकालाई पुनर्जीवन दिए
काठमाडौँ । डाक्टर राजेन्द्र बराल नेपालको स्वास्थ्य क्षेत्रमा परिचित नाम हो । क्यान्सर क्षेत्रमा उनी सबैको प्यारा र वरिष्ठ डाक्टर हुन् । उमेरले ५७ वर्षीय डाक्टर राजेन्द्र निकै सक्रिय छन् । उमेरले उनलाई काममा अवरोध पारेको छैन । सार्क फेडरेसन अन्कोलोजिस्टका अध्यक्षसमेत रहेका डाक्टर बराल यो उमेरमा पनि निकै सक्रिय छन् । सार्क राष्ट्रको अध्यक्ष भएको हँुदा उनी सार्क राष्ट्रहरूमा दौडिरहन्छन् । उनी नेपाल अर्बुद रोग निवारण संस्थाका उपाध्यक्षसमेत छन् ।
प्रसूतिगृहमा जन्मेका डाक्टर राजेन्द्रको पुख्र्यौली घर पोखरामा भए पनि जन्म भने काठमाडौँमा नै भएको थियो । कक्षा ७ सम्म हिमालय विद्या मन्दिर चावहिलको सिफलमा अध्ययन गरेका थिए । उनी विद्यालयमा पनि मेधावी विद्यार्थी थिए । कक्षामा पहिलो र दोस्रो विद्यार्थीमा नै पर्थे । कक्षा ८ देखि सिद्धार्थ वनस्थली विद्यालयबाट एसएलसी (एसईई) दिएका थिए ।
आमाको निधन फिल्ममा जस्तै भयो
अस्कल क्याम्पसमा आईएस्सी अध्ययन सुरु गर्दा देश ०३६ सालको आन्दोलनको चपेटामा थियो । आन्दोलनले अध्ययनमा बाधा आउने परिवार आफन्तको सल्लाहमा अध्ययनका लागि बनासर गए । आईएस्सीको परीक्षा दिने समयमा डा. राजेन्द्र आफै बिरामी परे र नेपाल फर्के । नेपाल आउँदा आमा पनि बिरामी थिए । परिवारको जेठो छोरा, जिम्मेवारीको हिसाबले पनि बिरामी आमालाई छाडेर फेरि बनारस जान सकेनन् । पढाइभन्दा आमा ठूलो ठाने र बनारस छाडे । आमालाई ब्लड क्यान्सर भएको भन्ने जानकारी भयो ।
०३९ सालतिरको कुरा हो । त्यो समयमा नेपालमा क्यान्सर उपचारका लागि अस्पताल अनि डाक्टर पनि थिएनन् । नेपालमै कुनै चिकित्सकको रोहबरमा आमाको उपचार गरे । नेपालमा किमोको औषधि पाइँदैन थियो । दीपक बोहोरा, त्यो समयमा तत्कालीन पर्यटन मन्त्री थिए । उनलाई भनेर बैङ्ककबाट आमाको उपचारका लागि औषधि मगाइयो । नेपालमा किमो गरिन्थ्यो । तर बिस्तारै डाक्टर राजेन्द्रकी आमालाई किमोले काम नगरेपछि समस्या झन बढ्दै गयो । यो अवस्थासम्म पनि आमालाईे रोग बारेमा केही भनिएको थिएन । आमाले अन्तिम अवस्थामा डाक्टर राजेन्द्रलाई ‘तिमी डाक्टर बन’ भन्ने शब्द नै अन्तिम वाक्य बन्यो । यो वाक्य भनिसक्ने वित्तिकै आमाको निधन भयो । मन्त्रीको पहलमा विदेशबाट औषधि ल्याए पनि आमालाई बचाउन सकेनन् । आमाको अन्तिम इच्छा पूरा गर्न डाक्टर बन्ने उद्देश्यका साथ उनी अगाडि बढे ।
डा. अनिल शर्मा उनलाई नजन्माएका बाबु
धेरै समयको अन्तरालमा पुनः अध्ययन सुरु गर्दा डाक्टर राजेन्द्र आफूभन्दा ५, ६ वर्ष साना भाइबहिनीहरुसँग पढ्न बाध्य भए । तर पनि उनले आफ्नो आमाको इच्छा पूरा गर्न त्रि–चन्द्र कलेजमा आईएस्सी सुरु गरे । पछि भारतीय दूतावासको सहयोगमा भारतमा एमबीबीएस पढ्ने मौका पाए । भारतको यूपीको इलाहाबादबाट एमबीबीएस सकेपछि वीर अस्पतालमा काम सुरु गरे । क्यान्सरकै कारणले आमाको निधन भएको भन्ने थाहा पाएपछि उनलाई चिकित्सक बने पनि क्यान्सरसम्बन्धी चिकित्सक कसरी बन्ने भन्ने खड्किरहन्थ्यो ।
मनमा खेलिरहन्थ्यो । पछि डाक्टर अन्जनीकुमार शर्माको नाम सुनेपछि । उहाँसँग भेट्ने मौका पाए । डाक्टर शर्मा नेपाल अर्बुदरोग निवारण संस्थाको अध्यक्ष थिए र सो समयमा उनलाई भेट्ने हो भने क्यान्सरको चिकित्सक बन्न सकिने डाक्टर बरालको आश थियो । प्रसूतिगृह, बनेपाको शिरमेमोरियल अस्पतालमा काम गरिरहेका उनले सबै काम छाडेर क्यान्सरसम्बन्धी चिकित्सक बन्न पाइन्छ कि भनेर डाक्टर अन्जनीकुमार शर्मालाई खुशी पार्नका लागि डा. शर्माले सञ्चालन गरेको नेपालको पहिलो नर्सिङहोम अन्नपूर्ण नर्सिङहोममा मेडिकल अफिसरको रूपमा काम गर्न थाले ।
अन्नपूर्ण नर्सिङहोममा क्यान्सरको सानो कार्यक्रम सञ्चाल गर्दा भारत टाटाका चिकित्सकहरु खुशी भए । सोही समयमा उनले टाटाबाट आएका टोलीलाई आफूलाई टाटामा अध्ययन गर्ने मौका देऊन् भनेका थिए । तर भारतीयलाई मात्रै कोटा भएको हुँदा अध्ययन गर्न नमिल्ने जवाफ आयो । त्यसपछि डाक्टर अन्जनी शर्माले पनि उनलाई टाटामा अध्ययनका लागि ठूलो सहयोग गरे । स्व. गिरिजाप्रसाद कोइरालादेखि धेरै नेतासँग भेट गरे तर अध्ययन गर्ने मौका पाएनन् । अन्ततः डाक्टर अन्जनीको अनुरोधमा डाक्टर राजेन्द्रले टाटामा परीक्षा दिने मौका पाए । ३ वटा सिटमा ८ हजार आवेदन परेको थियो । तर उनले दोस्रो नम्बरमा नाम निकाले । अन्तरवार्तामा पनि सफल भए । डाक्टर राजेन्द्र बराल डाक्टर शर्माले नजन्माएको बुबाको दर्जामा राख्न चाहन्छन् । आफू क्यान्सर चिकित्सक बन्नका लागि डाक्टर अन्जनी शर्माले निकै ठूलो भूमिका निर्वाह गरेकाले उनले दोस्रो बुबाको दर्जा डाक्टर अन्जनी शर्मालाई दिएका छन् ।
श्रीमतीको गहना बेचेर पढे
टाटामा अध्ययन गर्ने अवसर मिल्यो तर आर्थिक समस्या बाधा बन्यो । श्रीमतीको गरगहना बेचे अनि केही पैसा थपथाप गरेर अध्ययनका लागि भारत गए । सन् १९९१ देखि १९९६ सम्म मुम्बैको टाटामा अध्ययन गर्ने मौका पाए । त्यसपछि उनलाई थाहा भयो, आमाको निधन क्यान्सरबाट भएको होइन रहेछ । बैङ्ककबाट ल्याएको औषधिपछि अध्ययन सकेर नेपाल आएपछि हेर्दा त्यो औषधिको डोज नमिलेको रैछ । बिरामीको उचाइ र तौलअनुसार औषधि चलाउनुपर्ने रैछ । एक त ब्लड क्यान्सरको बिरामीका लागि त्यो औषधिको रोल नै रहेनछ । त्यसमाथि ८० मिलिग्रामभन्दा धेरै औषधि दिइयो भने मुटु फुट्छ । तर उनकी आमालाई दैनिक ९ सय मिलिग्राम त्यो पनि ९ दिन ८१ सय मिलिग्राम औषधि दिइएको थियो । पछि उनलाई थाहा भयो कि आफ्नी आमा औषधिको डोज धेरै भएर मुटु फुटेर वितेको भन्ने कुरा ।
१२ वर्ष आफ्नै हातले किमो बनाए
आफ्नी आमाको निधन ब्लड क्यान्सरले भएको होइन भन्ने उनी डाक्टर बनेपछि मात्रै थाहा भयो । नेपाल फर्केपछि डाक्टर राजेन्द्रले बी एन्ड बी अस्पतालमा काम सुरु गरे । त्यहाँ १० देखि १२ वर्षसम्म आफ्नै हातले किमो बनाए । १७ वर्ष बी एन्ड बीमा काम गर्दा बिस्तारै अन्य चिकित्सक, नर्सलाई किमो बनाउन सिकाए । आज उनकै देनले धेरै जनाले किमो बनाउन सिक्ने मौका पाएका छन् । आफ्नी आमाको गलत औषधिका कारण निधन भएको भन्ने कुरापछि थाहा पाएपछि अरूको उपचारको क्रममा गलत औषधि पर्नुहुन्न आफूले नेपालको स्वास्थ्य क्षेत्रमा लाग्नुपर्छ भन्ने उनलाई ठूलो उत्साह थपियो । डाक्टर बन्ने चाहाना बाल्यकालदेखि नै भए पनि क्यान्सरको डाक्टर बन्ने इच्छा भने उनलाई आमाको कारणले मिल्यो ।
परिवारमा ६१ जनालाई क्यान्सर
अहिले डाक्टर राजेन्द्रको परिवारमा ६१ जना क्यान्सरका रोगीहरु छन् । उनका आमाको त क्यान्सरकै कारण पहिला नै निधन भइसकेको छ भने बुबा पनि क्यान्सरको रोगी नै छन् । डाक्टर राजेन्द्रका ८६ वर्षका पिता हाल सर्वाेच्च अदालतमा वरिष्ठ अधिवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका छन् । परिवारका काका, काकी, नजिकका ६१ जना आफन्त क्यान्सरका बिरामी छन् । तर उनले कसैलाई पनि विदेश पठाएनन् । क्यान्सर लागेका २५, ३० जनाको त निधन भइसकेको छ भने बाँकी सबै क्यान्सरलाई जितेर खुशी साथ जीवन बिताइरहेका छन् ।
सार्क राष्ट्रमा क्यान्सरको अध्यक्ष
हाल उनी ८ राष्ट्रको समूह सार्कका चिकित्सकहरु आबद्ध क्यान्सर संस्थाका अध्यक्ष छन् । नेपाल नै अध्यक्ष राष्ट्र भएको हँुदा नेपालमा क्यान्सरलाई कम गर्न नागरिकलाई सचेतना फैलाउने अभियानमा उनी लागेका छन् । क्यान्सर जस्तो महँगो उपचारलाई कम गरौँ, एउटै खालको उपचार पद्धति हुँनुपर्ने भन्दै डाक्टर राजेन्द्रको टिम लागिरहेको छ । उनले क्यान्सरमा सर्जरीबाहेक सबै उपचार गर्दै आइरहका छन् । क्यान्सरको उपचारमा नेपाल धेरै अगाडि बढेको उनको अनुभव छ ।
डाक्टर राजेन्द्रले धेरै रोगीलाई नयाँ जीवन दिएका छन् । एक पटक १२ वर्षकी एक बालिकालाई पाठेघरको अन्तिम स्टेजको क्यान्सर भएको अवस्थामा अस्पताल ल्याइएको थियो । तर १२ वर्षकी बालिकालाई पाठेघरको क्यान्सर हुँदैन भन्ने उनको निष्कर्ष थियो । तर पछि थाहा भयो ती बालिका आफ्नै बुबाबाट बलात्कृत भएकी रहिछन् । उनले ती बालिकाको क्यान्सरको उपचार निःशुल्क गरेका थिए । अहिले ती बालिका डाक्टर बनिसकेकी छिन् ।
राजेन्द्रले अहिलेसम्म यस्ता धेरै घटना भोगेका छन् । बिर्सनै नसक्ने अरू घटना पनि छन् । पोखराका एक जना महिला जो क्यान्सर रोगी थिइन्, उनलाई क्यान्सर भएपछि छोराछोरीले अब बाँच्दिनन् भनेर अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगेका थिए । कुरा आजभन्दा २० वर्ष पहिलाको हो । छोराछोरी बेलायतबाट अस्पतालमा आए । अन्तिम अवस्थामा उनको देहान्त भयो भनेर अन्तिम संस्कारका लागि पशुपति लगे । चिता बनाइसक्दा पनि बिरामीको निधन नभएपछि फेरि अस्पताल नै ल्याइयो । बी एन्ड बीमा हुँदा उनले ती बिरामीको उपचार गरेका थिए । ब्लड क्यान्सर भएकी ती महिला अहिले ठीक छिन्, हाल उनी ९० वर्ष पुगिन् ।
बिरामीको उपचार गर्न एउटा डाक्टरले कति कुरा त्याग्नु पर्छ भन्ने धेरै अनुभव डाक्टर राजेन्द्रसँग छ । उनले परिवार, समाजमा भएका सांस्कृतिक पर्वहरूभन्दा पनि धेरै समय बिरामीलाई दिए । एक पटक तिहारमा टीका थाप्नै लाग्दा एक जना क्यान्सरका सिरयिस बिरामी आएकाले तत्काल अस्पताल जानुपर्ने फोन आयो । भाइटीकालाई त्यहीँ थाँती राखेर उनी अस्पताल पुगे र बालकलाई बचाउन सके । उनी भन्छन्, ‘मैले तिहारको टीका थापेर आरामले अस्पताल गएको भए, ती बालकलाई गुमाउँथे होला ।’ आज ती बालक ठूला भइसकेका छन् । स्वास्थ्य क्षेत्रमा लाग्नेहरुले यस्ता केही कुरा त्याग्न सकेको खण्डमा समयमा स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।
हरेक रोगको उपचार गर्न सक्षम छ नेपाल
डाक्टर राजेन्द्रको करिअरको सुरुवातमा सामान्य रोग लाग्दा पनि धेरै नेपाली भारत र विदेश जाने चलन थियो । उनी भारतमा अध्ययन गर्दा पनि धेरै क्यान्सरका बिरामी भारतमा जाने गर्थे । तर अहिले नेपालमा सबै रोगको उपचारमा नेपाल निकै अगाडि बढेको छ । किड्नी, क्यान्सर, न्युरोलोजीलगायत सबै स्वास्थ्य विधामा सम्बन्धित चिकित्सकहरु नेपालमा नै भएको हुँदा नेपालमा एक दुईवटा केसबाहेक अन्य उपचारका लागि भारत जानु नपर्ने उनी बताउँछन् । नेपाली उपचारमा विश्वास गर्ने हो भने सबै रोगको उपचार यहीँ सम्भव छ भएको भन्दै नेपालमा नै उपचार गर्नुपर्ने उनको सुझाव छ । नेपालको उपचार पद्धतिमा पनि धेरै परिवर्तन आएको उनको बुझाइ छ ।
स्वास्थ्य क्षेत्रको विकाससँगै विकृति पनि प्रशस्तै देखेका छन् । एउटा डाक्टरले अर्काे डाक्टरलाई विश्वास नगर्ने, उपचारका समयमा टिमवर्क नहुने हुँदा नेपालको स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ । एकले अर्काेलाई सपोर्ट गर्ने, टिमवर्कमा जाने र म होइन हामी भन्ने भावनामा जाने हो भने नेपालको स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति हुन्छ । अनि बिरामीले गुणात्मक सेवा पाउने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कसरी बन्यो नेपाली ‘हरर’ फिल्म ‘मम्मी’ ?
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीको चीन भ्रमणदेखि दुर्गा प्रसाईंलाई थप हिरासतमा राख्न अनुमतिसम्म
-
सामाजिक सञ्जाल प्रयोगबारे टिकटकले चलायो छलफल
-
सामाजिक सञ्जालमा एमालेविरुद्धको कुप्रचारले चुनावी परिणामलाई प्रभावित गर्यो : महासचिव पोखरेल
-
१० बजे १० समाचार : प्रमको चीन भ्रमणको चर्चादेखि उपनिर्वाचनको हलचलसम्म
-
टिकटकले नेपालमा हटायो ६ हजार ७८ भिडियो